काभ्रे/नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेले शनिवार बनेपामा १४ औ महाधिवेशनपछिको पहिलो जिल्ला सम्मेलनको आयोजना गरेको छ । जिल्ला सम्मेलनको नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सहमहामन्त्री उपाध्यायले नेपाली काँग्रेसले विपीको सिद्धान्त र आदर्शलाई आत्मसाथ गर्दै मुलुकको हितको लागि काम गर्दै आएको बताउनुभयो । उहाँले पार्टीले लामो समयसम्म पार्टीका निरन्तर रुपमा इमान्दारिताका साथ काम गर्ने नेता तथा कार्यकर्तालाई अघि बढाउने बताउनुभयो ।
‘काँग्रेसमा लाग्ने नेता तथा कार्यकर्ताहरुले पार्टीमा लागेर मैले यो पाउनुपर्छ वा म यो पाउँछु भनेर प्राप्तिका लागि नभई मैले पार्टीमा लागेर पार्टी र देशका लागि के योगदान गर्नु सक्छु भनेर सोचेर अघि बढ्नुपर्छ’ सहमहामन्त्री उपाध्यायले भन्नुभयो । उहाँले उहाँले नेपाली काँग्रेस अन्य राजनीतिक दलहरुभन्दा फरक पार्टी भएकोले काँग्रेस सिद्धान्त र बिचारमा सक्षम पार्टी रहेको दावी गर्नुभयो । उहाँले पछिल्लो समय काँग्रेस सकिन लागेको भन्ने भ्रम छरिएको बताउँदै नेपाली काँग्रेस पार्टी कहिले नसकिने र युगौयुगसम्म जाने बताउनुभयो । सहमहामन्त्री उपाध्यायले नेपाली काँग्रेस सकिएको दिनमा नयाँ युग सुरुवात हुने बताउनुभयो । उहाँले काँग्रेस सकिन्छ भनेर हल्ला फैलाउनु बेकार रहेको बताउनुभयो । उहाँले काँग्रेस नेतालाई जालझेल गरेर जेल सजाँय तोकिएको स्मरण गर्दै पछिल्लो समय पार्टीका नेता बालकृष्ण खाणको विषयमा पार्टी मौन बसेको बताउनुभयो । ‘विगतमा पार्टीका नेता खुमबहादुर खड्कालाई नचाहिने कुराहरुको आरोप लगाएर जेल सजाँय तोकियो, काँग्रेस न्यायपालिकालाई स्वतन्त्रपूर्वक काम गर्न दिने पार्टी भएकोले केहि बोलेनौ, पछिल्लो समय बालकृष्ण खाणको विषयमा पनि न्यायपालिकाले स्वतन्त्र रुपमा काम गरोस् भनेर हामीले केही बोलेका छैनौँ’ उहाँले थप्नुभयो । उहाँले काँग्रेस पार्टी न्याय र सुशासनको पक्षमा रहेको बताउनुभयो । सहमहामन्त्री उपाध्यायले पछिल्लो समय विभिन्न वहानामा राजनीतिक, धार्मिक र सामाजिक द्धन्द्ध निम्त्याउने काम भईरहेकोले यसमा पार्टीका सबै नेता तथा कार्यकर्ताहरु सर्तक रहनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय देशका सञ्चालित मिडियाले पूर्वाग्रही ढंगले समाचारहरु प्रकाशन तथा प्रशारण गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले पार्टीले अघि सारेका गतिविधिका बारेमा गम्भिरतापूर्वक लाग्न नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले काँग्रेस पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरुले आफु बन्ने भन्दा पनि पार्टीलाई बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले पार्टी बनाउनका लागि थुप्रै नेता तथा कार्यकर्ताहरुको रगत तथा पसिना बगेको बताउनुभयो । पछिल्लो समय कतिपय नेताहरु पार्टीको नेतालाई कमजोर बनाएर अन्य राजनतिक दलको नेतालाई समर्थन गर्न लागेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले पार्टीलाई कमजोर बनाउन हिँड्ने नेता तथा कार्यकर्तालाई पार्टी कमजोर बनाउन नदिइने बताउनुभयो । उहाँले काँग्रेस विधि र विधान अनुसार अघि बढ्ने पार्टी भएकोले यो पार्टी सधै विधि र विधानको पक्षमा निरन्तर उभिने बताउनुभयो । पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयको मुद्धा अदालतले निरुपण गर्ने बताउनुभयो । उहाँले सरकारले पछिल्लो पटक सुरु गरेको भ्रष्ट्रचारको विषयमा गरिरहेको अनुसन्धानलाई मोड्न नहुने बताउनुभयो । उहाँले भ्रष्ट्रचारमा संलग्न दोषीलाई कारवाहि र निर्दोष व्यक्तिलाई फसाइनु नहुने जिकिर गर्नुभयो । नेतृ खतिवडाले यदि काँग्रेसका कोहि नेता तथा कार्यकर्ता दोषी नभएको खण्डमा उनीहरुलाई पार्टीले संरक्षण नगर्ने बताउन्ुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका पूर्व सभापति शिवप्रसाद हुमागाँईले नेपाली काँग्रेस पार्टी व्यक्ति नभई संगठन भएको बताउनुभयो । उहाँले भ्रष्ट्रचार विरुद्धको अभियान र आर्थिक क्रान्तिको नेतृत्व काँग्रेसले गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति तिर्थ लामाले नेपाली काँग्रेसका त्यागी नेताहरुको योगदानका कारण मुलुक यो स्थानमा आइपुगेको बताउनुभयो ।
उहाँले काँग्रेस त्यागी नेता सुशिल कोईरालाको महत्वपूर्ण योगदानका कारण मुलुकमा संविधान जारी भएको स्मरण गर्नुभयो । उहाँले नेपाली काँग्रेसको विधानमा व्यवस्था भए अनुरुप जिल्ला सम्मेलनको आयोजना गरिएको बताउनुभयो । उहाँले पार्टीभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै सबै नेता कार्यकर्ताहरु पार्टीलाई एक ढिक्का बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका सबै गाउँ, नगर, वडामा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको पक्षमा काम गर्न आग्रह गर्नुभयो । सम्मेलनको बन्द सत्रमा पार्टीका जिल्ला सचिव माधव ढकालले पार्टीको राजनीतिक प्रतिवेदन, सचिव गुणराज मोक्तानले पार्टीको सांगठनिक प्रतिवेदन र भावी कार्यक्रम र कोषाध्यक्ष जग्गनाथ गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न नेताहरुले कांग्रेस एक ढिक्का भएर अघि बढनुको विकल्प नभएको बताउनु भएको थियो ।
जिल्ला सम्मेलनमा जिल्लाका १३५ वटा वडाबाट निर्वाचित दुई हजार ४९२ क्षेत्रीय प्रतिनिधि भएका थिए । सम्मेलनमा क्षेत्रीय प्रतिनिधीका साथै भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस कृयाशिलका साथै लोकतन्त्रवादीहरुको सहभागिता रहेको थियो । सम्मेलनको अवसरमा रक्तदान तथा आँखा जाँचको व्यवस्था समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस