यौनकर्मसँग सम्बन्धित पनौतीको ‘ज्याः पुन्ही’ जात्रा सकियो

Post Thumbnail
  • २०७९ जेष्ठ ३१, मंगलबार मा प्रकाशित १ साल अघि
  • ५३२ पाठक संख्या

  • हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ। तीन दिनसम्म विशेष रुपमा चल्ने पनौती जात्रा विधिगत रुपमा भने नौ दिनसम्म चल्ने गर्दछ।

    घुम जात्राको रुपमा लिइने पनौती जात्राको अन्तिम दिन मङ्गलबार पनौतीको लायकु दरबारमा उन्मत भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा समापन गरिएको हो।

    पार्वतीले ६४ योगिनीको रुप धारण गरेर भगवान महादेवलाई लखेटेको र महादेवले आफूलाई लखेट्ने पार्वती रहेको कुरा पत्ता लागेपछि महादेवले उन्मक्त भैरव र महादेवको रुप धारण गरेर पार्वतीलाई यौन कार्य गरेको सम्झना स्वरुप पनौती जात्रामा तीन वटा रथ जुधाएर जात्रा मनाउने प्रचलन रहेको पाइन्छ।

    जात्राको पहिलो दिन आइतबार जेष्ठ शुक्ल तृतीयाको साँझ ‘दुँ इचा,न्या,के।गु’ विधि गरेपछि जात्राको सुरु हुने भएको थियो। पहिलो दिन देवघरबाट ब्रहमायणी र भ्रकालीको मूर्ति निकालेर त्रिवेणीघाटमा लगेर एउटा राँगो, दुई बोकाको बली दिएर जग्गे गरेर कालरात्रिको पूजा गर्ने गरिन्छ।

    सोहि दिन नै त्रिवेणीघाटमा रहेको बासुकी नाग बस्ने स्थानमा दुई वटा हरियो बाँस गाँडेर बासुकी नागलाई गाईको दूध चढाउने प्रचलन रहेको साहित्यकार सूर्यप्रसाद लाकोँजुले जानकारी दिए। उनले जात्राको दोस्रो दिन (सोमबार)लाई मुख्य जात्रा रहने भएकोले पनौतीबासीले यसलाई मु जात्रा भन्ने गरेको बताए।

    जात्राको दोस्रो दिन पनौतीका हरेक घरले भद्रकाली, ब्रह्मायणीका साथै पनौतीभित्र रहेका सबै देवीदेवताको पूजा गर्ने गर्दछन् भने दोस्रो दिन प्रत्येक घरमा जात्राको भोज हुने गरेको साहित्यकार लाकोजुको भनाई छ ।

    जात्राको दोस्रो दिनलाई मुख्य जात्रा भनेपनि यस दिन गणेशको खट परिक्रमा र पुण्यमती नदीको किनारबाट गाइनेपाटी नजिकैको रोशमती नदीको किनारसम्म रथ तान्नेबाहेक अन्य कुनै गतिविधि गरिदैँन। जात्राको अन्तिम दिन मङ्गलबार पनौतीबासीले पुण्यमती र रोशमती नदीको संगममा स्नान गर्ने गर्दछन्। दुई नदीको संगमस्थलमा स्नान गर्नाले कुनैपनि रोग नलाग्ने विश्वास रहेको पनौतीका समाजसेवी पुरुषोतम कर्माचार्यले जानकारी दिए ।

    जात्राको अन्तिम दिन ब्रह्मायणी र इन्द्रेश्वर महादेवलाई लायकु दरबार परिसरमा ल्याएर भद्रकाली, उन्मत भैरव र महादेवको रथ एक आपसमा जुधाइएको छ। जात्राको अन्तिम दिन भद्रकाली र उन्मत भैरवको रथ तीनरतीन पटक जुधाइन्छ भने भद्रकाली र महादेवको रथ चार पटक जुधाउने प्रचलन रहेको इन्द्रेश्वर महादेव मन्दिरका पुजारी रमेशप्रसाद जङ्मले बताए । उनले पनौती जात्रामा रथ जुधाउने प्रचलनलाई यौन कार्यको रुपमा लिइने बताए । उनले पनौतीको जात्रा पनौतीको १२ वर्षे मकर मेलासँग पनि सम्बन्धित रहेको जानकारी दिए । स्वर्गका राजा इन्द्रले गौतम ऋषिकी पत्नी अहिल्याको सतित्व हरण गरेपछि गौतम ऋषिले दिएको श्रापका कारण शरीरभर योनी निस्केका इन्द्रले पनौतीको त्रिवेणीघाटमा आएर १२ वर्षसम्म तपस्या गरेका कारण जेष्ठ शुक्ल पूर्णिमाको दिनमा पनौतीको त्रिवेणीघाटमा तीन पटक स्नान गरेपछि इन्द्रको सबै पापमोचन भएको र सोही दिन इन्द्रेश्वर महादेव उत्पति भएको मिकंवदन्तीसमेत जोडिएको छ ।

    पनौतीमा तीन वटा रथ एक आपसमा जुधाई जात्रा मनाउने प्रचलनलाई श्रृष्टि चलाउन यौनकर्म अनिवार्य रहेको र उक्त यौनकार्य मर्यादित र नैतिक र स्वच्छ हुनुपर्छ भन्ने सन्देश बोकेको छ । पनौती जात्रालाई चिउली र केरा खाने तथा घुम किन्ने जात्राको रुपमासमेत चिन्ने गरिन्छ। यसलाई सिन्दुर जात्रा पनि भनिन्छ ।

    गोरखापत्र अनलाईनको सहयोगमा

     

    प्रतिक्रिया दिनुहोस