सरकारले हुलाकलाई खारेज गर्ने निर्णय बजेट भाषणमार्फत गरेपछि नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन नेपालले देशभरका हुलाक कार्यालयहरूमा धर्ना तथा आन्दोलन सुरु गरेको छ ।
अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरु विरोधमा उत्रीएपछि हुलाकी सेवा प्रभावित बनेको छ । धुलिखेलको हुलाक कार्यालय अगाडी धर्ना र विरोधमा उत्रिएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनले खारेजीको निर्णय तत्काल फिर्ता गरि हुलाकलाई नयाँ ढंगबाट सुरु गर्नुपर्ने माग गरेको छ । मासिक पाउने रकम बढाउन वर्षौदेखि आन्दोलन गरिरहेका कर्मचारीहरुको माग सुन्नुको सट्टा सरकारले कार्यालय नै खारेज गरेर अपमान गरेको नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको भनाई छ ।
विरोध कार्यक्रममा नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका केन्द्रीय अध्यक्ष टंकप्रसाद हुमागाईले सरकारले अतिरिक्त हुलाक कार्यालय खारेजीको निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग गरे । अतिरिक्त हुलाक खारेजीका सट्टा रुपान्तरण र व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । बजेट भाषण आएको भोलिपल्टदेखि नै चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका कर्मचारीहरुले जेठ १६ गते देखि नै जिल्लाका अधिकांश स्थानमा डाँक सेवा बन्द गरिएको छ भने असार ५ गते देखि धर्ना कार्यक्रम सुरु भएको छ । असार १० गते जिल्ला हुलाक कार्यालयका सबै सेवा अबरुद्ध गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला हुलाक कार्यालय काभ्रेकी निमित्त प्रमुख नानिमैया आचार्यले कर्मचारीहरुको आन्दोलनका कारण सेवा प्रभावित बनेको जानकारी दिईन । आन्दोलनका कारण पत्र वितरक, डाक बाहक र हुलाक प्रतिनिधि कसैले पनि काम गरेका छैनन । काभ्रे जिल्लामा २ सय १ जना पत्र वितरक, डाक बाहक र हुलाक प्रतिनिधिको रुपमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस