सितलहरको उच्च सम्भावना, आगामी तीन दिन अत्याधिक चिसो बढ्ने

Post Thumbnail
  • २०७९ पौष १७, आईतबार मा प्रकाशित २ साल अघि
  • २४९ पाठक संख्या

  • आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

    पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।

    जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । उनले अबका केही दिनमा चिसो अत्याधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए ।

    उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापिय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए । उनले मर्निङ वाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए ।

    उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरुमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए । जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने बताए । उनले हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदुषणमा पर्ने बताए ।

    देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँडडुल भरसक नगर्ने वा घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरै बेर नभिज्ने, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल÷ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सिमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गर्ने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने डा. उप्रेतीको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस