काभ्रे क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा विजयी भएका छन् ।
उनले ४५ हजार ३ सय ४५ मत प्राप्त गरे भने नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँ ५ हजार ८ सय ६३ मतान्तरले पराजित भए । हुमागाईँले ३९ हजार ४ सय ८२ मत प्राप्त गरे ।
को हुन बाँस्कोटा ?
नेकपा एमालेको पोलिटब्युरो सदस्य र काभ्रे जिल्ला इन्चार्ज रहेका बाँस्कोटा २०२३ सालमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ मा जन्मनु भएका बाँस्कोटाले डेडीथुम्का उच्च माविबाट एसएलसी, रत्नराज्य बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह तथा रत्न राज्य क्याम्पसबाटै कला र साहित्यमा स्नातक उत्तीर्ण गरेका छन् ।
२०३८ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएका बाँँस्कोटा २०४३ सालमा अनेरास्ववियुको जिल्ला सचिव र २०४५ सालमा जिल्ला अध्यक्षमा निर्वाचित भए । २०४५ सालमै युवा संघको सदस्य बन्नुभएका बाँस्कोटा २०४७ सालदेखि २०५० तथा २०५४ देखि २०५८ सालसम्म नेकपा एमाले काभ्रेको जिल्ला कमिटी सदस्य भए ।
यस्तै २०५३ सालदेखि २०५९ सालसम्म काभ्रे काठमाण्डौ सम्पर्क मञ्च जिल्ला कमिटीको सचिव बने भने २०५९ देखि २०६३ सम्म एमाले जिल्ला कमिटी काभ्रेको सहसचिव तथा २०६४ देखि २०६६ सम्म जिल्ला कमिटीको सचिव भए ।
२०६७ देखि २०७१ सम्म दुई कार्यकाल नेकपा एमाले जिल्ला कमिटीको अध्यक्ष बन्नुभएका बाँस्कोटा यसअघि एमाले केन्द्रीय सदस्य रहँदै पोलिटब्युरो सदस्य छन ।
पत्रकारिता क्षेत्रमा पनि स्थापित बाँस्कोटा प्रेस चौतारी नेपालको संस्थापकसमेत हुन । लामो समय मिडिया क्षेत्रमा सक्रियतापूर्वक काम गरेका उनी विभिन्न साप्ताहिक पत्रपत्रिकाहरूमा प्रमुख सम्पादक, कार्यकारी सम्पादक, समाचारदाता भएर काम गरे । २०५१ सालदेखि २०५२ सालसम्म रेडियो नेपालको कार्यक्रम घटना र बिचारमा पनि बाँस्कोटाले गरेका थिए ।
२०७४ चैत २ गतेदेखि २०७५ वैशाख १७ गतेसम्म सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहँदै २०७५ वैशाख १८ गतेदेखि २०७६ फागुन ८ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्री बने । बाँस्कोटाले केही समय सहरी विकास मन्त्रीको रूपमा पनि कार्यभार सम्हाले ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको बार्गेनिङ अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस