नमोबुद्ध/ सयपत्री प्रतिष्ठान नेपालले संस्थापक अध्यक्ष एवं समाजसेवी स्व. कृष्णकुमार केसीको स्मृतीमा अमर अखण्ड हरिनाम संकीर्तन मण्डल (अमर निवास)लाई सहयोग प्रदान गरेको छ ।
संस्थाका संस्थापक अध्यक्ष स्व. कृष्णकुमार केसीको दशौँ स्मृति सभा कार्यक्रमको आयोजना गरी नमोबुद्ध नगरपालिका–४ स्थित अमर अखण्ड हरिनाम संकीर्तन मण्डल (अमर निवास) सम्मान सहित आर्थिक सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा धर्म, संस्कार र संस्कृतिको संरक्षणसँगै अखण्ड हरिनाम संकीर्तनमार्फत समाजमा आध्यात्मिक चेतना, शान्ति, सद्भाव र सामाजिक एकता अभिवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै अमर निवासलाई सम्मान गरिएको थियो। सो अवसरमा प्रतिष्ठानले अमर निवासको अक्षयकोषका लागि २० हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिष्ठानका प्रमुख सल्लाहकार वरिष्ठ साहित्यकार मोहन दुवालले धार्मिक तथा साहित्यिक संस्थाहरूले कुनै पनि प्रकारको पक्षपात नगरी समाजमा समानता र सद्भाव कायम गर्नुपर्नेमा जोड दिए। उनले अमर निवासले सञ्चालन गर्दै आएका धार्मिक तथा आध्यात्मिक गतिविधिको प्रशंसा गर्दै संस्थाका अध्यक्ष वासुदेव काफ्लेलाई सम्मानपत्र प्रदान गरे।
प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेष्ठले प्रतिष्ठानका गतिविधि तथा संस्थापक अध्यक्ष स्व. कृष्णकुमार केसीको सामाजिक योगदान र स्मृतिबारे प्रकाश पारेका थिए। त्यस्तै, अमर निवासका उत्तमप्रसाद काफ्लेले संस्थाको उद्देश्य तथा सञ्चालन हुँदै आएका धार्मिक गतिविधिबारे जानकारी गराएका थिए। 
प्रतिष्ठानका उपाध्यक्ष प्रद्युम्न न्यौपानेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव रामसुन्दर देउजाले गरेका थिए।
कार्यक्रममा बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य रामशरण श्रेष्ठ, बनेपा सेवा कार्यालयका संयोजक मोहनप्रसाद होमागाईं, भकुण्डे सेवा कार्यालयका संयोजक लक्ष्मीप्रसाद दाहाल, अमर निवासका पदाधिकारी तथा गुरुहरू, सयपत्री प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सम्पन्न गर्न स्थानीय समाजसेवी तथा धार्मिक अभियन्ता हरिकृष्ण काफ्लेले समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस