चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु कार्यान्वनको सुरु भयो बजेट कति छ ? कुन क्षेत्रलाई लक्षित गरेर कार्यक्रम बनाउनु भएको छ ?
गत वर्षमा गएको बाढीपहिरोले हाम्रोमा निकै क्षति पुर्याएको थियो । यो वर्षको पनि बर्षातले निकै असर गर्यो । त्यसैले वडागत रुपमा बजेट छैन । पालिका स्तरबाट नै हाम्रोमा कार्यक्रम भइरहेको छ । खोला छेउछाउको बस्ती अथवा जहाँ बाढी पहिरोले अझै क्षति पुयाउन सक्छ ती क्षेत्रलाई सुरक्षित बनाउनको लागि पहिले गरिरहेको नियमित कार्यक्रमभन्दा केही फरक धारमा रहेर कार्यक्रम गर्नुपर्नेछ । यसमा पालिकास्तरबाट नै विभिन्न योजनाको साथ काम भइरहेको छ । जहाँ अत्यावश्यक परेको छ, त्यही क्षेत्रलाई बढी लक्षित गरेर कार्यक्रमहरू गर्दै आइएको छ ।
वडाले कस्ता कार्यक्रमलाई लक्षित गरेर बजेट बनाएको छ ?
चालु आर्थिक वर्षमा चाहिँ वडाको लागि यति नै बजेट भनेर विनियोजन भएर आएको छैन । विपदको क्षेत्रमा नै खर्च गर्ने भन्ने छ । अहिलेको आवश्यकता पनि त्यही छ । सबैसँग बसेर छलफलबाट नै भएको निर्णय हो यो । पालिकाले कार्यक्रम गर्ने भएपनि त्यो सबै वडाभित्र नै सञ्चालन हुने कार्यक्रमहरु हुन् । जहाँ विपद परेको छ, अप्ठ्यारो परेको छ । त्यहाँलाई बढी प्राथमिकता दिएर काम गर्ने भनिएको छ । त्यो बाहेक अरु नियमित कार्यक्रम त भइ नै रहन्छन् । विशेष बजेट नै छुट्याएर कार्यक्रमहरू नभए पनि अरु कार्यक्रमहरूले चाहिँ निरन्तरता पाएको छ ।
विपद् व्यवस्थापनको क्षेत्रमा पूर्व तयारीका लागि वडाले के–के गरिरहेको छ ? पूर्व तयारी अन्तर्गत स्रोत–साधन, टोली र प्रविधिहरु के छन् ? समुदायसँग कसरी समन्वय भइरहेको छ ?
वडामा छुट्टै विपद्को लागि भनेर बजेट त्यसरी छुट्याएकोभन्दा पनि पालिकागत रूपमा कार्यक्रम गरिरहेका छौँ । जलवायु परिवर्तन, विपद व्यवस्थापन लगायतका तालिमका कुराहरू पनि छन् । विभिन्न संघसंस्थासँगको सहकार्यमा पनि हामीले काम गरेका थियौँ । विपत पर्यो भने तत्काल हामी खटिएर गर्ने कामहरु पनि छ । हामी फ्रन्टमै बसेर काम गरिरहेका छौँ ।
वडामा स्वास्थ्य क्षेत्रमा कुन–कुन योजनाहरु लागू छन् ? अगामी समयमा सुधारका लागि के–के कदमहरु सोचिएको छ ?
हाम्रो वडामा नियमित रुपमा स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । वडाका सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच मिलोस् भन्ने लक्ष्यसहित काम गरिरहेका छौँ । स्वास्थ्य संस्थामा औषधिको अभाव हुन दिएका छैनौं । साथै, नियमित खोप कार्यक्रमहरु क्रमानुसार भइरहेका छन् र घुम्ती सेवा पनि दिइरहेका छौँ । दीर्घ रोगका बिरामी पहिलेको तुलनामा अहिले कम देखिएका छन्, जसले हाम्रो पूर्व तयारी र सेवाको प्रभाव देखाउँछ । विभिन्न विपद् (जस्तै भुकम्प, बाढी वा महामारी) को बेला पनि हामी सक्रिय रुपमा खटिएका छौँ, स्वास्थ्य सेवा निरन्तरता दिनु हाम्रो प्राथमिकता रहन्छ । मुख्य चुनौती भनेको जनचेतना अझ बढाउन पर्ने हुनु हो । सबैले समयमै खोप तथा चेकअप गराउन आओस् भन्ने चाहन्छौँ । स्रोत–साधन (मानव, औषधि, उपकरण) लाई अझ स्थायित्व दिनु पर्नेछ । आगामी समयमा परिचालित घुम्ती सेवालाई थप सुधार्दै जनसहभागिता बढाउने योजना बनाइएको छ । साथै, दीर्घरोगको रोकथाम र समयमा पहिचानका लागि समुदाय–आधारित कार्यक्रमहरु थप गर्ने सोच छ ।
वडाको समग्र विकासका निम्ति अरु निकायहरुसँग तपाईहरुको समन्वय कत्तिको छ ? नगरपालिका, प्रदेश र सङ्घीय सरकार अथवा अन्य संघसंस्थाहरूबाट कार्यक्रम कति वटा छ ?
बजेटहरू टुक्राएर वडागत रूपमा नपठाइकन सिधै पालिकाबाट कार्यक्रम गरिरहँदा पनि कतिपय ठाउँमा बजेट अभावले भने जसरी काम गर्न सकिएको अवस्था छैन । पालिकाबाट विनियोजन भएर गर्न लागिएको काममा पनि बजेट अभाव भइरहेको छ । गणेशथान, घुम्ती, लामाटोल लगायतका बस्ती व्यवस्थापन गर्न पालिकाले मात्र सकिरहेको छैन । यसको लागि प्रदेश सङ्घबाट नै विशेष व्यवस्थापन गर्नुपर्ने अवस्था छ । मुख्य सडकहरू नै बिग्रिएकाले पालिका अथवा मुख्य ठाउँहरूमा जान नै समस्या भइरहेको छ । हरेक पटक बर्षातले मुख्य सडकहरू बिगार्दा आवतजावतमा नै समस्या भइरहेको अवस्था छ । यो सबै भौतिक संरचनाहरू पहिलेकै अवस्थामा फर्काउन पालिकाको बजेटले मात्रै सम्भव छैन । आन्तरिक आयस्रोत पनि त्यति धेरै भएको ठाउँ होइन हाम्रो । कार्यक्रमहरू गर्दा दीर्घकालीन कार्यक्रमहरू नै गर्नुपर्छ । क्षणिक समयको लागि गर्ने भन्ने होइन । हाम्रो स्वास्थ्य भवनको पछाडि पहिरो गइरहेको छ । यो पुरा बनाउनको लागि २०÷२५ लाखको खर्च हुन आउँछ । हामीले धेरै सडकहरू बनाउन अथवा डिपिआर गरेर पठाउने गरेका छौँ तर त्यसको खासै राम्रो प्रतिक्रियाहरू आइरहेको छैन । हाम्रो यहाँ खोला छेउको बस्तीहरू हरेक वर्ष डुबानमा पर्ने गरेको छ । अवस्था पहिलेकै अवस्थामा फर्काउन त समय लाग्छ नै तर पनि हाम्रो तर्फबाट हामी प्रयास गरिरहेका छौँ ।
सार्वजनिक सेवा प्रवाह, स्वशासन, स्थानीय सरकारको सक्षमता हिसाबले कस्ता सुधार देखिएका छन् ?
गत वर्ष अनि यस वर्ष पनि बाढीले हामीलाई धेरै दुःख दियो । समग्रमा भन्नु पर्दा गाउँपालिका भरीमै हाम्रो वडा पिडित भयो । तथापि हाम्रो तर्फबाट दिन सक्ने सेवा हामीले नियमित रुपमा दिइरहेका छौं । टोल बस्तीमा नै गएर हुन्छ अथवा कसरी सहज हुन्छ । यसलाई सहजीकरण गर्ने काम गरिरहेका छौँ । नागरिकहरुलाई कतिको महसुस गरिरहनु भएको छ भन्ने कुरा पनि हो तर हामीले हेर्दा पहिलेको तुलनामा परिवर्तन चाहिँ आइरहेको छ । हामी नजिकको सरकार भएको कारण पनि उहाँहरूको माग गुनासोहरु धेरै हुन्छ । बजेटको सिमितताको कारण कतिपय कुराहरु हामीले समेट्न सकेका हुँदैनौं तर सक्दो प्रयासले गरिरहेका छौँ ।
हाम्रो वडामा खानेपानीको अवस्था हाल कस्तो छ ? यदि समस्या छन् भने तिनीहरू के हुन् र आगामी समयमा कसरी समाधान गरिनेछ ?
खानेपानीको समस्या खासै छैन । शुद्ध खानेपानीको लागि केही काम गर्नुपर्नेछ । पालिकाकै बजेटबाट केही ठाउँमा खानेपानीको काम भएको पनि छ । खानेपानीको त्यति ठूलो समस्या छैन । बिस्तारै सुधार गर्नुपर्ने कुराहरुलाई पनि हामी सुधार गर्दै जानेछौं ।
हाम्रो वडामा कृषिको लागि कुन–कुनकार्यक्रमहरु सञ्चालन भइरहेका छन् ? कुन कृषिजन्य उपयुक्त क्षेत्रहरु लक्षित छन् ? जस्तै तरकारी, फलफूल, पशुपालन ? कुन समूह वा किसानहरुलाई लक्षित गरिएको छ ?
बेथान्चोक गाउँपालिकामा एक वडा एक पकेट क्षेत्र बनाउने भन्ने नीति नै छ । जसअनुसार हाम्रो वडालाई हामीले सुन्तला पकेट क्षेत्र बनाएका छौँ । हाम्रो क्षेत्रमा सुन्तलाको राम्रो सम्भावना भएको कारण पनि हामीले सुन्तलालाई नै बढी जोड दिएका छौँ तर पछिल्ला वर्षहरूमा सुन्तलामा रोग किराले अलि बढी दुःख दिने गरेको छ । माथिल्लो निकायमा पनि हाम्रो यहाँ भइरहेको समस्याहरूको बारेमा जानकारी गराउने कुराहरु त छँदै नै छ । कृषिमा अरु क्षेत्रलाई नै समेटेका छौँ तर पकेट क्षेत्र सुन्तला भएकाले सुन्तला खेतीलाई नै बढी जोड दिएका छौँ । अरु क्षेत्रलाई पनि सँगै समेट्ने प्रयास चाहिँ गरेका छौँ । साबिकको ४, ५, ६, ७ र ९ नौ नम्बर वडाका पारिलो ठाउँमा सुन्तला लगाउनको लागि प्रोत्साहन गर्ने काम गरिरहेका छौँ । यसले बाढी पहिरो रोकथाममा पनि केही सहयोग पुग्नेछ भन्ने अपेक्षा छ । यो वर्ष पनि १० लाखभन्दा बढीको बिरुवा वितरण गर्ने काम भइसकेको छ । सुन्तला खेतीलाई नै प्रोत्साहन मिल्ने गरी विभिन्न कार्यक्रमहरू चाहिँ नियमित रुपमा भइरहेको छ ।
शिक्षाको क्षेत्रमा वडाको लगानी कत्तिको हुने गरीएको छ ? कार्यक्रमहरु के(केछ ? के चुनौतीहरु छन्? आगामी वर्षका लागि शिक्षा क्षेत्रमा के नयाँ कार्यक्रमहरु तय भएका छन्?
सरकारको नियमअनुसार नै हामीले काम गरिरहेका छौँ । अहिले शिक्षा ऐन पनि बनाएका छौँ । र निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेका छौँ । हाम्रो वडामा जम्मा तीनवटा विद्यालय रहेको छ । तीनवटै विद्यालयबाट एसइइको नतिजा हेर्ने हो भने ९८% उत्तीर्ण भएका विद्यार्थीको तथ्याङ्क देखिन्छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्नको लागि हाम्रो तर्फबाट गर्नसक्ने पहल कदम हामीले गरिरहेका छौँ । अवस्था पहिलेको जस्तो छैन । सामुदायिक विद्यालयमा पनि पहिलेको तुलनामा विद्यार्थी संख्या घट्दो क्रममा छ । भूगोल ठूलो छ । जनसङ्ख्या थोरै । विद्यालय मर्ज गर्नुपर्ने धेरै ठाउँ छ तर भौगोलिक अवस्थालाई हेर्ने हो भने विद्यालय मर्ज गर्नुपर्छ तर यसोगर्दा विद्यार्थीहरू चाहिँ मर्कामा परिरहेका हुन्छन् । त्यसले गर्दा पनि हामीलाई केही समस्या चाहिँ भएको छ । तर पनि शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि हाम्रो तर्फबाट जे जस्तो गर्न सकिन्छ त्यसलाई चाहिँ निरन्तरता दिएका छौँ ।
बालमैत्री वडा बनाउन वडागत के कस्ता कार्यक्रम अघि सारिएको छ ? आगामी समयमा थप कुन कार्यक्रमहरु ल्याउने योजना छ ?
बालमैत्री वडा बनाउनुपर्छ भन्ने हाम्रो पनि पहल छ । विशेषगरी बेथानचोक गाउँपालिकाभरि नै यसका लागि विशेष कार्यक्रम हुँदै आएको छ । तर हामीले चाहिँ तत्कालको लागि सूचकहरू पूरा गर्नुपर्ने कुरामा नै ध्यान दिनुपर्ने हुन्छ । त्यसैले सुरुमा त हामीले बाल क्लब तथा सञ्जालहरू गठन गरिरहेका छौँ । बालमैत्री बनाउनको लागि जति सूचकहरू पुरा गर्नुपर्ने हुन्छ । त्यसको लागि केही समय लाग्छ तर हामी बिस्तारै त्यसतर्फ पनि उन्मुख भएका छौँ ।
वडाको विकासको लागि तपाईको आगामी योजनाहरु के के छन् ?
गर्नुपर्ने कामहरू त धेरै छ तर बजेटका कुराहरू पनि हुन्छन् । त्यसैले पनि हामीले चाहेका जति कार्यक्रमहरु चाहिँ गर्न सकेका छैनौं । बाढी पहिरोले गर्दा कृषि क्षेत्रलाई निकै क्षति पुगेको छ । त्यसैले हामीले सकभर पहिलेकै अवस्थामा फर्काउनलाई पहल गरिरहेका छौँ । सडकहरू प्रत्येक बस्तीमा लाने काम त सकियो तर अब त्यसलाई पक्की बनाउनुपर्ने छ । सामुदायिक भवनहरूमा क्षति जहाँजहाँ पुगेको छ, त्यसलाई पनि हामीले बनाउनुपर्नेछ । हिजोको दिनमा बाढीपहिरोले जे जति क्षति पुर्याए पनि अब त्यही अवस्थामा हामी पर्न नपरोस् भनेर विशेष पहल गर्नेछौँ । दिगो विकासतर्फ लक्षित भएर हामी कार्यक्रमहरू गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस