बनेपा/दशैंको फुलपातीदेखी देशभर प्रदर्शनमा रहेको नेपाली कथानक चलचित्र माईतीघरका कालाकारहरुले दर्शकहरुको प्रतिक्रिया लिनका लागि बनेपाको शुभकामना सिनेमा हलमा आएका छन । चलचित्रको प्रमोशन लागि कलाकार केदार प्रसाद घिमिरे लगायतका कलाकारहरुको टिम चलचित्रका बारेमा दर्शकको प्रतिक्रिया बुझ्नका लागि शुभकामना हलमा आएका हुन।
प्रदर्शन मितिदेखिनै देशभर उत्साहजनक व्यापार गर्दै आएको चलचित्र माइतीघरका कलाकार केदार प्रसाद घिमिरे बनेपाको शुभकामना हलमा पुग्दा दर्शकहरुमा उत्साह छाएको थियो । चलचित्रको शो हाउसफुल भएको देखेर अभिनेता घिमिरेले सबैलाई जय दर्शक भन्दै सेल्फी लिएका थिए भने माग्नेबुढालाई प्रत्यक्ष रुपमा भेट्न पाउँदा दर्शकहरु समेत दंग देखिएका थिए ।
दर्शकहरुको अपार माया र आर्शिवादले नै चलचित्र सफल भएको बताउनु हुुँदै कलाकार घिमिरेले सबै दर्शकहरुलाई धन्यवाद दिँदै दर्शकहरुसंग खुशी साटासाट गर्नु भएको थियो । चलचित्र प्रति दर्शकहरुबाट सकरात्मक प्रतिक्रिया पाईरहेको कलाकार घिमिरे बताउनु भयो ।
पछिल्लो समय नेपाली फिल्मको प्रमोशनका लागि कलाकार तथा निर्माण टिम बनेपा आउन थालेका छन । कलाकारहरु आउने भए पछि फिल्मप्रतिको दर्शक उत्साह झल्किने गरेका शुभकामना सिनेमा हलका संचालन दुर्गालाल प्रधानले बताउनु भयो ।
रोहित अधिकारी फिल्मस प्रा लिको ब्यानरमा रोहित अधिकारीको लगानी तथा मिलन तामांगको निर्देशन रहेको उक्त चलचित्रमा धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, केदार प्रसाद घिमिरे लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको छ । तामाङ समुदाय र संस्कृतिलाई झल्काएको चलचित्रले पारिवारीक द्वन्द र प्रेमका लागि गरिएको संघर्षको बारेमा चित्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस