काभ्रे–१ (क) मा गठबन्धनका ढकाल भारी मतले विजयी

Post Thumbnail
  • २०७९ मंसिर ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • १३७ पाठक संख्या

  • काभ्रेको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा क को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी भएका छन् । विहीबार सम्पन्न मत गणनामा ९ हजार ४४२ को भारी मतान्तरसहित ढकाल विजय भएका हुन् ।

    बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले २० हजार ७२० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ (दिलिप)ले ११ हजार २७८ मत प्राप्त गरेका छन ।

    त्यस्तै वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजय भएका ढकाल माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनले विजय भएपछि सञ्चारकर्मीसँग बोल्दै अघिल्लो कार्यकालमा अपुरा रहेको काम पुरा गर्ने र जनताकै बिचमा रहेका काम गर्ने बताए ।

    यसअघि ०७४ सालको निर्वाचनमा ढकाल यही निर्वाचन क्षेत्रबाट विजय भएको थियो ।

    को हुन रत्न ढकाल

    बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री माननीय रत्न प्रसाद ढकालको जन्म २०३७ साल माघ ६ गते साविक चौंरी गाविस हाल चौंरी देउराली गाउँपालिका वडा नं. ५ मा बुबा शिवप्रसाद ढकाल र आमा रुकुमाया ढकालको कोखबाट भएको थियो । निम्न मध्यम वर्गमा जन्मेका ढकालको ५ वटी बहिनी र २ वटा भाईहरु रहेका छन् । भने श्रीमति मेनुका घिमिरे र २ छोरी रहेका छन् ।
    ग्रामिण क्षेत्रमा जन्मेका एक किसान परिवारको सदस्य ढकाल सानै उमेरदेखि विद्यार्थी संगठनमा संगठित भएका थिए । २०५० सालमा तत्कालीन ने.क.पा. (एकता केन्द्र)को भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) मा संगठीत भए । त्यही क्रममा २०५१ देखि २०५२ सम्म आफ्नै गाउँमा रहेको स्थानीय श्री जागृति नि.मा.वि.को इकाई समिति उपाध्यक्षमा निर्वाचित भएका ढकाल २०५३ देखि २०५४ जागृति मावि इकाई समिति अध्यक्ष भएका थिए । त्यतिखेर जनयुद्धले आधार इलाका निर्माणको दिशामा अघि बढि सकेको थियो । प्रहरी दमन र ज्यादतीले ढकाललाई अझ संगठीत हुने र विद्रोही हुने वातावरणको सिर्जना गर्दै थियो । स्थानीय जागृति माविमा एस.एल.सी. पास भएपछि उनी कलेज पढ्न काठमाडौं छिरेका उनी २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहींबेला देखि नै उनी अखिल (क्रान्तिकारी)को पूर्ण कालीन सदस्यको रुपमा विद्यार्थी आन्दोलनमा लागे । निरन्तर विद्यार्थी आन्दोलनमा लागेको उनी २०५७ सालमा अखिल (क्रान्तिकारी) का जिल्ला सदस्यमा निर्वाचित भए । २०५८ देखि २०६० सम्म अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बनेका ढकाल २०६१ मा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक बनेका थिए । माओवादी शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकाल अखिल (क्रान्तिकारी)का केन्द्रिय कार्यालय सचिव भएर काम गरेका थिए । त्यसैगरि २०६५ देखि २०६९ सम्म केन्द्रिय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रिय समितिको महासचिवको भूमिका रहेका उनी २०७२ ददेखि २०७३ सम्म अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष भएका थिए । २०५८ मंसिरमा अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गरेका थिए । उनी ११ दिन सम्म २ नम्बर गण महाराजगञ्जमा राखेका थिए । विद्यार्थीहरुको आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए । त्यसैगरि फेरि उनलाई २०५९ साल श्रावण ६ गते काठमाडौंको असनबाट गिरफ्तार गरी ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमै राखेको थिए । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएका थिए । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रिय कारागार चलान गरिएको थियो । २०५९ साल चैत्रमा फेरि उनी केन्द्रिय कारागारबाट रिहा भएका थिए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातना सहित बेपत्ता पारिएका थिए । त्यसपछि २०६२ मंसिरमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरेका थिए । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको वलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते नख्खु जेलबाट उनी रिहा भएका थिए ।
    माओवादी आन्दोलनमा फूट आएपछि ढकाल २०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय समिति सदस्य बनेका थिए । माओवादी घटकहरुको एकता पछि उनी हाल नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरो सदस्यमा चयन भएका थिए । २०७४ सालमा नेपाली काँग्रेसका उम्मेदवार चन्द्रबहादुर लामालाई पराजीत गरेर प्रदेश संसदमा निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्रको एकता पछि ढकाल नेकपाको वागमती प्रदेश सचिवाल सदस्यमा चयन भएका थिए । पार्टी विभाजन पछि उनी वागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री बनेका थिए । हाल पनि उनी मन्त्री हुन् ।

    प्रतिक्रिया दिनुहोस