राष्ट्रपति विद्यादेवी भण्डारीले बनेपा–७ निवासी समाजसेवी शेषनारायण श्रेष्ठलाई ‘स्थापित समाजसेवी एवं व्यवसायी’ का रुपमा सम्मान गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब्स इन्टरनेसनल ३२५ ए१ ले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा श्रेष्ठ सम्मानित हुनु भएको हो ।
श्रेष्ठ नेपाल अटोमोबाइल डिलर्स एसोसियसन (नाडा) का संस्थापक सदस्य हुनुहुन्छ । यस्तै बनेपास्थित आजाद माध्यमिक विद्यालयको एसएलसी २०३९ पूर्व विद्यार्थी समूहका सदस्यसमेत रहनु भएका उहाँले समूहका तर्फबाट विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोगमा मद्दत गर्नु भएको थियो । यस्तै विभिन्न सामाजिक कार्यक्रमहरुमा संलग्न श्रेष्ठले सामुदायिक विद्यालयहरुमा वितरण गर्दै आउनु भएका शैक्षिक सामग्रीहरुलाई उल्लेख्य सहयोग मानिन्छ ।
कार्यक्रममा श्रेष्ठसँगै समाजसेवीहरु नन्दकिशोर राठी, मुकुन्दराज पाण्डेलाई पनि राष्ट्रपति भण्डारीले सम्मान गर्नु भएको थियो । सो अवसरमा नेपाली लायन्सका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो । यस्तै प्रजातन्त्र ल्याउन १ सय तोला सुन दिएर सहयोग गर्नुभएकी इन्दुदेवी नौखलाई पनि सो अवसरमा राष्ट्रपति भण्डारीले सम्मान गर्नुभयो । सोही अवसरमा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । वृत्तचित्रमा आखाँ अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालयको पुननिर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी ब्लड बैंक स्थापना गर्ने तयारी भइरहेको जस्ता विषय समेटिएका थिए ।
आयोजक लायन्स क्लब ३२५ ए १ का गभर्नर रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आगामी दिनमा पनि प्रयास जारी रहने बताउनुभयो । नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्वर्गीय मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा लायन्स क्लबको स्थापना भएको थियो । कार्यक्रममा लायन्स अन्तराष्ट्रियका एलसिआईएफ एरिया लिडर, लायन बालकृष्ण बुर्लाकोटी, काउन्सिल चेयरपर्सन लायन मन रोकालगायतले समेत स्वास्थ्य, शिक्षा र प्राकृतिक विपदका क्षेत्रमा नेपालका लायन्स क्लबहरुले गरेको योगदानबारेमा चर्चा गर्नु भएको थियो । अहिले नेपालमा करिब २ हजार भन्दा बढी लायन्स क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबहरुको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । यस्ता क्लबहरुले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस