सात हजार प्रशिक्षार्थीलाई ट्रायल पास गराउन सफल भएका छौँः

  • २०८१ श्रावण २३, बुधबार मा प्रकाशित ६ महिना अघि
  • १६९ पाठक संख्या

  • तपाईको ड्राइभिङ प्रशिक्षण केन्द्रको परिचय पाउँ न !
    हाम्रो ड्राइभिङ स्कुलको नाम बि.एम.के ड्राइभिङ स्कुल हो । बि.एम.के ड्राइभिङ स्कुल २०७४ सालमा बनेपाको तिनदोबाटोमा रहेको सिद्धार्थ स्कुल अगाडि सञ्चालनमा आएको थियो । त्यहाँ सात वर्ष पूरा गरिसकेपछि अहिले २०८१ सालबाट हामी बनेपाको सिनगाल मार्ग, विद्यासागर स्कुलको अपोजिटमा ड्राइभिङ प्रशिक्षण गराउँदै आएका छौँ ।

    कति भयो प्रशिक्ष्ण केन्द्र सञ्चालनमा आएको ?
    हाम्रो ड्राइभिङ स्कुलको सुरुवात भएको लगभग ७ वर्ष भयो । अहिले आठ वर्षको दौरानमा कुदिरहेका छौँ ।

    हालसम्म कति जनालाई प्रशिक्षित गर्नुभयो ?
    हामीले यो अवधिमा निकै व्यक्तिलाई ड्राइभिङ सिकाइसकेका छौँ । अहिलेसम्मको अवधिमा सात हजार जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिएर ट्रायल पास गराउन सफल भएका छौँ ।

    एउटा व्यक्तिले किन ड्राइभिङ सिक्न जरुरी छ ?
    ड्राइभिङ शिक्षा आजको आवश्यकता र सीप सिकौं आत्मनिर्भर बनौँ भने उद्देश्यका साथ ड्राइभिङ प्रशिक्षण गराउँदै आइरहेका छौँ । हाम्रो नारा मै यो प्रश्नको उत्तर छ । सीप बिना मानिसको जीवन अधुरो र अन्धकार नै रहेको कारणले सीप चाहिन्छ नै भन्छौं । ड्राइभिङ साथै अरु पनि सीपहरुको धेरै आवश्यक हुन्छ । आफ्नो लागि सीपसँगसँगै सडकमा हुने विभिन्न दुर्घटनाहरूबाट बच्नको लागि पनि एउटा व्यक्तिले ड्राइभङ सिक्न जरुरी छ ।

    सात वर्ष पूरा हुँदासम्मको अवधिमा ड्राइभिङ स्कुल सञ्चालन गरिरहदा यहाँले गर्नुभएको अनुभवहरू सुनाइदिनुस् न !
    प्रशिक्षार्थीहरूको सन्तुष्टि नै हाम्रो चाहना हो । यो नै हाम्रो मुख्य उद्देश्य पनि हो । यसै अनुरुप पनि प्रशिक्षार्थीहरुलाई एकदमै खुसी बनाएर प्रशिक्षण गराउने क्रममा हामीले सुरुवात गरेका थियौ । त्यसैलाई अहिले हामीले निरन्तरता दिइरहेका छौँ । अहिलेसम्मको अवधि एकदमै राम्रो भएको छ । अनुभवको कुरा गर्दा सीप सिकेर स्वावलम्वन अंगालेका साथीहरुको प्रगति नै हो । उहाँहरुको प्रगति नै हाम्रो उपलब्धी हो ।

    तपाईंको ड्राइभिङ सेन्टरमा त्यस्तो खास विशेषता के छ ?
    हाम्रो मुख्य प्राथमिकता भनेको सीप सिकाउने नै हो । हामीले कहिले पनि हाम्रै ड्राइभिङ स्कुलमा आएर प्रशिक्षण गर्नुपर्छ भन्नेका छैनौं । आफूले प्रशिक्षण गर्ने स्थल, आफूलाई प्रशिक्षण गराउने प्रशिक्षण राम्रो हुनुपर्छ । सिक्दाखेरि हामीले ध्यान दिनुपर्ने कुरा भनेको प्रशिक्षार्थीलाई गर्ने व्यवहार, विभागले तोकेको मापदण्ड अनुसारको प्रशिक्षण स्थल छ वा छैन भन्नेपनि हेर्नुपर्छ । प्रशिक्षकहरू कस्ता हुनुहुन्छ, कसरी सिकाइरहनुभएको छ भन्ने अर्को मुख्य पाटो हो । त्यसैले आफूलाई बेस्ट लाग्ने ठाउँमा सिक्नुहोस् । तर हामीले सिकाउने भनेको राज्य सरकार र मातहतको विभागले तोकेको मापदण्ड बमोजिम नै हुन्छ । दशौँ वर्षदेखिको अनुभव बटुल्नुभएको प्रशिक्षकहरुले सिकाउनु हुन्छ ।

    तपाईको ड्राइभिङ सेन्टरमा के के कुरालाई ध्यानमा राखेर सिकाइन्छ ? क्षेत्रफल कति छ ? प्रशिक्षक कस्ता हुनुहुन्छ ? संरचना कस्तो छ ?
    यातायात व्यवस्था विभागले नयाँ मापदण्ड बनाइदिएको छ । विभागले तोकेको नयाँ मापदण्डअनुसार सातवटा संरचनाहरू हुनुपर्छ भनेर तोकेको छ । ती सातैवटा संरचनालाई टेकेर सात रोपनी जग्गामा ट्रायल स्कुल तयार पारेका छौँ । त्यहाँबाट जिरोदेखी नै प्रशिक्षण गराइरहेका छौँ । हामीले ट्रायलको अवधिसम्म नै उहाँलाई निरन्तर रुपमा सिकाउँछौँ ।

    एक व्यक्तिले कति दिनमा कोर्ष सक्नु हुन्छ ? कि नजानुन्जेल सिकाइ रहने हो ?
    सीप सिक्नको लागि एउटा व्यक्तिलाई सधैँ यति नै समय लाग्छ भनेर उहाँहरुलाई हेरेर अथवा देखेको भरमा भन्न सकिँदैन । हामीले आठौं वर्षको यो अनुभवलाई समेटेर भन्नुपर्दा १५ दिनदेखि एक महिनासम्म प्रशिक्षार्थी अनुसार प्रशिक्षण गराएर ट्रायल पास गराउन सफल भएका छौँ । सिकेको १० दिनको दिनमा ट्रायल पास भएर आउने विद्यार्थी पनि हामीसँगै हुनुहुन्छ । २०/२५ दिन लगाएर पास हुने विद्यार्थी पनि हामी सँगै हुनुहुन्छ । सबैजनामा एउटै हुन्छ भन्ने हुँदैन । सीप सिक्ने सोच बनाएर आएपछि नजानेर नहुने भन्ने त हुँदै हुँदैन । बढीमा एक महिना नत्र १० दिन भित्रमा पनि उहाँहरुले ड्राइभिङ सिकेर ट्रायल परीक्षा पास गर्न सक्नुहुन्छ । यो चाहिँ व्यक्तिमा भर पर्ने कुरा भयो । हाम्रोमा फरक फरक प्याकेजहरू हुन्छ । त्यो उहाँले छान्न पाउनुहुन्छ । ड्राइभिङ सिक्ने क्रममा जति दिन लाग्छ ट्रायल पास भएर नआउन्जेलसम्म हामीले प्रशिक्षण गराइरहन्छौं । हाम्रो मुख्य उद्देश्य भनेको उहाँहरुलाई ट्रायल पास गराउनु नै हो ।

    ड्राइभिङ तालिम किन आवश्यक छ ?
    ड्राइभिङ तालिमको किन आवश्यकता हुन्छ सबभन्दा यो भनेको एउटा सीप हो । हामीले आफ्नो देशमा बसेर लाखौं युवाहरु बेरोजगार हुनु परेर विदेशिनु परेको छ । तर हाम्रै ठाउँमा हेर्ने हो भने दक्ष ड्राइभरहरू नपाउने समस्या रहेको छ । ड्राइभरहरू यसरी नपाउनु भनेको सीप नभएर हो । सीप सिक्नु आवश्यकता यसकारण पनि छ । ड्राइभिङ सिक्यो भने आफूले रोजगार पनि पाइने भयो यसका साथै आफ्ना परिवार समेत यसैले खुसी पार्न सकिने भएकाले सीपा आवश्यक छ । त्यसमा पनि ड्राइभिङ उत्तम छ ।

    धेरैजसो विदेश जाने विद्यार्थी नै त होला नि तपाईहरुका प्रशिक्षार्थी हैन ?
    हाम्रो अहिले विदेश जानको लागि सिकिरहनुभएको प्रशिक्षार्थीहरु पनि हुनुहुन्छ । बाहिरको लागि अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशहरु जानको लागि तयारी गर्दै प्रशिक्षण लिरहनु भएको छ । हामीले उहाँहरुलाई यहाँ प्रशिक्षण गराएर ट्रायल पास भएर जानुभयो भने उता गएर पनि आफ्नो सीपको आधारमा गर्न सक्नुहुन्छ । उता जाँदाखेरि पनि हामीले यहाँ ट्रायल पास भएर बनाएको लाइसेन्सले धेरै नै सहयोग गर्छ । त्यसकारण पनि उहाहरु यहाँ सिकेर नै जानुहुन्छ । खाडी मुलुकमा जानेहरूको लागि पनि ड्राइभिङ एकदमै राम्रो भएको छ । ड्राइभिङ गर्दा राम्रो तलब पनि पाउने भएको कारण उहाँहरु यसरी यहाँ सिकेर पनि जानुहुन्छ । त्यसकारण विदेश जानको लागि विशेष तयारी गर्न पनि आउनुहुनेहरु धेरै हुनुहुन्छ ।

    नेपालमै ड्राइभिङ सिकेर आय आर्जन गर्न सकिन्न ?
    नेपालमै बसेर पनि ड्राइभिङ गरेर आयआर्जन राम्रोसँग गर्न सकिन्छ । अहिलेको अवस्थालाई हेर्ने हो भने बनेपाको चारदोबाटो चोकमा एउटा गाडी लिएर कुरेर टिप गरेर बस्नेहरु धेरै हुनुहुन्छ । त्यो भनेको उहाँलाई ड्राइभिङ पेसाले दिएको रोजगारी हो । यसरी धेरै चालकहरुले आफ्नो परिवार पालिरहनुभएको छ । थप उदाहरणको लागि धुलिखेल हस्पिटलका चोकहरू, शिर मेमोरियल हस्पिटलका चोकहरुमा पनि यसरी हामीले बसेको देख्न सक्छौ । विभिन्न विद्यालय बसहरू चलाइरहनुभएको चालकहरु पनि हुनुहुन्छ । ड्राइभर नपाउनुको पीडा नै छुट्टै छ भन्नुहुन्छ कतिपयले । त्यसैले सीप चाहिन्छ ड्राइभिङ पेसा गरेरै नेपालमै राम्रोसँग रोजगारी गरेर बस्न सकिन्छ ।

    ड्राइभिङ सिकेर स्वावलम्बी बनेकाहरुको कुनै उदाहरण छन् ?
    यस्ता धेरैवटा उदाहरणहरू रहेको छ । हाम्रो बनेपाको चार दोबाटो चोकमा टिप गरेर एक ठाउँबाट अर्को ठाउँमा गर्ने या अन्य कुनै ठाउँमा बसेर टिप गरिरहनुभएका धेरै ड्राइभरहरू हाम्रोबाट उत्पादन हुनु भएको छ । हाम्रोबाट यसरी ड्राइभिङ सिकेर आफ्नो काम गरिरहनुभएको धेरै चालकहरु हुनुहुन्छ ।

    बि.एम.के ड्राइभिङ स्कुलमा कुन कुन सवारी साधन सिकाइन्छ ?
    हामीले सुरुवाती चरणदेखि नै लाइट भेकललाई फोकस गरिरहेका छौँ । लाइट भेकल भन्नाले साना सवारीमा पर्दछ । जस्तै मोटरसाइकल, स्कुटर, साना गाडीहरु सिकाईरहेका छौँ । साना गाडी भन्नाले चारपाङ्ग्रे गाडीहरू हामीले सिकाइरहेका छौँ । प्रशिक्षण गराउने क्रममा विभागले तोकेको अनुसारकै गाडी स्कुटरहरु सिकाउँदै आइरहेका छौँ । जस्तै गाडीमा हामीले अल्टो कार, बाइकमा सुपर स्प्लेण्डर र स्कुटरमा प्लेजर स्कुटरमार्फत प्रशिक्षण गराइरहेका छौँ ।

    प्रशिक्षार्थीहरूबाट र बाहिरबाट कस्तो खालको प्रतिक्रिया पाइरहनुभएको छ ?
    हाम्रोमा पनि ड्राइभिङ सिक्ने धेरै क्षेत्रका हुनुहुन्छ । आम नागरिक पनि हुनुहुन्छ, सरकारी जागिरेहरु पनि हुनुहुन्छ । त्यो बाहेक विभिन्न सेवामा आबद्ध हुनुहुन्छ । हामीलाई उहाँहरुले धेरै राम्रो प्रतिक्रियाहरू दिइरहनु भएको हुन्छ । मैले सही समयमा सही ठाउँ रोजेछु । त्यो बेलामा बि.एम.के ड्राइभिङ स्कुल नआएको भए मेरो हातमा लाइसेन्स आउँदैन थियो । लाइसेन्स आउँदैनथ्यो भने अहिले यतिको काम गर्न सक्दिन थिए । अथवा नेपालमै बसेर यसरी खुसीले बस्न सक्दिन थियो होला भन्ने खालको खुसी भाव व्यक्त गर्नुहुन्छ । यसरी बेलाबेलामा आएर हामीलाई भेट्नु पनि हुन्छ त्यसकारण एकदमै राम्रो प्रतिक्रियाहरु आएको छ । त्यसले हामीलाई थप उत्साहित बनाउँछ ।

    लिखित परीक्षालाई पनि जोड दिनुभएको छ ?
    प्रयोगात्मक मात्र नभएर लेखेका कुराहरूलाई पनि जोड दिनुपर्छ भनेर हामीले लिखित परीक्षालाई समेत जोड दिने गरेका छौँ । अहिले हामीले लिखित तयारी कक्षा भनेर सञ्चालनमा ल्याएका छौँ । प्रत्येक शनिबार बिहान ९ बजे लिखित तयारी कक्षा भनेर संचालन गरिरहेका छौँ । परीक्षा दिइरहँदाखेरि लिखित परीक्षा पनि दिनुपर्ने हुन्छ । त्यो पनि निकै महत्वपूर्ण रहेको छ । त्यसकारण लिखित परीक्षामा कस्ता प्रश्नहरु सोधिन्छ, कसरी लिखित परीक्षा दिनुपर्छ । त्यहाँ कतिवटा कस्ता कस्ता किसिमका प्रश्नहरु आउन सक्छ भन्ने जस्ता कुराहरू पनि सिकाइरहेका हुन्छौँ । यसैगरी हाम्रोमा अर्को मर्मत तयारी कक्षा पनि सञ्चालन हुने गरेको छ । त्यो भनेको हरेक शनिबार लिखित तयारी कक्षा सकिएपछि हामीले १० बजेदेखि मर्मत तयारी कक्षा सिकाउँछौ । हामीले गाडी सिकेर मात्र हुँदैन त्यसपछि आएका स–साना समस्याहरुलाई समाधान गर्न सक्नुपर्छ भन्ने हिसाबले यसरी सिकाइरहेका छौँ । आफ्नो गाडी भोलिका दिनमा बाटोमा गएर साना साना समस्याहरुले गरेर अड्केर बस्नु नपरोस् भन्ने हिसाबले यसरी सिकाइरहेका हौँ ।

    आर्थिक अभावकै कारण ड्राइभिङ सीप सिक्न चाहेर पनि सिक्न नपाउनुभएकोहरुको लागि बि.एम.के ड्राइभिङ स्कुलको तर्फबाट केही विशेष छुट छ ?
    अहिले स्थानीय तहहरुले आफ्नै खर्चमा पनि प्रशिक्षण गराउँदै आएको छ । यसोगर्दा आर्थिक अभाव भएर सीप सिक्न नपाउनुभएकोहरूको लागि धेरै सहज भएको छ । यसैगरी हामी माझ कुनै प्रशिक्षार्थी म ड्राइभिङ सिक्न चाहन्छु तर मेरो आर्थिक अभाव छ भनेर आउनुभयो भने उहाँलाई हामी खाली हात पठाउँदैनौ । यसको लागि बिएमके ड्राइभिङ स्कुलले वर्षमा १२ जना महिनाको एकजनाको दरले यसरी निःशुल्क ड्राइभिङ सिकाउन पनि सुरु गरेका छौँ । यसमा हामीले आफैले छनोट गर्नेभन्दा पनि वडा सरकारको सिफारिसको आधारमा हुन्छ । वडाले विपन्न नागरिक हो भने सिफारिस गरिदिएको खण्डमा हामीले यसरी वार्षिक १२ जनालाई यसरी सिकाइरहेका हुन्छौ । यो विपन्न परिवारको लागि मात्र हो ।

    बि.एम.के ड्राइभिङ स्कुल कत्तिको महिला मैत्री छ ?
    सिक्ने र सिकाउने दुबै कुरामा महिला मैत्री नै छ । कतिपय महिला दिदीबहिनीहरूलाई पुरुष प्रशिक्षकहरूसँग सिक्नको लागि असहज हुन सक्छ । सिकाउनको लागि महिला नै भइदिए हुन्थ्यो भन्ने खालको उहाँको आशय पनि हुन्छ । त्यही कुरालाई हामीले ध्यानमा राखेर महिला प्रशिक्षकहरुको व्यवस्था गरेका छौँ । दुई जना महिलाहरू प्रशिक्षकद्वारा हामीले यसरी प्रशिक्षण गराइरहेका छौँ । पुरुषहरू चाहिँ पाँचजना हुनुहुन्छ हामी जम्मा सात जनाले यसरी प्रशिक्षण दिइरहेका छौँ ।

    स्थानीय सरकारसँग सहकार्य गरेर सीपमुलक तालिम दिने गर्नु भएको छ ? छैन भने स्थानीय सरकारसँग समन्वय गर्न जरुरी ठान्नुहुन्छ कि होइन ?
    हाम्रो घर दैलोको सरकार भनेको स्थानीय सरकार हो । आफ्नो पालिकाभित्रका विपन्न परिवारलाई भएपनि रोजगारी सिर्जना गर्नु उहाँहरु दायित्व हुन्छ । स्थानीय तहहरूसँग हामीले सहकार्य गर्ने गरेका छौँ । हामीले निःशुल्क सिकाउने भनेको पनि वडासँग समन्वय गरेर नै हो । त्यसकारण यसरी समन्वय गर्दा हामीलाई पनि सहज हुन्छ ।

    यहाँहरूले ड्राइभिङ स्कुल सञ्चालन गरिरहँदा देखिएका समस्याहरू अथवा समग्र नेपालमा अहिले यस विषयसँग सम्बन्धि चुनौती के देखिएको छ ?
    मेरो मात्र होइन सबै ड्राइभिङ सेन्टर यसरी खोलेर बस्नुभएकाहरूको केहि आम समस्या छ । राज्यले सहयोग गरिदिने हो भनेदेखि धेरै कुराको समाधान पनि हुन्छ । आजभन्दा केही वर्ष अगाडि ड्राइभिङ स्कुलहरूमा एउटा ड्राइभिङ स्कुलले सिकाएर पठाएको छ, यो विद्यार्थीले राम्रो चलाउँछ भनेर सर्टिफिकेट दिन्थ्यो र त्यसैको आधारमा लाइसेन्सहरु बन्थ्यो तर हालहरु त्यो सिस्टम रद्द भएको छ । यसलाई फेरि सुचारु गर्न सकियो भने बजारमा भइरहेका दुर्घटनाहरु थप कम गर्न सक्थ्यो । यसलाई सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने लागेको छ । अहिले ट्रायल दिने क्रममा नै धेरै दुर्घटना भएको सुनिन्छ । त्यसो किन हुन्छ भन्दा यसरी ड्राइभिङ स्कुलहरू जोइन नगरिकन जानुहुन्छ अथवा प्रशिक्षण अवधि नसकिकन सानो हुन्छ । यसले गर्दा धेरै प्रभाव परेको छ । सबै ड्राइभङ स्कुलहरूको लागि एउटै मापदण्ड बनाएर अगाडि बढ्ने हो भनेदेखि सहज हुन्छ ।

    पलाञ्चोक साप्ताहिकबाट ।

    प्रतिक्रिया दिनुहोस