संस्थाको बृद्धि विकासको लागि निरन्तर खटिइरहेका छौं

  • २०८२ जेष्ठ २१, बुधबार मा प्रकाशित १ हप्ता अघि
  • २८४ पाठक संख्या

  • पछिल्लो व्यस्तता केमा छ ?
    सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पछिल्लो घटना क्रमहरूमा केन्द्रित भएर अहिले सुरक्षित अवतरण तर्फ पुगेका छौँ । पछिल्लो एक महिना हामी हाम्रो आन्तरिक व्यवस्थापनतर्फ नै व्यस्त रह्यौं । कर्मचारीहरूले गरेको अनियमितताको निराकरण र त्यसको समाधानको लागि लागि पर्यौँ । पछिल्लो समय प्रेस विज्ञप्ति आएको थियो । धेरै कुरा त्यो विज्ञप्ति मार्फत पनि प्रष्ट भएको कुरा जानकारी गराउँछु ।
    बागमती प्रदेशकै ठूलो बचत तथा ऋण सहकारी संस्थाको रूपमा उभिएको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एकैचोटि तीनजना कर्मचारीको नाम आयो, सदस्यहरुको बचत हिनामिना भएको भन्ने कुरा आयो नि !
    सामुदायिक सहकारी बागमती प्रदेशकै सबैभन्दा ठूलो, उत्कृष्ठ र नेफ्स्कुनको नियमन भित्रको तेस्रो ठूलो संस्था पनि हो । यहाँसम्म आउनको लागि हामीले निकै मेहनत गर्दै विभिन्न चरण पार गरेका छौँ । यो हुनलाई एकीकरण र सदस्यहरूलाई विभिन्न खालका वित्तीय र सदस्यमुखी जन्मदेखि मृत्यु सम्मको सदस्य केन्द्रित सेवा सुविधा प्रदान गरेका छौँ । यिनै क्रियाकलापले हामी बागमती प्रदेशकै ठूलो र उत्कृष्ट सहकारी संस्था बन्न सफल भएका छौँ । पछिल्लो दिनमा हामीले विभिन्न आरोह अवरोहरु पार गर्दै आएका छौँ । उत्कृष्टताको अनुभव पनि हामीसँग छ । ब्रान्डिङ प्राप्त गरेको संस्थाको अनुभव पनि छ । केन्द्र, प्रदेश र जिल्लास्तरबाट पुरस्कृत हुँदाको सुखद अनुभव ताजै छ । तथापि अरु अनुभव जस्तै हाम्रो नियन्त्रणभन्दा बाहिरको घटनाका अनुभव पनि छन् । जस्तै आजभन्दा ठिक दुई वर्ष अगाडि हाम्रो नियन्त्रणमा नभएको एउटा घटना भयो । रात समयमा कार्यालयमा चोर पस्यो । त्यो समयमा हामीसँग तत्काल त्यहाँभित्र रहेको ३२ लाख ५० हजार नगद चोरी भयो । त्यहाँ नौवटा ताल्चा फोरिएको थियो । त्यो समयमा हामीसँग दुईवटा डिभिआर थियो । यदि एउटा मात्र हुने थियो भने चोरीको घटनामा अनुसन्धान गर्न सुरुमै पूर्णविराम लाग्ने थियो । हामीले विभिन्न खालका संयन्त्रहरू प्रयोग गरेर १३ औं दिनको दिनमा चोर समातियो । बाह्य आक्रमण जस्तै चोरको आक्रमणबाट हामी सुरक्षित भयौँ भन्ने एक किसिमको ढुक्क भएको थियो । हामीले त्यो बेलामा पनि बीमा गरेका थियौँ । ५ लाख चोरबाट बरामद भएको थियो भने अरु रकम हामीलाई इन्सुरेन्सबाट कभर भयो । त्यसबेला हाम्रो नियन्त्रणभन्दा बाहिर चोरको शिकार भएका थियौँ भने यसपालि चाहिँ आन्तरिक रुपमा हामीलाई समस्या पर्यो । सदस्यको बचतको हिनामिना भएको छैन, संस्थाको आम्दानीको रकम र बिना धितो ऋणको रुपमा कर्मचारीहरुबाट रकम अपचलन भएको हो । आफ्नै संस्थाका कर्मचारीबाट बदमासी भयो । यसमा हाम्रो कर्मचारी प्रशासनको लेखा शाखाले आफ्नो हिसाब चेकजाँच गर्ने क्रममा पत्ता लगायो । त्यसपछि सबैभन्दा पहिले त्यो हिसाबकिताब अपचलन गर्ने कर्मचारीबाट असुलिलाई पहिलो प्राथमिकता दियौं । अहिले हामीले उनीहरूले अपचलन गरेको रकमको पुरा रकममा अधिकतम् ब्याज सहित उनिहरुबाट असुली गरेका छौँ । भाबि दिनमा थप सुरक्षित रहनको लागि रणनीतिक रूपमा नै यस्तो खालको परिस्थितिजन्य घटनाबाट टाढा रहनुपर्छ, यस्तो झमेलामा आगामी दिनमा पर्नु हुँदैन भनेर लागेका छौँ । हाम्रो अनुभव अनुसार सुरक्षामा प्रविधिका कुराहरूलाई प्रगाढ बनाउँदै चनाखो तवरले लाग्नुपर्छ । हामीले एकदमै विश्वास गरेको कर्मचारीहरूबाट नै धोका भइसकेपछि आगामी दिनमा पनि यस्ता घटनाहरू हुनसक्छन भनेर मेकर र चेकर पद्धतिलाई अनिवार्य बनाउनुपर्छ भनेर कार्यान्वयन गरिसकेका छौँ । यसले गर्दा अहिले भएको जस्तो घटना हुँदैन भन्ने प्रणालीलाई अवलम्बन गरेका छौँ । तत्कालको लागि आगामी दिनमा अब फेरि यस्तो घटना नहुने गरेर व्यवस्थापनको पाटो बलियो गरी मिलाइसकेका छौँ । यसलाई थप बलियो बनाउन, अझै अब्बल रूपमा प्रविधिमा सुरक्षा र यसमा थप सुक्ष्म ढङ्गले लाग्नुपर्छ र प्रविधिलाई अपनाउँदै सुरक्षाको ग्यारेन्टी दिन सक्ने वातावरण बनाउनुपर्छ भनेर अझै अध्ययनमा पनि छौँ ।
    पनौती ४ बाट शुरु भएको संस्था हाल डेढ दर्जनभन्दा बढी सेवा केन्द्रसम्म बिस्तार हुँदा तपाईँहरूलाई व्यवस्थापन गर्न कठिन भएको हो ? त्यसैले सेवा केन्द्र प्रमुखहरूले मनमौजी रूपले सदस्यहरूको पैसा चलाउन थालेका हुन् ?
    संस्था एकीकरण गर्दै जाने क्रममा तुलनात्मक रुपमा पहिलेको भन्दा अहिले संस्थाको आकार ठूलो भएको छ । सदस्य संख्या, पुँजी, सेवा केन्द्र लगायत सबै कुरामा संस्था ठूलो भएको छ । हामीसँग डेढ दर्जनभन्दा बढी सेवा केन्द्रहरू छन् पनि । यी सबै सेवा केन्द्रका प्रमुखहरु आफू खुसी हिँडेको कुरा हुँदैहोइन । आफ्नो ढङ्गले आफ्नो खुसीअनुसार उहाँहरुले संस्था चलाउँदै हिँडेको पनि होइन । एउटा सेवा केन्द्र प्रमुखबाट संस्थाको नीति, विधि भन्दा बाहिर गएर नीति विपरित रकम अपचलन भएको हो तर हामीसँग डेढ दर्जनभन्दा बढी सेवा केन्द्र भइरहँदा पनि अरु सेवाकेन्द्रमा संस्थाको नीति, विधि, अनुशासनमा बसेर संस्थाको बृद्धि विकासको लागि निरन्तर खटिई रहेका छन् । यो घटनामा संलग्न रहेका अरु दुईजना सेवा प्रमुख थिएनन् । उनीहरू ऋण शाखामा कार्यरत कर्मचारी थिए । समग्र सहकारी अभियानमा यस्ता बाछिटाहरू पर्न सक्छन् । त्यसैले हाम्रो सामुदायिक संस्थामा परेको घटनाबाट पाठ सिकेर अन्य सहकारी संस्थाहरुले पनि कर्मचारी लोभमा पर्न सक्ने सम्भावनालाई न्यूनीकरण गर्न सक्छन् । पछिल्लो चरणमा हामीले सबै संस्थामा कार्यरत कर्मचारीहरूबाट भविष्यमा यस्ता खालका घटना नहोस् भनेर संस्था अझैं सुरक्षित हुने तवरले हामीले विभिन्न प्रक्रियाहरू अगाडि बढाएका छौँ । यसको उदाहरण अब सबै कर्मचारीका परिवार बोलाएर परामर्श गर्ने र सुरक्षाको ग्यारेन्टी गर्न लगाउने जस्ता क्रियाकलापलाई अगाडि बढाएको कुरा जानकारी गराउन चाहन्छु ।
    सदस्यहरूले दुःखजिलो गरेर जम्मा गरेको पुँजी पूर्णरूपमा सुरक्षित छ भन्ने कुराको ग्यारेन्टीको प्रत्याभूत गर्न सक्छौं भन्ने कुराको आधारहरू के–के ?
    जनमानसमा पहिले नै सहकारीमा चोर पस्दा भित्रको कर्मचारी नमिलिकन भित्रको नौवटा ढोकाहरू कसरी खोलिन सक्छ भन्ने थोरै शंका पनि भएको हो । कोही मिल्यो कि भन्ने आवाजहरू नआएको होइन । हुन त त्यतिबेलाका आरोपीहरू अहिले पनि जेल सजाय काटिरहेका छन् । हामीलाई बाहिरबाट पनि त्यस्तो खालको आरोपहरू आएको थियो । अहिले पछिल्लो यो घटनाक्रम भइरहँदा पनि भित्रका कर्मचारी मात्र नभई बाहिरका पनि कोही मिले कि भन्ने आवाजहरु आइरहेको छ । पछिल्लो कारबाही पछि आवाजहरू अलि कम पनि भएका छन् । तथापि सदस्यहरूलाई अबका दिनमा हाम्रो रकम पूर्णरुपमा सुरक्षित छ भन्नको लागि र संस्था अहिले पनि अब्बल छ भन्नका लागि अपचलन भएको रकमको असुलीलाई पहिलो प्राथमिकता दिएर उनीहरूबाट ब्याज सहित असुल उपर भयो । हामीले गर्नुपर्ने कानुनी उपचार पनि गरिसकियो । आन्तरिक रुपमा नियमअनुसार पनि उनीहरूलाई थाहा पाएकै दिनबाट निलम्बन गरेका थियौँ भने अहिले यही जेठको ९ गतेको निर्णयबाट बर्खास्त नै गरिसकेका छौँ । उनीहरुलाई कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र बागमती प्रदेश सहकारी मन्त्रालयमा आवश्यक कानुनी प्रक्रिया गरी कारबाहीको लागि अनुरोध ग¥यौँ । अबका दिनमा बाँकी प्रक्रिया बागमती प्रदेश कार्यालय अन्तर्गत छानबिन प्रक्रिया हुने र कानुनी कारबाही हुने कुरामा विश्वस्त छौँ । सामुदायिक साकोसमा हाल जगेडा कोष ४३ करोड र अन्य कोषहरु २६ करोड रहेकोछ त्यसैले यि कोषहरुको सक्षमता भनेको संस्था अब्बल रहेको छ भन्ने बुझ्न सकिन्छ । केही व्यक्ति बाहेक धेरै सदस्यहरूले कर्मचारी भएको ठाउँमा यस्ता घटनाहरु घट्न सक्छन्, घटना घटिसकेपछि कानुनी उपायहरू के अपनाइएको छ, रकम असुलीको लागि के गरिएको छ भन्ने बारेमा चासो राख्नुभएको थियो । उहाँहरूबाट हामीलाई हामीले गरेको रकम असुलीको पहिलो कुरा ठिक भएको र बाँकी कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने कुरामा र अब चाहिँ सुरक्षित अवतरण हुँदैछ भन्ने कुरामा हामीलाई प्रतिक्रिया दिइरहनुभएको छ । संस्थाको आगामी दिनमा पनि हिजोको दिनमा जस्तै नियमित गतिविधिहरू अगाडि बढ्नेछन् । समस्त बचतकर्ताहरूलाई तपाईँहरूको बचत सुरक्षित छ भन्ने कुरामा विश्वस्त रहन हार्दिक अनुरोध गर्दछु ।
    बागमती प्रदेशकै ठूलो र उत्कृष्ट संस्थाको रूपमा उभिँदै आएको सामुदायिकले विगत दुई वर्ष यता आफूलाई मर्जको प्रक्रियामा आक्रामक रूपमा अगाडि बढायो । विशाल, वृहत र सबल संस्था बनिरहँदा व्यवस्थापनमा तपाईँहरूलाई केही चुनौती थपिएको वा कठिनाइ भएको हो ?
    हामीले २०७२ सालबाट एकीकरण प्रक्रिया अगाडि बढाएका थियौँ । तात्कालीन अवस्थामा हामीसँग पनौती नगरपालिका र जोडिएका पाँच वटा गाविस मात्रै कार्यक्षेत्र थिए । हामीले सुरुको एकीकरण भनेको जगत गुरु बचत तथा ऋण संस्था लिमिटेड जुन बनेपामा थियो, त्यहाँबाट सुरु भएको थियो । यो एकीकरणपछि काभ्रेपलाञ्चोक जिल्ला भर कार्यक्षेत्र कायम भएको थियो । कार्यक्षेत्र थप भएपछि व्यवसाय पनि थप हुँदै गयो । हाम्रा सदस्यहरूलाई वस्तु तथा सेवा प्रदान गर्ने हाम्रो मुख्य लक्ष्य हो । वित्तीय र गैर वित्तीय सेवाहरू उहाँहरूलाई प्रदान गर्ने कुराहरूलाई प्राथमिकता दिइरहँदा राम्रो सफलता पायौं र काठमाण्डौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र थप गरी त्यहाँका आम मानिसलाई गोलबद्ध गराउँदै सदस्यता प्रदान गरी वित्तीय तथा गैर वित्तीय सेवाहरू प्रदान गर्यौं । आम्दानी र उत्पादनसँग पनि जोड्नुपर्छ भन्ने कुरालाई जोड्न खोज्यौँ । यही कामको लागि हामीले एकीकरणलाई पहिलो प्राथमिकतामा राख्यौँ । एकीकरण गर्दै अहिले पछिल्लो अवस्थासम्म आइपुग्दा सानो ठूलो गरी १८ वटा संस्थाहरू एकीकरण ग¥यौँ । पछिल्लो समयमा हामीले गरेको एकीकरणमा तपाईंले भन्नुभए जस्तै व्यवस्थापनमा केही चुनौती आएको हो भन्ने मलाई लाग्दैन । तिनै कर्मचारीहरूले गरेको अनियमितता र अपचलन जस्ता गतिविधिले नै अहिले केही समस्या आएको हो । हामीसँग अब्बल व्यवस्थापन अझै पनि छ । अहिले १ सय २९ जना कर्मचारीहरू हुनुहुन्छ । पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै उहाँहरूको पनि ब्याकग्राउन्ड हेर्दा उहाँहरू अब्बल, अनुशासित र काम गर्न सक्षम छन् भन्ने देखेका छौँ । ब्यवस्थापनमा कडाईका साथ अगाडि बढ्नुपर्ने चुनौती चाहिँ छ हामीलाई ।
    पछिल्लो समय सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ । सदस्यहरूलाई विश्वस्त पार्नुपर्ने चुनौती पनि छ । यी सबै कुराहरूलाई व्यवस्थापन गर्दै अबका दिनमा तपाईंहरूको रणनीति के हुन्छ ?
    पछिल्लो समय सामाजिक सञ्जालमा आइरहेका विरोधहरूका सन्दर्भमा आम सदस्यहरूले हामीलाई संस्थामा के भएको हो ?

    हामीलाई यथार्थ भन्नुस् भन्नुहुन्थ्यो । हामीले उहाँहरूलाई प्रत्यक्ष भेटेर होस्, चाहे फोनबाट होस् या कार्यालयमै नियमित कामकाजमा आउनुभएका सदस्यहरू र संस्थाप्रति चिन्ता र चासो गर्ने समुदायका व्यक्तिहरूलाई घटनाको यथार्थ कुराको जानकारी गराउँदै आएका थियौँ । चासो र चिन्ता गर्ने सदस्यहरूलाई हामीले सेवा केन्द्रबाटै पनि निमन्त्रणा गरेर आश्वस्त पार्ने काम गरिसकेका छौँ । आगामी दिनमा पनि आफ्ना गतिविधिहरू सदस्य माझ लैजाने छौँ । हाम्रो सर्वस्व भनेका नै हाम्रा सदस्यहरू हुन् । सदस्यहरूसँग पैसा हुँदा राख्ने र नहुँदा निकाल्ने मेन हाम्रो पिलर नै यही हो । हामी सदस्यहरूलाई भगवानको रुपमा लिन्छौँ । उहाँहरुले दिनुभएको सल्लाह सुझावअनुसार नै हामी अगाडि बढ्नेछौँ । पछिल्लो घटनाक्रममा पनि हामीलाई धेरै सल्लाह सुझावहरू आएको छ । उहाँहरुबाट आएको सकारात्मक सल्लाह सुझावलाई हामीले आत्मसाथ गर्दै अगाडि बढिरहेका छौँ । अहिले भएको यो घटनाले आगामी दिनमा हामीलाई चुनौती दिन्छ जस्तो लाग्दैन । अहिले पनि संस्थामा नियमित कारोबार भइरहेको छ । अहिले पनि सदस्यहरूबाट माया पाइरहेका छौँ । हामी सदस्यहरुलाई विश्वस्त गर्न चाहन्छाँै सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, सेवा केन्द्रस्तरीय व्यवस्थापन उपसमिति, हामीलाई माया गर्नुहुने आम सदस्यहरू, पूर्व सञ्चालकहरुले पनि साथ र सहयोग दिइरहनुभएको छ । सहकारीसँग सम्बद्ध सम्पूर्ण छाता संघमा हामी आबद्ध पनि छौँ । जिल्ला, प्रदेश र केन्द्रिय छाता सङ्घहरूबाट पनि यस्ता घटनाक्रमबाट पाठ सिकेर अब आगामी रणनीतिहरू तय गर्नुपर्छ । यसबाट विचलित भएर मात्र नबस्नु होला हामी तपाईँहरूको साथमा छौँ भन्नुभएको छ । त्यसकारण आगामी दिनमा पनि हामी हाम्रो छाता संघको सल्लाह सुझावअनुसार नै अगाडि बढ्नेछौँ । खासगरी सदस्यहरूबाट आएको सल्लाह सुझावअनुसार नै अगाडि बढ्दा निश्चित रूपमा संस्थाको भविष्य आगामी दिनमा पनि उज्वोल छ भन्ने लाग्छ ।
    अपचलनलाई कानुनी दायरामा ल्याइसकेपछि अहिले साममुदायिकमा कुनै समस्या छैन् भन्न खोज्नुभएको हो ?
    यस्तो घटनाहरू बेलाबेला घट्ने रहेछन् । फल जहाँ बढी लागेको छ त्यही वृक्षलाई नै बढी झटारो हान्ने गरिन्छ । र फल लागेको वृक्षले नै झटारो थाम्नुपर्ने हुन्छ । गन्तव्यमा हिँडिरहँदा ठेस लाग्न सक्छ । उक्त ठेस लागेको ठाउँमा कहिलेकाहीँ बढी नै रगत पनि आउन सक्छ । रगत आएको ठाउँमा हामीले समयमै उपचार गर्नुपर्छ । यदि उपचार गरिएन भने भविष्यमा हामीलाई उक्त घाउले विकराल रूप लिन सक्छ । तथापि त्यो घाउ लागेको ठाउँमा समयमै उपचार गर्यो भने हामी समयमै ठिक हुन सक्छौं । तीनजना कर्मचारीबाट अपचलन गरिसकेपछि यो घटनाले हामीलाई ठेस लागेको छ । यद्यपि ठेस लागेको ठाउँमा हामीले उपचार गरिसकेका छौँ । घाउ पूर्णरूपले निको हुने अवस्थामा पुगिसकेको छ । अब यस्ता घटनाहरूबाट हामीलाई धेरै विचलित हुनुपर्ने, सदस्यहरूले माया नगरेको, सदस्यहरु हामीसँग टाढा भएको होइन कि यसले त अझ आम सदस्य र हामीलाई माया गर्ने वातावरण सिर्जना गरेको छ । त्यति मात्र होइन हामीले उहाँहरूबाट मायाका शब्दहरू पनि पायौँ । कति जनाले त तत्कालको लागि निकै समस्या परेको भए हामीसँग बैंकमा भएको रकम ल्याएर जम्मा गरिदिन्छौं भनेर राखिदिनु भएको छ । यस्तो मायाँ र सद्भावको लागि म उहाँहरुलाई धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु ।
    अन्त्यमा तपाईहरुको सम्पूर्ण बचतकर्ता, सदस्यहरुका लागि के भन्न चाहनुहुन्छ ?
    सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सिंगो ६०,९०९ जना सदस्यहरुको परिवारलाई पछिल्लो घटनाक्रमलाई लिएर प्रेस विज्ञप्तिहरु मार्फत जानकारी पनि गराईसकेका छौँ । अपचलन गर्ने ती कर्मचारीहरूलाई संस्थाको विधि अनुसार कारबाही पनि गरिसक्यौँ । कानुनी प्रक्रियाहरु अपनाइसकेका छौँ । आगामी दिनमा यस्ता किसिमका घटना फेरि हुन नदिनको लागि हामी प्रतिबद्ध छौँ । संस्थामा तपाईँहरूले गर्नुभएको कारोबार पूर्णरूपमा सुरक्षित हुने ग्यारेन्टी गर्छौं । यो घटनाबाट हामी कति पनि विचलित भएका छैनौं । सामुदायिक बचत ऋण सहकारीमा जुन पछिल्लो क्रममा भएको घटनाहरूमा पनि तपाईँहरूले दर्शाउनुभएको मायाप्रती धन्यवाद टक्र्याउँदै आभार व्यक्त गर्न चाहन्छु । यो घटनाप्रति चिन्ता र चासो व्यक्त गर्नुहुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु । हामीलाई साथ र सहयोग गर्नुहुने सल्लाहकार, उपसमिति, पूर्व सञ्चालक र खासगरी संस्था प्रति प्रतिबद्ध तपाई सम्पूर्ण शेयर सदस्यहरुलाई हामीप्रतिको भरोसाको लागि धेरै धेरै धन्यवाद । जिल्लादेखी प्रदेश र केन्द्रीय छाता सङ्घबाट देखाउनुभएको माया र सद्भावको लागि पनि धन्यवाद । सामाजिक सञ्जालहरूमा हामीलाई सच्चिनको लागि सकारात्मक टिकाटिप्पणी मार्फत हामीलाई झकझकाइदिनुभयो, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु । आगामी दिनमा सामुदायिक अझै उज्वल हुँदै जानेछ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु । धन्यवाद । जय सामुदायिक ।

    प्रतिक्रिया दिनुहोस