विवाहको खर्च कटाएर आर्थिक अवस्था कमजोर भएकालाई रिक्सा र ठेलागाडा

Post Thumbnail
  • २०७८ फागुन २, सोमबार मा प्रकाशित २ साल अघि
  • १७४७ पाठक संख्या

  • पनौती नगरपालिका वडा नम्वर ४ ज्यालापाटी घर भएका सुमेश थापा र पनौती ५ गैरीगाउँ घर भएकी नविना खड्काले विवाह भोज र दाईजो बापतको खर्च कटाउँदै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई ठेलगाडा र रिक्सा उपलब्ध गराएका छन् ।

    एक कार्यक्रमका विच नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई ठेलगाडा र रिक्सा हस्तान्तरण गरेका थिए । उनीहरु माघ २७ गते वैवाहिक जीवनमा बाधिएका थिए ।

    आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई निरन्तर आय आर्जन गर्न सकिने गरी तालिम दिई उनीहरुलाई ठेलगाडा र रिक्सा उपलब्ध गराएको सुमेशले जानकारी दिए ।

    प्रति रिक्सा ५० हजारका दरले १२ वटा रिक्सा र उनीहरुलाई तालिम सहित ७ लाख रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेका थिए ।

    श्रीमान् सुमेशको प्रस्तावमा सहमत जनाउँदै दाइजो र भोज नगर्ने बरु स्वरोजगारका लागि सहयोग गर्ने अभियानमा साथ दिएको नविना खड्काले बताईन ।

    पनौतीमा रहेको छिमेकी सहकारी र युवाहरूद्वारा सञ्चालन गरिएको सृजनशील युवा समाज अन्तर्गत मागिएको आवेदन मध्ये १८ जनालाई पानीपुरी, मःम, चाउमिन, ससेज तथा अन्य परिकार बनाउन दुई दिनको निःशुल्क तालिम तथा आर्थिक अवस्था कमजोर भई व्यवसाय सञ्चालन गर्न नसक्नेहरू मध्ये १० जनालाई पहिलो चरणमा ठेलगाढा र दुई जनालाई रिक्सा उपलब्ध गराइएको हो ।

    कसैले बीचमा व्यवसाय छाडेमा उक्त रिक्सा वा ठेलगाडा संस्था मार्फत अर्को व्यक्तिलाई उपलब्ध गराइनेछ । प्राप्त गर्ने व्यक्तिले विक्री गर्न पाउने छैन । सोही कार्यक्रममा बर बधूलाई बधाई तथा शुभकामना व्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य लगायतको सहभागिता रहेको थियो ।

    काँग्रेस महामन्त्री थापाले समाज बदल्ने अठोट आफैबाट शुरु गर्नु पर्ने बताउँदै सुमेश र नविनाको उदाहरणीय कार्यको प्रशंसा गरे ।

    प्रतिक्रिया दिनुहोस