काशिभञ्ज्याङमा साईक्लिङ संगै वृक्षारोपण

Post Thumbnail
  • २०७९ अषाढ २५, शनिबार मा प्रकाशित २ साल अघि
  • ३८१ पाठक संख्या

  • राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा बनेपा नगरपालिका वडा ३ स्थित काशिभन्ज्याङ क्षेत्रमा साईकल र्याली सहित बिरुवा रोपण सम्पन्न भएको छ।

    देशभरका ६२ जना साइकल यात्री तथा प्रकृतीप्रेमी नागरिकको उपस्थितिमा जय संस्कृती, जय प्रकृति भन्ने मुल नारा लिएर साइकल र्यालीसंगै बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

    राजानन्द माण्डव्यको सभापतित्व एवं संयोजन, जिल्ला समन्वय समिती काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम तथा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको विशिष्ट आतिथ्यतामा बनेपा नगर पालिका कार्यालय बाट साइकल यात्रा सुरु भएर काशिभञ्ज्याङ पुगेर वृक्षारोपण गरिएको थियो ।

    बनेपा वडा ३ अध्यक्ष रमेश दाहाल, राजनीतिक नेता भेषराज शाह, विश्व साइकल यात्री पुष्कर शाह, साइकल यात्री अजित बराल सहित काशिभन्ज्याङ युथ क्लबका अध्यक्ष उद्धब बजगाई लगायत काठमाडौ, भक्तपुर र ललितपुर देखि उपस्थित साइक्लिस्टहरुको बिच काशीभन्ज्याङ क्षेत्रमा वृक्षारोपण भएको राजानन्द माण्डब्यले जानकारी दिए ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमख गौतमले यस्ता सामाजिक तथा बाताबरण संरक्षण अभियानहरुले हाम्रा आउने पुस्तालाई राम्रो संदेश जाने तथा जनप्रतिनिधि भएर आएपछी आगामी ५ वर्ष के कसरी जिल्लालाई उत्कृष्ट बनाउने भन्नेमा सोच्न आवश्यक भएको जानकारी दिए । बनेपा नगरका प्रमुख शाक्यले साइकल यात्रा सहित बिरुवा रोप्ने कार्यक्रममा आएका साइकल यात्रीलाई धन्यवाद दिदै बनेपाको पर्यटन प्रवर्द्धनमा हातेमालो गर्न अनुरोध गरे ।

    माण्डब्यले २०६४ सालवाट बन्द भएको टान संस्थाको साइकल यात्रा संगैको बृक्षारोपण कार्यक्रम १५ वर्षपछी पुन आफुले निरन्तरता दिन पाएकोमा र आफ्नै गाउँमा पर्यटक ल्याउन पाएकोमा खुसी ब्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस