काभ्रेमा “तीज जोडी फोटो प्रतियोगिता–२०८२” हुने

  • २०८२ श्रावण ११, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ३९४ पाठक संख्या

  • काभ्रे । काभ्रेमा तीज जोडी प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेस काभ्रेको सांस्कृतिक शाखाले “तीज जोडी फोटो प्रतियोगिता–२०८२” आयोजना गर्न लागेको हो ।
    हरितालिका तीजको अवसर पारेर साउन १२ गतेदेखि सुरु हुने प्रतियोगिता भदौ २ गतेसम्म सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक विवाहित जोडिहरूले आयोजकको फेसबुक पेज लाइक गर्नुपर्नेछ । पठाइने फोटो स्पष्ट, सभ्य र परम्परागत नेपाली तीज पोशाकमा खिचिएको हुनुपर्नेछ । सहभागी हुन इच्छुक जोडीको फोटो फेसबुक पेजको मेसेज बक्स वा ह्वाट्स एप नम्बर ९८४३५७४०३९ मा पूरा नाम, थर र ठेगाना सहित पाँच सय रूपैया शुल्क बुझाई सहभागिता सुनिश्चित गर्नु पर्ने आयोजकले जनाएको छ ।
    प्रतियोगितामा प्रथम हुने जोडीलाई नगद रु १५ हजार, सम्मानपत्र, शुद्ध मह १ माना, शुद्ध घ्यू १ माना, फिल्मको २ वटा भिआपि टिकेट, दोस्रो हुनेलाई नगद १० हजार, सम्मानपत्र, शुद्ध मह १ माना, शुद्ध घ्यू १ माना, फिल्मको २ वटा भिआपि टिकेट र तेस्रो नगद ५ हजार, सम्मानपत्र, शुद्ध मह १ माना, शुद्ध घ्यू १ माना, फिल्मको २ वटा भिआपि टिकेट प्रदान गरिने छ ।
    प्रतियोगिताका टप २५ मा पर्ने सबै २५ जोडीलाई प्रमाणपत्र सहित विशेष होटलमा सम्मान तथा भोज कार्यक्रम आयोजना गरिनेछ । यस्तै शुभकामना सिनेमा हलको सहकार्यमा गोला प्रणालीमार्फत १० जोडीलाई २० वटा भिआपी टिकेट वितरण गरिने आयोजकले जानकारी दिएको छ ।
    आयोजकका अनुसार प्रतियोगिता साउन १२ गते सोमबार दिउँसो १२ बजेबाट सुरु भई एक महिनासम्म नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आधिकारिक फेसबुक पेजमा सञ्चालन हुनेछ । मौलिक नेपाली पहिरनमा सजिएका विवाहित जोडीहरूले सहभागिता जनाउन पाउने यो कार्यक्रमले सांस्कृतिक जरा मजबुत बनाउने लक्ष्य लिएको छ ।
    कार्यक्रम संयोजकका अनुसार, आधुनिकता र फेसनको भीडमा हराउँदै गएको मौलिक नेपाली पहिचानलाई पुनर्जीवित गर्दै तीज पर्वको सामाजिक पक्षलाई उजागर गर्न यो प्रतियोगिता सशक्त माध्यम बन्नेछ । विशेषगरी विवाहित महिलाहरूको सहभागिता, परम्परा र पहिरनलाई जोड दिनेगरी यो प्रतियोगिता सार्वजनिक गरिएको हो ।
    नेपाली कला, संस्कृति र मौलिक चाडपर्वको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित संस्कृति संरक्षणसँगै सामाजिक एकता र सौहार्दता अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागिएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस