दोहोरो राहदानी सम्बन्धमा लामिछानेविरुद्ध उजुरी

  • २०७९ माघ १७, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • १३६ पाठक संख्या

  • विदेशी नागरिक रहेको बखत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली नागरिकको रुपमा नेपाली पासपोर्ट लिएको भन्दै उनीविरुद्ध उजुरी परेको छ । अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज पौडेलले मंगलबार नेता लामिछानेविरुद्ध अध्यागमन विभागमा उजुरी दिएका हुन् ।

    ‘अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले ऐन वा नियम विपरीत कुनै अपराध भए वा हुन लागेको छ भने तहकिकात र कारबाही गर्नु पर्दछ भन्ने व्यवस्था भएकोमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १०९१० अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ विपरीतको दण्डनीय कार्य गर्ने रवि लामिछानेलाई अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम हदैसम्मको सजाय गरी पाऊँ’ पौडेलले दिएको उजुरीमा उल्लेख छ ।

    साथै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट माघ १३ गतेको फैसला अनुसार लामिछानेमाथि छानबिन गर्ने सम्बन्धमा सम्बन्धित निकायले कसरी छानबिन गरिरहेको छ भन्दै त्यसबारे उजुरीमार्फत् जिज्ञासा राखिएको छ ।

    उजुरीकर्ता पौडेलले नेता लामिछानेले विगतमा प्रयोग गरेका नेपाली र अमेरिकी नागरिकता र राहदानीको प्रतिलिपि समेत पेस गरेको जनाएका छन् । उजुरीकर्ता पौडेल र अधिवक्ता रविराज बसौलाको उजुरीकै आधारमा गत माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो । उनले नेपाल नागरिकता पुनस्प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य रहेको ठहर गरेको थियो । त्यसपछि माई १५ गते नेता लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रक्रिया पूरा गरी नागरिकता पुन: प्राप्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस