चलालगणेशस्थान/लगातारको वर्षासँगै आएको बाढी, पहिरो र लेदोका कारण बेथानचोक गाउँपालिका–४ स्थित खहरेखोला क्षेत्रमा घरहरूमा क्षति पुगेपछि ७ घरपरिवारका ३२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
खहरे खोलामा ढुंगा, माटो र लेदोसहितको बाढी आएपछि जोखिममा परेका परिवारलाई उद्धार गरी खहरेस्थित होल्डिङ सेन्टरमा राखिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विस्थापित परिवारका लागि गाँस, बास र कपासको व्यवस्था मिलाइएको छ।
वर्षाजन्य विपद्का कारण गाउँपालिकाका ६ वटै वडामा सडक पूर्वाधारमा क्षति पुगेको छ। विभिन्न स्थानमा बाढी, पहिरो र लेदोका कारण सडक अवरुद्ध हुनुका साथै आवागमनसमेत प्रभावित बनेको अध्यक्ष अधिकारीले बताउनुभयो।
विशेषगरी खोपासी–ढुङ्खर्क सडकखण्ड जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न गाउँपालिकाले आग्रह गरेको छ। एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधन भने सडकको अवस्था मूल्याङ्कन गरी सावधानीपूर्वक सञ्चालन गर्न सकिने जनाइएको छ।
लगातार वर्षा भइरहेकाले खोलानाला आसपास तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन र सम्भावित बाढी, पहिरो तथा लेदोको जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन गाउँपालिकाले अनुरोध गरेको छ।
विपद्बाट प्रभावित परिवारको उद्धार, सुरक्षित बसोबास तथा राहत व्यवस्थापनमा गाउँपालिका जुटिरहेको छ।

प्रतिक्रिया दिनुहोस