पनौती/ काभ्रेको पनौती स्थीत सुन्थान आसपासका खेतहरूमा परालका मुठाहरूले भरिएका छन । धान भित्र्याएपछि रित्तिएका खेतका गराहरू अहिले परालका मुठाले भरिएका हुन ।
कतै ठडिएका, कतै ढल्किएका सुनौला परालका मुठाले गाउँको सुन्दरतामा बेग्लै रौनक थपेका छन्। एकातिर दशैँको रौनकताले गाँऊमा धकक्क छोपेको छ भने अर्कातिर खेतको कामको चटारोले किसानहरूलाई छोपेको छ ।
धान काटेर अन्न घर भित्रिए पनि किसानको काम सकिएको छैन । खेतका गरामा स–साना मुठा बनाएर घाम र हावामा पराल सुकाउने चलन पुरानै हो। खेतीपातीमा आधुनिक प्रविधि भित्रिँदै गए पनि गाउँघरमा यो परम्परागत अभ्यास कायमै छ।
शहरका आँखालाई सामान्य लाग्ने यो दृश्यले गाउँमा हुर्किएकाहरूलाई बाल्यकाल सम्झाउँछ। धान काटेको खेत, परालको बास्नाले किसानहरूलाई पसिनाको मुल्य दिलाउँछ।किसानका लागि पराल धानको अवशेष मात्रै होइन, पशुपालनको महत्त्वपूर्ण आधार पनि हो।

प्रतिक्रिया दिनुहोस