नमोबुद्ध नगरका नवनिर्वाचितहरुलाई शपथ

Post Thumbnail
  • २०७९ जेष्ठ ११, बुधबार मा प्रकाशित १ साल अघि
  • ७३४ पाठक संख्या

  • नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

    नगर प्रमुख कुनसाङ लामाले काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग जिल्ला अदालत धुलिखेलमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए भने त्यसलगत्तै नमोबुद्ध नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख लामाले नवनिर्वाचित उपप्रमुख रत्न लामा, ११ वटै वडाका वडाअध्यक्ष एवं वडा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

    प्रतिनिधिसभा सांसद गंगावहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित उपप्रमुख, वडाअध्यक्ष एवं वडा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरुलाई नमोबुद्ध नगरपालिकाका निर्वाचन अधिकृत बिष्णु ज्ञवालीले प्रमाणपत्र वितरण गरेका थिए ।

    कार्यक्रममा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नमोबुद्ध नगरपालिकामा निर्वाचित भएर हालै कार्यकाल पुरा गरेका निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगावहादुर तामाङले चुनावी प्रतिवद्धताअनुसार काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिए । नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले आफूहरुले चुनावका लागि मात्रै नभई विकासका लागि गठवन्धन गरेको र सबै दलसँगको सहमति र सहकार्यमा समृद्ध नमोबुद्धको सपना साकार पार्ने बताए । कुनै पनि पक्षसँग पुर्वाग्रह नराखी बुद्ध बचनलाई शीरमा राखेर आफूले काम गर्ने प्रतिवद्धता पनि उनले जनाए । कार्यक्रममा पूर्व राज्यमन्त्री सूर्यमान दोङ, संविधानसभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा, मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराई, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल, राप्रपाबाट नगर प्रमुख पदका उम्मेदवार नवराज सत्याल, नेकपा एमालेबाट नगर उपप्रमुख पदका उम्मेदवार सम्झना लामा, नेकपा एसका जिल्ला सचिव दीपक गौतम, निवर्तमान नगर प्रमुख टिपी शर्मा तिमल्सिना, निवर्तमान उपप्रमुख रामदेवी तामाङ लगायतले मन्तव्य राखेका थिए ।

    नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रम वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस