बेथानचोकमा दलित एवं महिला सशक्तिकरण कार्यशाला सम्पन्न

  • २०८० अषाढ १६, शनिबार मा प्रकाशित ५ महिना अघि
  • १४६ पाठक संख्या

  • ढुंखर्क । बेथानचोक गाउँपालिका र दलित अधिकार तथा विकास केन्द्र नेपालको सहकार्यमा स्थानीय जनप्रतिनिधिहरुको सशक्तिकरण तथा कानुनी शिक्षा विषयक दुई दिवसीय पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगकी सदस्य मिनादेवी सोवले नेपालमा ऐतिहासिक कालखण्डदेखि केन्द्रिकृत, सामन्तवादी र राजतन्त्रत्मक शासन व्यवस्थाका कारण चौतर्फी उत्पीडन, शोषण र दमनमा परेका दलित, महिला तथा सिमान्तकृत समुदायको पूर्ण मुक्ति बिना लोकतान्त्रिक गणतन्त्र संस्थागत र दीगो हुन नसक्ने बताउनुभयो ।
    उहाँले आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक रुपमा पछाडि पारिएका दलित, महिला र सीमान्तकृत समुदायको बहुआयामिक सबलीकरण र सशक्तिकरण बिना समुन्नत, समावेसी र समतामूलक राज्य निर्माण हुन नसक्ने पनि जीकिर गर्नुभयो । त्यसका निम्ति तीनै तहका सरकारले पछाडी पारिएको वर्ग समुदायको उत्थानका निम्ति विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाई छ ।

    कार्यशालाको समापन गर्नुहुँदै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाले दलित, महिला एवं सीमान्तकृत समुदायको उत्थानका लागि समन्यायिक रुपमा अवसरहरुको वितरण गर्ने बताउनुभयो । दलित, महिला तथा सीमान्तकृत समुदायको आर्थिक सबलीकरण, सामाजिक एवं राजनीतिक सशक्तिकरण र शैक्षिक पहुँचको अभिवृद्धिका निम्ति उहाँहरुलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको र बजेटको सुनिश्चिता पनि त्यसै अनुरुप गरिने बताउनुभयो । बेथानचोक गाउँपालिकाको लक्ष्य मानवीय विकासमा पनि जोड दिने रहेको भन्दै समतामूलक तथा समावेशी विकासका निम्ति उहाँहरु आफैँ सचेत, जागरुक र सशक्त हुन आवश्यक धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा विश्व र नेपालको महिला आन्दोलनको संर्घर्षको ईतिहास विषयक कार्यपत्रमाथि आफ्नो प्रशिक्षण समेत प्रस्तुत गर्नुहुँदै बेथानचोक गाउँपालिका तारा राना तिमल्सिनाले नेपालको महिला आन्दोलन योगमाया न्यौपाने, मंगलादेवी सिंह, सहना प्रधान आदि महिलाहरुको उच्च त्याग, बलिदानी र योगदानबाट निरन्तर सफलतातर्फ उन्मूख हुँदै गैरहेको धारणा राख्नुभएको थियो । उहाँले गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा महिलाहरुको उत्थान, सबलीकरण र विकासमा प्राथमिकताका साथ जोडदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । समाजशास्त्री माधव तिमल्सिनाले समतामूलक तथा समावेसी विकासको अभ्यास र चूनौती विषयक कार्यपत्र पेश गर्नुहुँदै स्थानीय सरकारले विकासमा उत्पिडित वर्ग समुदायको समानता र पहुँच सुनिश्चित गर्न विशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले समतामूलक एवं समावेशी विकासमा मिडियाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँर्दै सत्यतत्य सूचनामाथि जनताको पहुँच नपुगेसम्म राज्यका कार्यक्रमहरुबाट सूसुचित हुन नसक्ने हुँदा त्यसले विकासमा अपेक्षित प्रतिफल दिन नसक्ने बताउनुभयो । त्यस्तै राष्ट्रिय दलित आयोगको विज्ञ सल्लाहाकार, दलित अधिकार तथा विकास केन्द्र नेपालका अध्यक्ष मेघेन्द्र बिश्वकर्माले लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात जातीय विभेद, अन्र्तजातीय विवाह र छुवाछुतको आवरणमा चौसट्ठी जना दलितहरुको हत्याभएको भन्दै दलित समुदायमाथिको ज्यादती बन्द गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गरिबी, भूमिहीनता, अशिक्षा, भोकमरी र अभाव झेलिरहेका दलित समुदायको मुक्तिबिना राजनीतिक दल र नेताहरुले परिकल्पना गरेको समृद्ध वा समुन्नत नेपालको तस्वीर निकै दुर रहेको बताउनुभयो । गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र अधिकारकर्मीहरु सहभागी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, प्रेस काउन्सिल नेपालका पूर्वसदस्य ईश्वरी ओझा, दलित अधिकारकर्मी विष्णु मिजार लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस