पत्रकार महासंघ काभ्रेको तला थपको लागि २० लाख विनियोजन

  • २०८० अषाढ ४, सोमबार मा प्रकाशित ५ महिना अघि
  • ४७ पाठक संख्या

  • नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवनको तला थपका लागि बागमती प्रदेश सरकारबाट बीस लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

    शुक्रबार बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को बजेट भाषणमा महासंघ काभ्रेपलाञ्चोक शाखाको भवनको तला थपका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

    नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले बागमती प्रदेश सरकारले महासंघको भवनको तला थपका लागि २० लाख रुपैयाँ विनियोजन भएकोमा आम काभ्रेली सञ्चारकर्मी खुशी भएको बताए ।

    उनले बजेट विनियोजन गर्न नेपाली काँग्रेस जिल्ला सभापति तथा प्रदेश खानेपानी, उर्जा तथा सिँचाइँ मन्त्री तीर्थ लामालगायत सबै निकायलाई धन्यवाद ज्ञापन गरे ।

    नेपाल पत्रकार महासंघको राष्ट्रिय तालिम केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले काम शुरु गरेपछि बनेपा नगरपालिकाले बनेपा नगरपालिका–६ बुडोलमा ६ आना जग्गा प्रदान गरेको थियो ।

    महासंघले आर्थिक वर्ष २०६५–०६६ देखि भवन निर्माणको काम शुरु गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस