नेपाली काँग्रेस बनेपा नगर समिति आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा होमिएको छ ।
विहिबार बनेपामा नेपाली काँग्रेस बनेपाले आयोजना गरेको पत्रकार सम्मेलनमा आफुहरु एक मनका साथ निर्वाचनमा होमिने बताएको छ।
पत्रकार सम्मेलनमा बनेपामा मेयर र उपमेयर पदका आकांक्षीहरुले नेपाली काँग्रेसको उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताए । कांग्रेसभित्र एकता छैन भनेर विपक्षीहरूले हल्ला फैलाएकोले बनेपा काँग्रेसले आजको भेला गरेर एक जुट भएको पुष्टि गरेको बनेपा नगर सभापति महेश कर्माचार्यले जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेशका महामन्त्री कञ्चानचन्द्र बादेले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सबैलाई अपीलगरे । काभ्रेमा सबै दललाई हैसियत अनुसार सिट बाँडफाँड भएको तथा वडा तहमा पनि आवश्यकताको आधारमा गठबन्धन हुने वादेको भनाई थियो ।
कार्यक्रममा मेयरका आकांक्षीहरु प्रचण्डराज प्रधान, कृष्णगोपाल भैल, सुरकृष्ण बैद्य, सरस्वती बैद्य लगायतले बनेपा काँग्रेसमा कुनै गुट नभएको बताउँदै गठबन्धन उम्मेदवार जिताउन एक भएर लाग्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा बनेपा नगरपालिकाका मेयरका उम्मेदवार शान्ति रत्न शाक्यले सडक, खानेपानी, सरसफाइ, फोहोरमैला, शिक्षा, स्वास्थ्य जस्ता विषय प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस