बागमती प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लाहरुका लागि एउटै किसिमको कार्यविधि र मापदण्ड तयार गरेका कारण चालु आर्थिक वर्षका लागि जिल्लामा आएका केही योजनाको सञ्चालन गर्न कठिनाई भएको छ । कार्यविधि अनुसारको न्यूनतम मापदण्ड नभएका कारण चालु आर्थिक वर्षमा पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले कार्यान्वयन गर्ने आधा दर्जन कार्यक्रम सञ्चालन हुन नसकेका हुन् ।
कार्यालयकी प्रमुख डा. सृजा वाग्लेले प्रदेश सरकारले तयार गरेको कार्यविधि र मापदण्ड पुरा गर्न नसक्ने अवस्था नभएका कारण चालु आवका आधा दर्जन कार्यक्रम कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । उहाँले यस वर्ष जिल्लाको पनौती नगरपालिका–१ का लागि समुदायमा आधारित ‘एक वडा, एक कृषि कार्यक्रम’को लागि बजेट विनियोजन भएपनि दुई पटक सुचना जारी गर्दा समेत कुनै आवेदन नपरेका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो ।
यस्तै पशुपन्छी तथा मत्स्य उद्यमशिलता विकास कार्यक्रम अन्र्तगत २८ वटा साझेदार संस्थासँग काम गर्नुपर्ने भएपनि जम्मा १३ वटा साझेदार संस्थासँग मात्रै योजना सम्झौता भएको बताउनुभयो । “यस कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केको, व्यवसाय दर्ता, नविकरण भएको, कर चुक्ता गरेकोलगायतका मापदण्ड रहेपनि १३ वटा साझेदार संस्था बाहेक अरुले उक्त मापदण्ड पुरा नगरेकोले २८ वटामध्ये १३ वटाको मात्रै काम हुने भयो” डा. वाग्लेले भन्नुभयो । यसैगरी चालु आवका लागि बङ्गुर प्रवद्र्धनका चार वटा कार्यक्रमको लागि बजेट विनियोजन गरिएपनि एउटाले मापदण्ड पुरा नगरेकोले एउटा कार्यक्रम कार्यान्वयनमा ल्याउन नसकिने कार्यालयले जनाएको छ ।
“बङ्गुर प्रवद्र्धन कार्यक्रमका लागि २० वटा माउ बङ्गुर रहनुपर्ने प्रावधान छ, हामी बङ्गुर फार्मको अवलोकन गर्ने क्रममा बङ्गुर त पायौँ तर माउ बङ्गुरको न्यूनतम सङ्ख्या नपाएका कारण एउटा कार्यक्रम कार्यान्वयन गर्न सकिएन” कार्यालय प्रमुख डा. वाग्लले भन्नुभयो । यस्तै कार्यालयले दुग्ध उत्पादन बृद्धि कार्यक्रम (दुध जोन) अन्र्तगत ८० जना किसानको लागि औजार, उपकरण र गोठ सुधारका लागि अनुदान उपलब्ध गराउने कार्यक्रम रहेपनि १६ जना किसानले उक्त कार्यक्रम सम्झौता गर्न आएका छैनन् । दुई वर्षसम्म उक्त कार्यक्रम अन्र्तगत गाई, भैसी खरिद गर्न पाउने प्रावधान रहेपनि चालु आवमा उक्त प्रावधान हटाएर औजार, उपकरण र गोठ सुधार गर्नुपर्ने बनाएपछि उक्त अनुदान लिन किसानहरु नआएको कार्यालयले जनाएको छ । किसानको माग गाई, भैसी खरिदमा रहेको र उपकरण र गोठ सुधारमा नभएकोले १६ किसानले उक्त कार्यक्रमका लागि छनौट भएपनि सम्झौता नगरेका हुन् ।
त्यसैगरी चालु आवको लागि सङ्घीय सशर्त कार्यक्रम अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत जिल्लाको पनौती नगरपालिकामा बङ्गुर ब्लक विकास कार्यक्रम (निरन्तरता) भएपनि मापदण्डका कारण उक्त कार्यक्रम सुरु हुन नसकेको हो । उक्त कार्यक्रमका लागि पाँच सय वटा बङ्गुर हुनुपर्ने मापदण्डका कारण कतै पनि मापदण्ड अनुरुपको बङ्गुर नपाइएकोले कार्यक्रम कार्यान्वयन नभएको डा. वाग्लेले बताउनुभयो ।
उहाँले प्रदेशभित्रका सबै जिल्लाका लागि एउटै मापदण्ड तोकिएकोले मापदण्ड पुरा गर्न नसकेको कारण कार्य विधिगत जटिलता, न्यूनतम मापदण्ड पुरा गर्न नसकेको कारण कार्यक्रम सञ्चालन हुन नसकेको बताउनुभयो । यस्तै गत असोज महिनाको बाढीपहिरोका कारण व्यवसायमा परेको असरका कारण कार्यक्रम सञ्चालनमा कठिनाई भएको हो ।
प्रतिक्रिया दिनुहोस