तरकारी खेतीसँगै मौरीपालनमा काफ्लेको मेहेनत

  • २०८२ चैत्र ४, बुधबार मा प्रकाशित ५ घण्टा अघि
  • १६ पाठक संख्या

  • दुर्गाप्रसाद काफ्ले अनुभवले परिपक्व बन्नुभएको कृषक हुनुहुन्छ । उमेरले ५८ वर्ष टेक्नुभए पनि उहाँको उत्साह भने अझै १८ वर्षकै जस्तो देखिन्छ । लामो समयदेखि कृषिमा संलग्न रहँदै आउनुभएका उहाँले २०५१ सालबाट सुरु गर्नुभएको कृषि यात्रा केही वर्षअघि मात्रै व्यवसायिक रूप लिन पुगेको हो । ‘ए वान कृषि फार्म’ नाममा दर्ता गरी उहाँले आफ्नो ठूलो कृषि उद्यम विस्तार गर्नुभएको हो । हाल उहाँ २० रोपनी जमिनमा विभिन्न प्रकारका तरकारी खेती गर्दै आउनुभएको छ । मौसमअनुसारका तरकारी उत्पादनमा उहाँ सधैं सक्रिय रहनुहुन्छ । उहाँका अनुसार, काम गर्ने तरिका र प्रविधि राम्रोसँग मिलाउन सके जुनसुकै काम पनि सहज रूपमा सफल बनाउन सकिन्छ ।

    तरकारी खेतीसँगै काफ्ले मौरी पालनमा पनि निकै रुचिका साथ लाग्नुभएको छ । उहाँका भनाइमा, यो व्यवसायमा न जंगल धाउनुपर्छ, न खेतबारीमा कुटो–कोदालो चलाउनैपर्छ, केवल सीप र ज्ञान भएमा घरमै बसेर राम्रो आम्दानी लिन सकिन्छ । हाल उहाँसँग ४ वटा मौरीका घार छन् । पहिले परम्परागत खेती र पशुपालनमै सीमित रहनुभएका काफ्लेले मौरी पालनको बारेमा कुनै ज्ञान राख्नुभएको थिएन । तर एकदिन मौरी पालनसम्बन्धी तालिम लिने अवसर पाएपछि उहाँको सोच बदलियो । त्यही तालिमपछि उहाँले तरकारी खेती र पशुपालनसँगै मौरी पालन पनि गर्ने निर्णय गर्नुभयो र अहिले सोचेभन्दा राम्रो आम्दानी लिन सफल हुनुभएको छ ।

    मौरी पालन उहाँले २०५९ सालबाट सुरु गर्नुभएको हो । धेरैजसो वर्षमा राम्रो आम्दानी दिने भए पनि वरपरको विषादी प्रयोग हुने वातावरणले मौरी पालनमा असर पार्ने गरेको उहाँ बताउनुहुन्छ । आफूले विषादी प्रयोग नगरे पनि अरूलाई रोक्न नसक्दा मौरी जोगाउन कठिनाइ हुने गरेको उहाँको अनुभव छ । उहाँका उत्पादनहरू प्रायः अग्रिम रूपमा बिक्री हुने गर्दछन् । पहिले स्थानीय तह नहुँदा कृषिमा केही सहयोग पाइन्थ्यो तर अहिले त्यो सहयोग घटेको गुनासो उहाँको छ । वास्तविक

    किसानभन्दा आफ्नालाई प्राथमिकता दिने प्रवृत्तिले पनि समस्या बढाएको उहाँको भनाइ छ । मल, बीउबिजन र अनुदान समयमै उपलब्ध गराउनु स्थानीय तहको दायित्व भएको उहाँले जोड दिनुहुन्छ । उहाँ आलुको बीउ उत्पादन गर्ने किसान पनि हुनुहुन्छ, तर अहिले पहिले जस्तो आम्दानी नभएको बताउनुहुन्छ । कृषिमा बिचौलिया हटाउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उहाँको विश्वास छ । साथै बजेट धेरै ल्याउनु मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उहाँको माग छ । कम लगानीमा राम्रो आम्दानी गर्न सकिने सहज व्यवसायको रूपमा मौरी पालनलाई उहाँले लिने गर्नुभएको छ । तालिमबाट उहाँले मौरी पालनका लागि उपयुक्त स्थान छनोट, फूल फुल्ने वातावरण, पानीको स्रोत, तथा विषादीरहित क्षेत्रको महत्वबारे जानकारी पाउनुभएको थियो ।

    उहाँका अनुसार, मौरीका घार राख्दा १–१.५ कि.मी. वरिपरि चरन क्षेत्र हुनुपर्छ, घार अगाडि खुला स्थान हुनुपर्छ, र स्ट्याण्डमाथि राखेर पानीको व्यवस्था गर्नुपर्छ । साथै दुई घारबीच कम्तीमा १ मिटर दूरी राख्नु उपयुक्त हुने उहाँ बताउनुहुन्छ । बेमौसमी तरकारी उत्पादनका कारण उहाँको पहिचान अझै बढ्दै गएको छ । उहाँको खेतमा काक्रो, गोलभेडा, खुर्सानी लगायतका तरकारीहरू प्रशस्त मात्रामा उत्पादन भइरहेका छन् । यसबाट पनि उहाँले राम्रो आम्दानी लिइरहनुभएको छ । तर बजार व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । कृषिमा आफ्नै रुचि र मेहनतका कारण नै सफलता हासिल भएको उहाँ बताउनुहुन्छ ।
    परिवारका सदस्यहरूको सहयोगमा काम गर्ने र आवश्यक परेमा ज्यालादारी श्रमिक राख्ने उहाँको अभ्यास छ । निम्न माध्यमिक तहसम्म अध्ययन गर्नुभएका काफ्लेले आफूले चाहेजस्तो शिक्षा हासिल गर्न नसके पनि नयाँ पुस्तालाई पढाइसँगै कृषिलाई सकारात्मक रूपमा लिन सुझाव दिनुहुन्छ ।

    तरकारी खेती र मौरी पालनसँगै काफ्ले पशुपालनमा पनि सक्रिय हुनुहुन्छ । हाल उहाँसँग ३ वटा माउ भैंसी, ४ वटा गाई र ७ वटा बाख्रा छन् । गाईभैंसी ब्याउने अवस्थामा भएकाले दूध उत्पादन केही घटेको भए पनि दैनिक करिब २० लिटर दूध बिक्री हुँदै आएको छ । उहाँको घरमै सानो चिया पसल सञ्चालनमा रहेको छ, जहाँ दैनिक १० लिटर दूधको चिया बिक्री हुन्छ । दूधको मूल्य स्थिर रहँदा अन्य खर्च बढेकाले कृषकलाई समस्या पर्ने गरेको उहाँ बताउनुहुन्छ । मौरी पालनमा सेरना जात रोज्नुभएका उहाँले गाई, भैंसी, बाख्रा र कुखुरामा भने स्थानीय जातलाई प्राथमिकता दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस