धुलिखेल । कृषिमा व्यावसायिकता बढ्ने क्रमसँगै हाइब्रीड बीउ तथा आधुनिक खेती प्रणालीमा रोग तथा कीराको समेत प्रकोप बढ्न थालेपछि किसानहरु बाध्य भएर विषादी नहालि नहुने अवस्थामा पुगेका दृष्टान्तहरु देखिएका छन् । यस कथनलाई नेपालमा पछिल्ला वर्षहरूमा विषादीको आयात र प्रयोग निरन्तर बढ्दै गएको तथ्याङ्कले समेत पुष्टि गरेकोमात्रै नभई सबैलाई झस्काएको पनि छ । निर्वाहमुखी खेतीबाट व्यावसायिक तरकारी उत्पादनतर्फको यात्राले किसानको आर्थिक जोखिम बढाएसँगै महँगो लगानी र बजार प्रतिस्पर्धाका कारण किसानहरूले आफ्नो उत्पादन सुरक्षित राख्न विषादीलाई ‘बीमा’जस्तै रूपमा प्रयोग गर्ने गरेका कृषि प्राविधिकहरुको भनाई छ ।
विषादी आयात मात्र होइन, यसको प्रयोग पनि तीव्र रूपमा बढिरहेको विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । जसले कृषि प्रणालीमा रसायनमा निर्भरता बढ्दै गएको संकेत गर्छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार धुलिखेलमा आयोजना गरेको बीउ उत्पादक, बीउ तथा विषादी व्यवसायी एवं सरोकारवालाहरुवीचको अन्तक्रियामा प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र हरिहरभवनका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलले भने, ‘विशेषगरी बजारमुखी तरकारी खेतीमा विषादीको प्रयोग उच्च रहेको छ । एक रिपोर्ट अनुसार नेपालमा आयात गरिएका विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी उत्पादनमा प्रयोग हुने गरेको छ ।’
पोख्रेलका अनुसार विषादीको अत्यधिक प्रयोगले कीराहरूमा प्रतिरोध क्षमता विकास गरिरहेको छ । यसले गर्दा सामान्य मात्राले नमारिने ‘सुपर कीरा’ हरु देखिन थालेका छन्, जसले अझ बढी र कडा विषादी प्रयोग गर्नुपर्ने दुष्चक्र सिर्जना गरेको छ । ‘देशका विभिन्न स्थानमा रहेका ‘एग्रोभेट’ पसलहरूमा विषादी सजिलै उपलब्ध हुने र प्रायः प्राविधिक सल्लाहबिनै बिक्री हुने अवस्था छ । यसले गर्दा सामान्य समस्या समाधानका लागि पनि विषादी प्रयोग गर्ने प्रवृत्ति बढेको छ’, उहाँले थप्नु भयो ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीका अनुसार काभ्रे र सिन्धुपाल्चोकमा रहेका एग्रोभेटहरुले विषादी विक्रेता प्रमाणपत्र नवीकरणका क्रममा कार्यालयमा बुझाएको बिक्री परिमाणले पनि यी दुबै जिल्लामा विषादीको खपत बढेको देखिन्छ । उहाँ भन्नुहुन्छ, ‘विषादी आयात र प्रयोग बढ्दै जाँदा कृषि उत्पादनमा तात्कालिक लाभ देखिए पनि यसको दीर्घकालीन असर जनस्वास्थ्य र वातावरण दुवैका लागि चिन्ताजनक बनेको छ । सुरक्षित प्रयोग, कडाइका साथ नियम कार्यान्वयन, किसानलाई तालिम तथा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) जस्ता प्रविधिको प्रवद्र्धन नगरेसम्म विषादीको जोखिम घटाउन कठिन हुने देखिन्छ’, दवाडीले थप्नु भयो ।
उता, एग्रोभेटहरुको सिफारिशमा एउटै केमिकल भएको विषादी निरन्तर प्रयोग भइरहँदा कीराले विषादी पचाउने क्षमता बढेकोमात्रै नभई कहिल्यै विषादी हाल्नु नपरेको बालीमा समेत विषादीको प्रयोग गर्नु पर्ने अवस्था आइलागेको छ । नेपालमा किसानहरूले विषादी प्रयोगपछि आवश्यक पर्खनुपर्ने अवधि (वेटिङ पिरियड) पालना नगर्ने प्रवृत्ति पनि गम्भीर समस्या बनेको छ । धेरै किसानहरूले विषादी छर्केको ४–५ दिनमै बजारमा बाली ल्याउने हुँदा खाद्य पदार्थमा विषादीको अवशेष (रेजिड्यू) रहन सक्ने जोखिम बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रायः विषादी अवेशष द्रूत परीक्षणका क्रममा सागपात तथा अन्य तरकारीमा तोकिएभन्दा बढी विषादी अवेशष भेटिएबाट किसानको लगानी खेर गएकोमात्रै नभई उपभोक्ताको स्वास्थ्यसमेत जोखिममा परेको अवस्था छ ।
यस्तै, विषादीको बढ्दो प्रयोगले किसान र उपभोक्ता दुवैको स्वास्थ्यमा गम्भीर असर पारिरहेको अध्ययनहरूले देखाएका छन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार तरकारी किसानमध्ये करिब ५१ प्रतिशतले विषादीका कारण विषाक्तता को अनुभव गरेको बताएका छन् । यस्तै, अर्को अध्ययनमा ७३ प्रतिशत किसानले टाउको दुख्ने, छाला पोल्ने, आँखामा जलन हुनेजस्ता लक्षण अनुभव गरेको उल्लेख छ । धेरै किसानहरूले विषादी छर्कँदा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) प्रयोग नगर्ने, वा न्यून प्रयोग गर्ने समस्या पनि देखिएको छ । केही अध्ययनमा करिब १२ प्रतिशत किसानले कुनै पनि सुरक्षा सामग्री प्रयोग नगरेको उल्लेख गरिएको छ ।
सीधै रासायनिक विषादी प्रयोगतर्फ आकर्षित हुनुमा किसानमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) जस्ता दिगो कृषि प्रविधिबारे पर्याप्त ज्ञान नहुँदा यस्तो अवस्था भइरहेको बताइन्छ । गाउँ–गाउँमा अझै पनि धेरै किसानहरूले कीरा देखिनेबित्तिकै पहिलो उपायका रूपमा विषादी छर्कने प्रवृत्ति अपनाउने गरेका छन् । आइपीएमले कीरा नियन्त्रणका लागि चरणबद्ध र सन्तुलित उपायहरू अपनाउन सिकाउँछ । यसमा बाली चक्र, मित्र कीराको संरक्षण, जैविक विषादी प्रयोग, र यान्त्रिक विधिहरूलाई प्राथमिकता दिइन्छ । रासायनिक विषादीलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरिन्छ । तर यस्तो ज्ञान व्यवहारमा रूपान्तरण हुन नसक्नु मुख्य चुनौती बनेको छ ।
कृषि प्राविधिकहरूको पहुँच सीमित हुनु, आइपीएममा आधारित किसान फिल्ड स्कूल कार्यक्रम पर्याप्त विस्तार नहुनु र आइपीएम तालिमपछि निरन्तर अनुगमनको अभावजस्ता कारणले यो अभ्यास व्यापक हुन सकेको छैन । आइपीएम केवल प्रविधि होइन, सोचको परिवर्तन हो । तर, जबसम्म त्यो सोच किसानतहसम्म गहिरोसँग पुग्दैन, तबसम्म विषादी ‘पहिलो विकल्प’ नै बनिरहने देखिएकाले तीनै तहका सरकारहरुले आइपीएमका कार्यक्रमहरु लागू गर्न व्यापक रुपमा लागू गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस