केयुको आयोजनामा आजबाट हिमालयन युनिभर्सिटी कन्सोर्टियम

  • २०८२ चैत्र ४, बुधबार मा प्रकाशित १ दिन अघि
  • ३५ पाठक संख्या

  • धुलिखेल/काठमाडौं विश्वविद्यालयले (केयू) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि चैत्र ४ र ५ (मार्च १८ र १९) मा काठमाडौंमा रिट्रिट आयोजना गर्ने भएको छ ।
    हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र संवादलाई सुदृढ बनाउने उद्देश्यसाथ आयोजना गर्न लागिएको रिट्रिटमा त्यस क्षेत्रका ३० भन्दा बढी उच्च शिक्षण संस्थाका उपकुलपति तथा प्रमुखहरू लगायत ७० जना विदेशी विज्ञको उपस्थिति रहनेछ । थाइल्यान्ड, म्यानमार, बाङ्लादेश, चीन, भारत र भुटान लगायतका देशका विश्वविद्यालयबाट सहभागीता रहने कार्यक्रममा दश देशका राजदूत तथा कूटनीतिज्ञहरूको पनि उपस्थिति रहने विश्वविद्यालयका प्रवक्ता डा. उद्धब प्याकुरेले जानकारी दिनुभयो ।सहभागीहरूले भविष्यका लागि मार्गचित्र तयार गर्न तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सन्दर्भमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन सुनिश्चितताका लागि सहकार्यको खाका निर्माण गर्नेछन् । कन्सोर्टियममा आबद्ध हुन इच्छुक शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी हुनेछन् ।
    कार्यक्रममा सातवटा प्राविधिक सत्रमार्फत हिन्दुकुश–हिमालय क्षेत्रका प्रमुख मुद्दाहरूमा छलफल हुनेछ, जसमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन, बहुपक्षीय शैक्षिक तथा अनुसन्धान सहकार्य, हिमालयन युनिभर्सिटी कन्सोर्टियमको अन्तर्राष्ट्रिय पहिचान सुदृढीकरण, वार्षिक कार्ययोजना तथा क्षेत्रीय सहकार्यका लागि उपकुलपतिहरूको फोरम स्थापना जस्ता विषयहरू समावेश छन् । सन् २००७ मा स्थापित हिमालयन युनिभर्सिटी कन्सोर्टियम हिन्दुकुश–हिमालय क्षेत्रका १०७ सदस्य विश्वविद्यालयहरूको साझ मञ्च हो । प्रारम्भमा इसिमोडमा स्थापित यस कन्सोर्टियमको सचिवालय गत वर्ष डिसेम्बरमा काठमाडौं विश्वविद्यालयमा हस्तान्तरण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस