यौनजन्य दुव्र्यवहार विरुद्ध बेथानचोक गाउँपालिकामा सचेतना अभिवृद्धि कार्यक्रम

  • २०८१ माघ १०, बिहिबार मा प्रकाशित १ महिना अघि
  • १११ पाठक संख्या

  • काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिकामा बालबालिका माथि हुने यौनजन्य दुव्र्यवहार विरुद्ध सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ ।
    बेथानचोक गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले तयार गरेको चेतनामूलक सामग्री प्रहरी कार्यालय काभ्रेपलाञ्चोककी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई हस्तान्तरण गर्नुभयो । ती सामग्री गाउँपालिका भित्रका सबै विद्यालयलाई पठाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरी र स्थानीय तहको बीचमा सम्वद्ध सरोकारवालाहरूलाईसमेत समेटी संस्थागत साझेदारीबाट समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सहयोग पुग्ने भएकोले यस्ता कार्यक्रम प्रभावकारी बनाउन गाउँपालिका सदैव तयार रहेको बताउनु भयो ।
    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकामा बाल यौन दुव्र्यवहारका केहि घटना आएका र त्यसमा गाउपालिकाले न्यायोचित व्यवहार गरेको बताउनु भयो । उहाँले बालबालिका सुरक्षित रहनुपर्छ भन्नेमा गाउपालिका सचेत रहेकोले गाउँपालिकाको न्यायिक समिति, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले हिंसा र दुव्र्यवहार अन्त्य गर्न काम गरिरहेको प्रष्ट पार्नुभयो । सामुदायिक सुरक्षा अभिवृद्धि गर्नका लागि स्थानीय स्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरू, विभिन्न क्षेत्रका सामाजिक संघ संस्थाहरू, महिला, बालबालिका र युवा सम्बन्धी संघ संस्थाहरूले बेथानचोकमा काम गरिरहेको बताउनु भयो ।
    कार्यक्रमको अध्यक्षता गर्नु भएकी जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकको प्रहरी उपरीक्षक वसुन्धरा खड्काले स्थानीय तह र स्थानीय प्रहरी इकाईबीच प्रभावकारी समन्वय र सहकार्यबाट नै समाजमा अमनचयन कायम हुने बताउनु भयो । उहाँले स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रूपमा अगाडी बढाउने उद्देश्यले आफू काभ्रेमा आएसँगैँ सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतनाका करिब ८ सय ५० वटा कार्यक्रम गरिएको बताउनु भयो । बागमती प्रदेशभित्र काभ्रे जिल्लामा यौनजन्य हिंसामा बढोत्तरी भएको पाइएकोले यसलाई गम्भीरताका साथ लिएर आफूहरुले अभियान स्वरुप काभ्रेका विभिन्न पालिकाहरुमा कार्यक्रम गरेको उहाँले बताउनु भयो । उहाँले हुर्किसकेको बिरुवामा भन्दा हुर्कदै गरेको बिरुवालाई मलजल गर्न सके राम्रो प्रतिफल मिल्ने उदाहरण दिनुहँुँदै हिंसाको जोखिममा पर्न सक्ने समूहलाई हिंसाबारे सचेतना फैलाउँदा आफू हिंसामा परेको, त्यसको प्रतिकार कसरी गर्ने, कसरी प्रहरीलाई १०० नम्बरमा खबर गर्ने र जानकारी दिने विषयहरु अभियानले समेटेको उहाँको भनाई थियो । सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरूप स्थानीय तह र स्थानीय प्रहरी इकाईबीच प्रभावकारी समन्वय र सहकार्यबाट सेवा प्रवाह र सुरक्षा मजबुद हुने उहाँको भनाई थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काले काभ्रेका सामुदायिक तथा संस्थागत विद्यालय लक्षित चेतनामुलक पोस्टर क्याम्पेनले हिंसा के हो ? केलाई हिंसा भन्ने ? कसरी बच्ने ? कानुनी उपचार के ? भन्ने विषयमा समाजका सबै तप्कालाई बुझाउन मद्दत मिल्ने बताउनु भयाभे । सचित्र रुपमा तयार पारिएको यौन हिंसाबारे बुझाउने दुव्र्यवहार सम्वन्धि चेतनामुलक ‘गुड टच र व्याड टच’को पोस्टरले बालबालिकामा हुने यौनजन्य दुव्र्यवहार न्यूनिकरण हुने विश्वास राख्नु भयो ।
    कार्यक्रममा गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुको तर्फबाट मन्तव्य राख्दै पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द शर्माले गाउँपालिका र जिल्ला प्रहरी कार्यालयले शुरु गरेको उक्त चेतना फैलाउने अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा घट्ने एकाधलाई अतिरञ्जित गर्ने भन्दा पनि त्यसलाई हदैसम्मको दायरामा ल्याई समाजमा हुने बाल यौन दुव्र्यवहार अन्त्यका लागि सबै पक्ष जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो ।
    गाउँपालिकाले उपलब्ध गराएको सचेतनामूलक सामग्रीबाट गाउँपालिकाभरिका ३२ वटै विद्यालयका बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस