बनेपा/बहुप्रतीक्षित भारतीय चलचित्र ‘रामायण’ देशका विभिन्न सहरमा प्रदर्शन भइरहँदा प्राविधिक पूर्वाधारको अभावमा मोफसलका धेरै सिनेमा हलमा भने प्रदर्शन हुन सकेन। आवश्यक २के प्रोजेक्टर प्रविधि नहुँदा काभ्रेपलाञ्चोकको बनेपाका दुवै सिनेमा हलले समेत चलचित्र प्रदर्शन गर्न पाएनन्।
बनेपाको गोदामचोकस्थित शुभकामना सिनेमा हल र पुलबजारस्थित बामेल सिनेमासमा चलचित्र प्रदर्शन नहुँदा बनेपा तथा आसपासका क्षेत्रका चलचित्रप्रेमी दर्शक यसबाट वञ्चित भएका छन्।
नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’ नोभेम्बर ५ (कात्तिक १९) देखि प्रदर्शनमा आएको हो। रणवीर कपुर, यश, साई पल्लवी र सनी देओललगायत चर्चित कलाकारको अभिनय रहेको चलचित्रलाई लिएर प्रदर्शनअघि नै दर्शकमाझ ठूलो उत्सुकता थियो।
काठमाडौंका अधिकांश मल्टिप्लेक्समा २के प्रोजेक्टर प्रविधि उपलब्ध भए पनि बनेपा, दाङ, चितवन, दमक, बुटवल र सर्लाहीलगायत स्थानका केही मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलमा यो प्रविधि उपलब्ध छैन। फलस्वरूप, चलचित्र प्रदर्शनको अवसरबाट ती क्षेत्रका दर्शक वञ्चित हुनुपरेको छ।
२के प्रोजेक्टर डिजिटल चलचित्र प्रदर्शनमा प्रयोग हुने प्रविधि हो। यसले ठूलो पर्दामा चलचित्रका दृश्यलाई उच्च स्पष्टतासहित प्रस्तुत गर्न सहयोग गर्छ। पछिल्लो समय चलचित्र निर्माण र प्रदर्शनमा प्रविधिको प्रयोग बढ्दै जाँदा सिनेमा हलमा पनि आधुनिक प्रोजेक्सन प्रणालीको आवश्यकता बढेको छ।
बनेपा काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्र हुनुका साथै धुलिखेल, पनौती, पाँचखाललगायत आसपासका क्षेत्रका दर्शकका लागि चलचित्र हेर्ने सहज गन्तव्य हो। तर, स्थानीय हलमा नयाँ तथा चर्चित चलचित्र प्रदर्शन नहुँदा दर्शक काठमाडौं वा अन्य सहर पुग्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया दिनुहोस