काभ्रेका बौद्धिक समूहको अपिल– संविधानको रक्षा र सुशासनको लागि लोकतान्त्रिक–वाम गठबन्धनलाई भोट

Post Thumbnail
  • २०७९ कार्तिक २६, शनिबार मा प्रकाशित २ साल अघि
  • २३६ पाठक संख्या

  • काभ्रेमा क्रियाशिल बौद्धिक समूहले संविधानको रक्षा र सुशाशनको लागि यसपटक लोकतान्त्रिक–बाम गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।

    शनिवार बनेपामा सम्पन्न प्राध्यापक, शिक्षक, कानुन व्यवसायी, इञ्जिनियर, पूर्व कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका बौद्धिक समूहको भेलाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक–बाम गठबन्धनका ‘स्वच्छ छवि भएका, उर्जाशिल, अनुभवी तथा विकासप्रेमी’ उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको हो । प्रजातन्त्रवादी प्राध्यापक संघ बाग्मती प्रदेशका सहसंयोजक माधवप्रसाद तिमल्सिना, काभ्रे जिल्ला अध्यक्ष भोला केसी, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरीले हस्ताक्षर गरी जारी गरेको अपिलमा लोकतान्त्रिक शक्ति र बामपन्थी दलहरुको सक्रिय संलग्नताले सात दशकको अथक प्रयासको परिणाम स्वरुप संविधानसभामार्फत प्राप्त संविधान पटक–पटक मिचेर निहित स्वार्थ पूरा गर्ने दुष्प्रयासका विरुद्ध लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुबीच गठबन्धन हुनुपर्ने समसामयिक आवश्यकतालाई मध्य नजर गर्दै बृहत एकताका साथ अघि बढिरहेको गठबन्धनप्रति बौद्धिक समूहको समर्थन रहेको जनाइएको छ ।

    ०७४ सालमा निर्वाचित सरकारले करिब दुईतिहाईको हाराहारी मत प्राप्त गरेता पनि २÷२ पटक प्रतिनिधि सभा भंग गर्ने प्रयास गरी जनमतको अपमान गरेको समेत बताए । काभ्रेली मतदाताले अपार भरोसा गरी नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यले मतदाताको शीर झुक्ने गरी भ्रष्टाचारको मिलेमतो (सेटिङ्ग) मा संलग्न भएको सुन्नुपर्दा बौद्धिक वर्ग लज्जित भएको उल्लेख गरेका छन्।

    लोकतान्त्रिक शक्ति र बाम गठबन्धनले अब संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका बहुलबादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, आधारभूत मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको सम्बद्र्धन गर्न सक्छ भन्ने अपेक्षा सहित लोकतान्त्रिक समाजवाद उन्मुख सम्मुनत नेपाल निर्माण गर्ने तर्फ देशलाई अघि बढाउन गठबन्धन सक्षम हुनेछ विश्वास समेत व्यक्त गरिएको छ ।

    भेलामा उपस्थित काभ्रे क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईले आफूलाई सबै क्षेत्रको साथ, सहयोग भएको भन्दै बौद्धिक समूहको समर्थनले थप उत्साहित भएको बताए । बौद्धिक समूहले अनियमितता, भ्रष्ट्राचारमा संलग्नलाई समर्थन नगर्ने भन्दै आफू निर्वाचित भएपछि काभ्रेली मतदाताको शिर उच्चो राख्ने गरी काम गर्ने बताए ।

    कार्यक्रममा प्रदेश सभा क्षेत्र नं २ (क) का उम्मेदवार लक्ष्मण लम्साल, २ (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे, नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपाल, नेकपा एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, बागमती प्रदेश समानुपातिक उम्मेदवार सुरकृष्ण बैद्य, कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्याल, काभ्रे सेवा समाजका अध्यक्ष नारायण महत, प्राध्यापक भोेला केसी, क्याम्पस प्रमुख केजी बैदार, इश्वरी ओझा, माधवप्रसाद तिमल्सिना, राजेशराज महत, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरी लगायतले संविधानको रक्षा, भ्रष्टाचारमुक्त समाज र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउनुपर्ने तर्क गरे ।

    प्रतिक्रिया दिनुहोस