नमोबुद्ध नगरपालिका काभ्रेपलाञ्चोकको महिला, बालवालिका र समाजकल्याण शाखाद्वारा दुई चरणमा यहाँ आयोजित महिलाहरूका लागि नेतृत्व विकास तालिम फागुन १९ गते सम्पन्न भएको छ ।
तालिमको शुरुवात गर्दै नगर प्रमुख टंकप्रसाद शर्माले अझै समाजमा महिला र पुरुषबीच विभेद कायमै रहेपनि नमोबुद्धमा महिलाहरूको अवस्थामा परिवर्तन आएको बताए । उनले तालिम तालिमका लागि मात्र नभएर सिकेका कुरालाई व्यवहारमा उतार्नका लागि अनुरोध गरे ।
नमोबुद्ध नगर उपप्रमुख रामदेवी तामाङले राजनीति सुन्नै नहुने कुरा नभएर मुख्य नीति भएकाले ग्रामिण महिलाहरु राजनीतिमा आउनुपर्नेमा जोड दिईन । उनले महिलाहरूलाई असल आमा बन्नसक्नु महिलाहरूका लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेको बताईन । तालिम उद्घाटनमा प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले नेतृत्व गर्नु र राजनीति गर्नु फरक कुरा रहेकोले ग्रामिण महिला नेतृत्वमा आउनुपर्ने उल्लेख गरे । कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष उद्धबप्रसाद काफ्लेले तालिम सफलताको शुभकामना व्यक्त गरे ।
तालिममा नेतृत्व अवधारणा, गुण र सिप, सामाजिक संरचना र सामाजिक बहिष्करण, दृष्टिकोण र बानी व्यवहारमा परिवर्तन, संस्थागत सुशासन र संचार सिपका विषयमा मानवअधिकारकर्मी भोजराज तिमल्सिना, राजनीति र निर्वाचन प्रणालीका विषयमा प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, क्षमता विकास, वकालत र पैरवी विषयमा महिला विकास शाखाकी प्रमुख तारादेवी सुनुवार र प्रभावकारी सार्वजनिक भाषण तथा उद्घोषण कलाका विषयमा चर्चित रेडियोकर्मी शुभराज अधिकारीले तालिम दिएका थिए ।
पहिलो तालिम २०७८ फागुन १० देखी १३ गतेसम्म ४ दिन र दोस्रो तालिम २०७८ फागुन १६ देखी १९ गतेसम्म गरी जम्मा ८ दिन संचालन भएको थियो । पहिलो तालिममा वडाबाट सिफारिस भएका विभिन्न राजनीति पार्टीका अगुवा २६ जना र दोस्रो तालिममा विभिन्न वडाका महिला संस्थाबाट छनौट गरिएका ३८ जना अगुवा महिला गरी ६४ जनाको सहभागिता थियो । समूह कार्य, छलफल, प्रस्तुती, प्रश्नोत्तर, लघु प्रवचन, खेल र गाउँकी छोरी बृतचित्र प्रस्तुती लगायत माध्यमबाट तालिम दिइएको थियो । सहभागि महिलाहरूले तालिम उत्कृष्ट भएको विचार समापन समारोहमा बताएका थिए ।
प्रतिक्रिया दिनुहोस