हाम्रो वडामा कृषि र पशपुालनको राम्राे सभांवना छ

  • २०८२ कार्तिक २६, बुधबार मा प्रकाशित १ महिना अघि
  • २६३ पाठक संख्या

  • वडाको पछिल्लो गतिबिधी के के छन् ?
    गतवर्ष बाढी पहिरो जानुअघिसम्म वडाको अवस्था सामान्य नै थियो । नियमित कामहरू हामीले गर्दै गएका थियौँ । हरेक वर्ष पाँच किलोमिटर सडकलाई पिच गर्दै जाने कार्यक्रम अन्तर्गत हामी अग्रसर भएर काम गरिरहेका थियौँ । गत वर्ष सरकारबाट आएको बजेट अन्तर्गत गोल्माकोट सडकको स्तरोन्नतिको लागि काम भएको छ । लगभग साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने काम भइसकेको छ । त्यो ठाउँमा चाहिँ यो वर्ष पनि बजेट रहेको छ । यसको लागि काम गर्न चाहिँ बाँकी नै छ । बेथानचोक गाउँपालिका पर्यटकीय हिसाबले पनि निकै राम्रो सम्भावना भएको क्षेत्र हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आइरहनुभएको हुन्छ । पर्यटनहरूलाई आवतजावतमा लगायतका कुरामा सहज बनाउनु हाम्रो कर्तव्य पनि हो । हाम्रो ठाउँ कृषि र पशुपालनको लागि निकै राम्रो सम्भावना भएको क्षेत्र हो । त्यसैले पनि दूध, तरकारी तथा फलफुल जति पनि उत्पादन भएका कुराहरू छन्, तिनलाई बजारसम्म पु¥याउनको लागि सबैभन्दा पहिले मोटरबाटोको आवश्यकता पर्छ । अहिले हामिलाई जहाँजहाँ सहज आवतजावतलाई नै निकै समस्या भइरहेको छ, ती ठाउँलाई मर्मत सम्हार गरेर सहजीकरण गर्ने वातावरण तयार गरिरहेका छौँ । कुनै ठाउँमा जाली लगाएर बाटोहरू उठाउने काम पनि भइरहेको छ । विपतको समयमा केही घरहरूमा क्षति पुगेको थियो । जहाँ हामीले अस्थायी बसोबासको लागि सहजीकरण गरेका थियौं । क्षति पुगेका घर गोठहरूको आएको तथ्याङ्कअनुसारले हामीले सकेको काम सहजीकरण गरिरहेका छौँ । मानवीय क्षति पुगेका घरहरुलाई नेपाल सरकारले प्रदान गरेको राहतहरू प्राप्त हुन आएको छ । विभिन्न संघसंस्थाबाट आएका सहयोगहरू पनि हामीले उहाँहरूसम्म पुर्याउने काम गरेका छौँ । नियमित रूपमा हुने प्रशासनिक गतिविधिले निरन्तरता पाएको छ । तिनलाई सहजीकरण गर्ने काम हामीले गरिरहेका छौँ । विपद्पछि हामीले मुख्य बाटोहरू सबै खोलिसकेका छौँ । शाखा सडकहरू चाहिँ केही हेर्नुपर्नेछ । पहिले त शाखा सडकहरू पनि सबै खुलिसकेका थिए तर फेरि यो बर्षको बाढी पहिरो पछी समस्या निम्त्याएको हो । अहिले बेथानचोक नारायणस्थान लगायतका ठाउँ जाने सडकहरू मर्मतको कार्य भइरहेको छ ।

    तपार्ईको निकायमा खानेपानीको अवस्था के छ ?
    पहिलेको विपद्देखि नै खानेपानीको सबै क्षेत्रमा निकै असर परेको थियो । खानेपानीको मुहानहरू ध्वस्त भएका थिए । खानेपानी अहिले सबै ठाउँमा अस्थायी रुपमा नै सञ्चालन भइरहेका छन् । कुनेखर्क लगायतका केही ठाउँहरूमा ट्याङ्कीहरूको व्यवस्थापन गरेर खानेपानी वितरण गर्ने काम ग¥यौँ । खानेपानीको सबै कामहरू नियमित रूपमा भइरहेको । शुद्ध खानेपानी वितरण हुनुपर्छ भन्ने हाम्रो मूलधेय हो । सोहिअनुसारले नै हामीले खानेपानीको क्षेत्रमा काम गरिरहेका छौँ ।

    शिक्षाका लागि के के गर्नुभयो ? जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षामा के छ प्रगती ?
    शैक्षिक विकासको लागि वडाले सधैँ आफ्नो तह र तपकाबाट गर्न सक्ने काम गर्दै आएको छ । यसमा पालिकाबाट पनि विभिन्न खालका कार्यक्रमहरु हुँदै आएको छ । विशेषगरी बाढी पहिरोले विद्यालयका धेरै संरचनामा क्षति पनि पुगेको थियो । विद्यालयको चौरमा इटा छाप्ने योजना नियमित कार्यक्रममा नै राखेका थियौँ । हिलोलेगर्दा विद्यार्थीहरू विद्यालय प्राङ्गणमा बस्न नसक्ने अवस्था भएपछि कृष्ण गोपाल माध्यमिक विद्यालय र ज्ञानज्योति प्राथमिक विद्यालयको प्राङ्गणमा ब्लक छाप्ने काम भएको छ । हामीले विभिन्न संघसंस्थाको सहयोगमा पनि शैक्षिक विकासमा गर्न सक्ने खालका कामहरू गरेका थियौ । ज्ञान ज्योतिमा कर्मयोग फाउन्डेसनले पहिरोले क्षति पु¥याएको बिल्डिङलाई पनि पुननिर्माण गर्ने काम गरेका छौँ । बेलाबखतमा हामीले विद्यालय अनुगमनको काम पनि गरिरहेका हुन्छौँ । विद्यालयका शिक्षकहरूलाई तालिम दिने काम पनि नियमित रुपमा भइरहेको छ । यो वर्ष हामीले सबै विद्यालयका दुईजना शिक्षकलाई बोलाएर कृष्ण गोपाल माध्यमिक विद्यालयमा आइसिटी सम्बन्धित तालिम दिएका थियौँ । जसले गर्दा विद्यार्थीहरूलाई उचित प्रविधियुक्त शिक्षा प्रदान गर्न सहज भएको छ ।

    कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण गर्नेकार्यक्रम ल्याउनु भएको छ ?
    ग्रामीण विकास संस्थाको सहयोगमा यहाँका रैथाने बिउहरूलाई संरक्षणको निम्ति बीउ बैंक कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ । यसको स्थापना गत सालमा भएको थियो । हामीले नियमित रूपमा यो कार्यक्रमलाई अगाडि बढाउँदै आएका छौँ । बिउको उर्वरा शक्ति नाप्ने काम पनि भएको छ । पशुपालनको क्षेत्रमा पनि हामीले उत्तिकै कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ ।

    विपतको समय होस् या विविध परिस्थितिका बावजुद पनि वडाबाट प्रवाह हुने नियमित सेवालाई नियमितता दिई सेवा प्रवाह गर्न वडाको भूमिका कस्तो रह्यो ?
    हामीले अरु बेलामा त नियमित रूपमा नागरिकहरू प्रवाह गर्नुपर्ने सेवा प्रदानगरी सहजीकरण गरिरहेका हुन्छौँ । जसरी भएपनि उहाँहरूको काममा नरोक्किनेगरी काम गर्छौ । तर गत वर्ष पालिका नै डुब्यो । वडा कार्यालय चाहिँ सुरक्षित थियो । गाउँपालिका नै डुबेपछि हामीले हाम्रो तर्फबाट सिफारिसहरू पठाए पनि काम बन्नसक्ने अवस्था थिएन । १०–१५ दिने लाग्यो त्यो समस्याबाट गुज्रिन । त्यतिबेला पनि अति आवश्यक कामहरूलाई प्राथमिकतामा राखेर नै काम गरेका थियौँ । जुन काम चाहिँ पछि गर्दा पनि हुन्छ, यसलाई हामीले नागरिकहरूको समन्वयमा नै काम गर्यौ । केही दिनपछि त सम्पूर्ण कामहरु पुनः सञ्चालनमा आइहाल्यो । यसरी हामीले विपदको समयमा पनि दैनिक प्रशासनिक गतिविधि सकभर नरोकिकन सञ्चालन गरेका थियौँ ।

    गत वर्षको विपद्, यी वर्षको वर्षाले पारेको समस्या त एकातिर छँदै नै छ । त्यो बाहेकका परिस्थितिमा वडाको समग्र विकासको लागि अन्य निकायसँगको समन्वयात्मक भूमिका वडाले कसरी निर्वाह गरिरहेको छ ?
    हामीले गाउँपालिकासँग पनि समन्वय गरेर काम गरिरहेका हुन्छौँ । त्यो बाहेक अन्य संघसंस्थाहरूसँग पनि हाम्रो समन्वय जारी नै छ । उहाँहरुबाट पनि हामीले सकेका कार्यक्रमहरु ल्याए वडाको समग्र विकासमा टेवा पुग्ने गरी काम गरिरहेका छौँ । जस्तै लायन्स क्लबले हामीलाई विद्यालयहरूमा सहयोग गरेको छ । ग्रामीण विकास संस्थाले पनि सहयोगका कार्यक्रमहरू चलाइरहेको छ । अन्य संघसंस्थाहरूले पनि साना ठूलो कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । कार्यक्रमहरू ल्याउनको लागि हामीले पनि उहाँहरुलाई समन्वय सहकार्य गर्ने काम गरिरहेका छौँ । लायन्स क्लब अफ काठमाडौँले पनि हाम्रोमा आँखा शिविरहरू राख्ने कार्यक्रम गरिरहेको छ । यसले पनि सहयोग भइरहेको छ । सामाजिक संस्थाहरू मार्फत आउने सहयोग तथा कार्यक्रमहरू त सधैं नै छ, त्यो बाहेक पनि गाउँपालिका मार्फत विपद् लक्षित भनेर सडक सरसफाई लगायतका भौतिक निर्माणका कामहरू भएका छन् ।

    औषधिहरू अभाव हुन नदिन वा अन्य स्वास्थ्य सेवामा नागरिकको पहुँच पुर्याउन तपाईहरुको भूमिका कस्तो रहँदै आएको छ ?
    स्वास्थ्यको भवन बनाउने काम गत वर्ष सम्पन्न भइसकेको छ । हामीले त्यहाँ औषधिहरु अभाव हुन दिएका छैनौँ । नागरिकहरूले त्यहाँबाट सहजै स्वास्थ्यको सेवा लिन सक्नुहुन्छ । मातृशिसु सुत्केरी भेटघाट लगायतका कार्यक्रमहरू हामीले विपद्को समयमा पनि गरेका थियौँ । गर्भवती चेकजाँच आमा र बच्चाको स्वास्थ्य अवस्था चेकजाँच लगायतका कार्यक्रमहरू नियमित रुपमा चलिरहेको छ । हामीले अहिलेसम्म त स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरूलाई निरन्तरता दिन सकेका छौँ । आगामी दिनमा पनि हामी यसलाई नियमित गर्नेछौँ ।

    पर्यटन प्रवर्धनको निमित्त वडामा के कस्ता कार्यक्रम भएका छन् ?
    पर्यटक अहिले पनि आइरहनुभएकै छ । त्यसको लागि हाम्रो तर्फबाट गर्न सकिने सहजीकरणका कुराहरू हुन् । त्यो त हामीले गरिनै रहेका छौँ । ठूला भौतिक पूर्वाधार निर्माणका कामहरू चाहिँ तत्कालीन अवस्थामा हामीले धेरै गरेका छैनौँ । वडाको बजेट सिलिङ पनि नभएको कारण समन्वय गर्ने काम चाहिँ गरिरहेका छौँ ।
    ० कार्यालयबाट सम्पादनहुने सबै कामहरुको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी तेस बमोजिम अनुसरण भएका छन ? छैनन भने कहिलेबाट गर्नुहुन्छ ?
    नागरिक बडापत्र पालिकाबाटै तायर पारेर दिने भन्ने थियो । गतवर्षको विपदले गर्दाखेरि त्यो सम्भव भएन । बाडीले बगाइसकेपछि हामीले फेरि त्यसलाई अर्को बनाउनुपर्ने भएको छ । समय अलि सहज भएपछि हामी त्यो पनि गर्नेछौँ ।

    चुनावताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए ? कति बाँकी छन् ? अबको योजना के छ ?
    देशको परिस्थिति, वडाको बजेट सिलिङ लगायतका कुराहरुले गर्दाखेरि हामीले धेरै काम त गर्न नसकौंला । हामीले यही क्षेत्रलाई जोगाउने गरी यहाँको परिवर्तनका लागि पर्यावरण, वातावरण संरक्षणको निमित्त स्थानीय स्रोत साधन जुटाएर जे जति काम गर्न सक्छौ त्यो गर्नेछौँ । पुरातात्विक र संस्कृति सम्पदाका संरक्षणका कुराहरू छन् । जस्तै हामीले चौताराहरू बनाउने काम गरेका छौँ । केही ठाउँमा कुवा निर्माणको कामहरू भइरहेको छ । श्रमदानका कुराहरू पनि छन् । नागरिकहरूले श्रमदान गरेकै कारण केही ठाउँमा सिडीहरू निर्माण गर्ने लगायतका कामहरु गर्न सफल भएका छौँ । यसले पनि हाम्रो काममा थप सहज भएको छ । खानेपानीका पाइपहरू बिछ्याउने कामदेखि लिएर विविध काममा नागरिकहरूले श्रमदान गर्नुभएको छ । कतिपय ठाउँमा सोलिङ गरेर गाडी सञ्चालन गर्न सक्ने अवस्था निर्माण पनि भयो । यस्तै खालका गतिविधिलाई हामी आगामी दिनमा पनि निरन्तरता दिनेछौँ । विद्युतीकरणको पाटोमा नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर बत्तीको पोलहरू हाल्ने काम भयो । जोखिमपूर्ण क्षेत्रहरूमा एबिसी केबलहरू पनि हालिएको छ । प्रदेशले पनि अहिले बजेट कटाएको र संघले पनि ठूलो मात्रामा बजेट ल्याउन नसकिरहेको अवस्थामा अहिले कामहरू गर्न त समस्या नै छ । आन्तरिक स्रोत व्यवस्थापन गरेर पर्यटन प्रवद्र्धनमा अलि जोड दिनुपर्नेछ ।

    पलाञ्चोक साप्ताहिकमा प्रकाशित

    प्रतिक्रिया दिनुहोस