‘महिला उद्यमशीलता विकास’ अन्तर्गत बनेपा नगरपालिकाको आयोजना र वडा नं ७ को कार्यालयको सहजीकरणमा ६ दिन अवधिको बेकरी तालिम सुरु भएको छ । तालिम नेशनल एकेडेमी अफ कुलिनरी एण्ड हस्पिटालटी म्यानेजमेन्ट (नाचम) मा सुरु भएको छ ।
तालिमको वडा नं ७ का अध्यक्ष हिटलर शाक्यले शुभारम्भ गरे । शाक्यले आफूहरु निर्वाचित भइ आएलगत्तै महिला लक्षित कार्यक्रमको थालनी गर्न पाएकोमा खुशी व्यक्त गरे । वडा सदस्य रामप्यारी श्रेष्ठले तालिमका सहभागी महिलाहरुलाई तालिम अवधिभर राम्रोसँग सिक्न र तालिमपछि स्वरोजगार बन्नका लागि सुझाव दिईन ।
नाचमका अध्यक्ष रमेश श्रेष्ठले पछिल्लो समय ‘होम बेकरी’ को प्रचलन फस्टाउँदै गएको र साना–साना व्यवसायका रुपमा घरमै पनि गर्न सकिने भएकाले यसमा आकर्षण बढेको बताए । नाचमले विद्यार्थीहरुका अलावा गृहिणीहरु लक्षित गर्दै छोटो अवधिका बेकरी, बारिष्टालगायतका तालिमहरु सञ्चालन गर्दै आएको उल्लेख गरे ।
उनले भने, ‘बनेपामै उच्चस्तरको तालिम र विकासको माध्यमबाट हस्पिटालिटी र कुलिनरी आट्र्सका लागि नेशनल एकेडेमी अफ कुलिनरी एण्ड हस्पिटालटी म्यानेजमेन्ट (नाचम)को उल्लेख्य पहल रहँदै आएको छ । यसले युरोस्किल र लिंकन युनिभर्सिटी कलेजसँग सम्बद्धता मार्फत कुलिनरी र होटल व्यवस्थापनमा व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्दै आएको छ । हामीले सामाजिक संघ संस्थाहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौं भने स्थानीय सरकारसँग मिलेर लक्षित समुदायलाई तालिम पनि प्रदान गर्दै आएका छौं । बेकरी तालिम पनि बनेपा नगरपालिकासँग मिलेर आयोजना गरेको एक उदाहरण हो’, श्रेष्ठले थपे ।
तालिमकै सहभागी एवं लायन्स क्लब अफ टेम्पल चण्डेश्वरीकी अध्यक्ष अल्का जोशी श्रेष्ठले नगरपालिकाले बनेपाका शहरी महिला लक्षित गर्दै आयोजना गरेको तालिमले सहभागी महिलाहरुलाई भविष्यमा उद्यमी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । वडा नं ७ क्षेत्रका ३१ जना महिलाहरु सहभागी रहनु भएको बेकरी तालिम जेठ ३० गते सोमबार समापन हुँदैछ । उता, सोही वडा कार्यालयको संयोजनमा बनेपा नगरपालिकाले ६ दिने लप्सी क्याण्डी(पाउँ) बनाउने तालिम सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस