पनौती नगरपालिकाको स्थानीय निर्वाचनमा गठन भएको नेपाली काँग्रेस निर्वाचन मुल परिचालन समितिले वुधवार एक कार्यक्रम आयोजना गरि निर्वाचनमा खटिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा निर्वाचनमा सहयोग गर्ने समिति, संचारकर्मी लगायतलाई धन्यवाद सहित कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली काग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले पनौती नगरमा नेतृत्व गर्ने पहिलो अवसर जुटाई दिएकोमा मतदाताहरुलाई धन्यबाद दिए । काँग्रेसका जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरीले यस अघि पनौती नगरपालिका तानाशाही रुपमा चलेको र एमालेको भर्ति केन्द्र बनेको भन्दै अब नवनिर्वाचित भण्डारीले मेयरमा निहित अधिकार सबै प्रयोग गरि यसलाई रोक्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा मुल समितिका संयोजक भोला थापाले पनौती नगरमा बहुमतको आडमा विगतमा धेरै अनियमितता भएको कुराहरु बाहिर आइरहेकोले नव निर्वाचित नगरप्रमुख लगायतले यस कुरामा पनि ध्यान पुर्याउनु पर्ने बताए । राम्रो काम गर्न सबै पनौतीवासीको साथ रहने भन्दै संयोजक थापाले नवनिर्वाचित नगर प्रमुख भण्डारीलाई निडर भएर लिडरको भुमिका निभाउन आग्रह गरे ।
कार्यक्रममा पनौती नगरपालिकाका नवनिर्वाचित प्रमुख रामशरण भण्डारीले पनौतीको समग्र विकासको लागि सबै दलसंग समन्वय गरि अघि बढ्ने बताए । उनले पनौतीलाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने सोचका साथ अघि बढ्ने भन्दै नेतृत्वले गरेको निर्णय कार्यान्वयनमा सबै जनप्रतिनिधिहरुले एकजुट हुने वातावरण बनाउन आफ्नो प्रयत्न जारी रहने बताए ।
कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, निर्वाचन परिचालन समितिका सदस्य शरद भण्डारी, महिला नेतृ अन्जु रञ्ज्ति लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम निर्वाचन परिचालन मूल समितिका सचिव रुपक महतले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस