काभ्रेका बनेपा, धुलिखेल र पनौती नगरपालिकासहित नेपाल सरकारसमेतको लगानीमा सञ्चालित काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा अन्यौलता बढेको छ । आयोजना निर्माणमा संलग्न चिनिँया ठेकेदारसँग काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डले सम्झौता तोडेपछि खानेपानी आउनेमा अन्यौलता बढेको हो । सम्झौता अनुसार आजभन्दा ७ वर्ष अघि नै तीन वटै नगरपालिकाका घर–घरमा खानेपानी आइसक्नु पर्ने थियो । तर, त्यसो हुन नसकेको मात्रै नभई निर्माण कार्यको ९ वर्ष बित्ने बेलामा ठेक्का सम्झौता नै तोडिएको छ । बोर्डका पदाधिकारीहरुले ९७ प्रतिशत काम सकिएको दाबी गरिरहेकै बखत सम्झौता तोडिँदा खानेपानीको व्यग्र प्रतीक्षामा रहेका उपभोक्ताहरु बढी मारमा परेका छन् ।
पटक–पटकको भेरियसनबाट आयोजनाको लागतमा करीब आधा रकम बढेको हुदा यतिखेर आयोजनाको लागत भ्याटबाहेक ९९ करोड ८ लाख ७ हजार रुपैंया पुगेको छ । दुई वर्षमा सक्नु पर्ने आयोजना निर्माणमा ढिलासुस्ती भएको भन्दै २०७६ साल पुसबाटै प्रमुख दाता एशियाली विकास बैंकले हात झिकिसकेको अवस्था छ । नगरवासीका घर–घरमा खानेपानी नआए पनि तीन वटै नगरपालिकाले आन्तरिक स्रोत र नगर विकास कोषबाट लिएको ऋण रकमले आयोजनामा लगानी गर्दै आएका छन् । बोर्डका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जू श्रेष्ठले बोर्डका तर्फबाट २०७६ माघ १५ गते जारी प्रेस विज्ञप्ति अनुसार २०७७ जेष्ठको १५ गतेभित्र निर्माण कार्य सम्पन्न हुने दाबी गरिएको पनि दुई वर्ष नाघेको छ ।
एशियाली विकास बैंकले ३१ डिसेम्बर २०१९ मा आयोजनाबाट हात झिकेपछि खानेपानीको हालत के हुने होला भनेर चिन्ता व्यक्त हुन थालेपछि नगरवासीहरुलाई समयमै खानेपानी उपलब्ध गराउने भनि ढुक्क हुनका लागि सो मितिमा जारी गरिएको विज्ञप्ति ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैं भएको छ । तत्कालीन शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले २०७६ माघ १२ गते निर्माण व्यवसायी र बोर्डका कुरा सुनेपछि आयोजना सम्पन्न गर्नका लागि जुटाइदिएको रकम समेत खर्च गर्न नसकेर ‘ल्याप्स’ भएको अवस्था छ । बोर्ड पदाधिकारीहरु त्यसपछि पनि तत्कालीन अर्थ मन्त्री युवराज खतिवडासम्म पुगेर रकम माग गरेकोमा बोर्डको नियमावली, आर्थिक प्रशासन नियमावली र कर्मचारी प्रशासन नियमावलीलाई नेपाल सरकारबाट स्वीकृत नगराएको हुँदा पाएको बजेटसम्म बोर्डको खातामा जम्मा हुन सकेन ।
नगर प्रमुखहरु बोर्डका पदाधिकारी रहे पनि प्रमुख प्रशासकीय अधिकृतहरु या तोकिएका अधिकारीहरुलाई ती नियमावलीहरु अध्ययन र परिमार्जनको काम दिएको भए यतिखेर सबै नियमावलीहरु स्वीकृत भएर सरकारले दिने रकमहरु बोर्डको खातामा हुन्थ्यो र काम गर्न सहज हुन्थ्यो । सबै नियमावलीहरु, बोर्डको व्यावसायिक योजना र खानेपानी मर्जरसम्बन्धी डकुमेन्टहरु तयारीमा अर्को परामर्शदाताले डेढ करोडको हाराहारीमा भुक्तानी लगिसकेको अवस्था छ । यतिखेर बनेपा र पनौतीमा नगर प्रमुख फेरिएको अवस्था छ । मनोनित भएका बोर्ड सदस्यहरुको म्याद २०७८ पौषमै सकिएको अवस्था छ ।
चिनिया ठेकेदार कम्पनी निङबो निङसिङ इन्टरनेसनल ईन्कलाई बोर्डले २ सय दिनको ढिलाई जरीवाना(डिले डेमेज) तोकेको अवस्था रहेको छ । ठेकेदार र बोर्डकोे समस्या विवाद समाधान समिति हुँदै मध्यस्थतासम्म पुगेको छ । यही वीचमा ठेक्का सम्झौता तोडिएको छ । ठेकेदार सर्वोच्च अदालतमा गएको अवस्था छ । ठेकेदारले काम सम्पन्न गरेको बिलको भुक्तानी नपाएको अवस्था छ । निर्माण सुपरिवेक्षण परामर्शदाताले यतिखेर ठेकेदारले गरेका कामहरुको अन्तिम मूल्यांकन गर्दैै रहेको अवस्था छ ।
आइतबार र बुधबारमात्रै बोर्डको कार्यालयमा सदस्य सचिवको हैसियतमा आउने गर्नु भएकी क्षेत्रिय सहरी विकास आयोजनाको आयोजना उपनिर्देशक प्रतिज्ञा मानन्धरले बोर्डका कामहरु सुस्त गतिमा हाँकिरहनु भएको छ । आयोजनाका सुरुवाती चरणमा सक्रिय रहनु भएको तत्कालीन बनेपा नगर विकास समितिका अध्यक्ष रबिन शाक्य भन्नुहुन्छ, ‘खानेपानी बेलैमा आउन नसक्नुमा बोर्डले उच्च तहको आफ्ने कर्मचारी राख्न नसक्नु प्रमुख कारण हो । विभागमा ‘वर्क लोड’ अधिकतम भएको कर्मचारीलाई सदस्य सचिव राख्दा समय दिन नसकेकै कारण धेरै कुरा ‘पेण्डिङ’ देखिन्छ, ‘फलो अप’ हुनु पर्ने कुरा हुन नसकेको देखिन्छ । यस्तै, बोर्डमा नगरपालिकाबाट आएका कर्मचारीहरुले पनि पर्याप्त समय दिन नसक्दा धेरै समस्याहरु निम्तेको छ । अब नयाँ बन्ने बोर्ड प्रभावकारी हुनुपर्छ । अब अध्यक्षमा बनेपा र पनौतीका मेयरले पालैपालो नेतृत्व हुनुपर्छ । मनोनित सदस्यमा भागबण्डा भन्दा पनि क्षमता र कार्यशैलीका आधारमा हुनुपर्छ । बोर्डको नियमावली चाँडोभन्दा चाँडो स्वीकृत गराएर कार्यकारी निर्देशक नियुक्त भएन भने अब पनि यस्तै ढिलाई हुनेवाला छ’, उहाँले सुझाव दिनु भयो । बनेपाका मेयर शान्तिरत्त्न शाक्यले ६ महिनाभित्रमा एकीकृत खानेपानी खुवाउने प्रतिबद्धता गरिसक्नु भएको अवस्था छ ।
पहिलो चासोःपनौतीका नवनिर्वाचित नगर प्रमुख रामशरण भण्डारीले पनौती–७, सिरानचौरस्थित नेपाल खानेपानी संस्थानको खानेपानी प्रणालीको अवलोकन गर्नुहुँदै काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डले जडान गरेको फिल्टर सञ्चालनसहित एकीकृतको खानेपानी प्रवाह गर्न पनौती बजारको खानेपानी समस्या समाधानका निम्ति क्रियाशीलता देखाउनु भएको छ । (फोटोः रुपक महतको फेसबुक पेज)
यसैवीच, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौती वडा नं ७, सिरानचौरमा रहेको नेपाल खानेपानी संस्थानको वितरण प्रणालीको निरीक्षण गर्नु भएको छ । पनौतीमा जेठ पूर्णिमाका दिन लाग्ने जात्रा अगावै एकीकृत खानेपानीको मेन लाइनबाट सो प्रणालीमा खसालिएको पानीलाई फिल्टर गरेर सो वडाभरि वितरण गर्ने तयारी रहेको छ । यसका लागि बोर्डले फिल्टर जडान गरिसकेको अवस्था छ । बिजुलीको महसूल बोर्डले या संस्थान कसले भुक्तानी गर्ने भन्ने विषयमा निर्णय हुन नसकेकाले सो फिल्टर यस अगाडि सञ्चालनमा थिएन । पनोती नगरपालिकाले महसुल भुक्तानी गर्ने भएपछि प्राधिकरणले टिओडी(टाइम अफ डे) मीटर स्वीकृत गरेकाले चाँडै नै फिल्टर सञ्चालनमा आउने र पनौती बजारले खानेपानी पाउने अवस्था बलियो बनेको छ । उता, बनेपामा पनि मेन लाइन टेष्टको नाममा यस अगावै देखि एकीकृत पानी खानेपानीकै प्रणालीमा खसालेर वितरण गरेको अवस्था रहेको छ । तर, बिडम्बना पनौतीको शहरीक्षेत्रबाहेकका बनेपा–पनौती सडक, पनौती–खोपासी सडकमा क्षति भएका वितरण प्रणालीका पाइप लाइन मर्मत नहुँदा खोपासी, भण्डारीगाउँ, ठाडोबाटो, बाँसघारी, सुब्बागाउँ, ढलमले, नैकिन्टारलगायतका पनौतीवासीले तत्काल खानेपानी नपाउने भएका छन् ।
आजको पलाञ्चोक साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस