नमोबुद्ध /बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हायस माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस सोमबार राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका–६ निवासी ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ निवासी २६ वर्षीया रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन्।
अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घाइतेहरूको उद्धार गरेको थियो।
उद्धार गरिएका तीनै जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस