कार्यसमितिले अस्वीकार गर्‍यो पौडेलको राजीनामा

  • २०८३ अषाढ २५, बिहिबार मा प्रकाशित ९ घण्टा अघि
  • १४२ पाठक संख्या

  • काभ्रे । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य तथा शिक्षा शाखा प्रमुख दीपेन्द्र पौडेलले दिएको राजीनामा जिल्ला कार्यसमितिले अस्वीकृत गरेको छ।
    जिल्ला सचिव माधव ढकालका अनुसार जिल्ला कार्यसमितिको बैठकले पौडेलको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो।
    पार्टी निकट स्रोतका अनुसार नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित केही जनप्रतिनिधिहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पौडेलले राजीनामा दिएका थिए। जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त, मूल्य र कार्यकर्ताको भावनाअनुसार काम गर्न नसकेको भन्दै उनले नैतिक दबाबस्वरूप राजीनामा बुझाएको स्रोतको दाबी छ। यद्यपि, यस विषयमा पौडेलले सार्वजनिक रूपमा विस्तृत धारणा व्यक्त गरेका छैनन्।
    १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनमा दोस्रो सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका पौडेल युवा तथा अग्रज कार्यकर्ताबीच लोकप्रिय नेताका रूपमा परिचित छन्।
    उनको राजीनामा अस्वीकृत गर्ने जिल्ला कार्यसमितिको निर्णयपछि शुभचिन्तक तथा पार्टी कार्यकर्ताहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले यस निर्णयले पार्टीभित्र योगदान, लोकप्रियता र संगठनप्रतिको प्रतिबद्धताको सम्मान भएको सन्देश दिएको बताएका छन्। साथै, पार्टीमा योगदान र क्षमताको मूल्यांकन गर्ने परम्परा अझै जीवित रहेको भन्दै जिल्ला कार्यसमितिको निर्णयको स्वागत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस