आफ्नो पहलमा काम गरेको दाबी गर्ने गोकुल बास्कोटाका भ्रम र यथार्थ

  • २०७९ कार्तिक १३, आईतबार मा प्रकाशित १ साल अघि
  • ५३१ पाठक संख्या

  • भनिन्छ, सके मान्छेलाई कन्भिन्स गर्नुपर्छ, नभए कन्फ्युज गर्नुपर्छ । निर्वाचनको बेला त यो अझ बढी प्रयोग हुन्छ । २०७४ सालमा भएको प्रतिनिधी सभा निर्वाचनमा बाम गठबन्धनबाट जितेका एमाले नेता गोकुल बास्कोटा त्यसपछि बनेको केपी ओली नेतृत्वको सरकारमा मन्त्री बने । ओली निकट मानिने बास्कोटाले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै हैन, जिल्लाभर जुनसुकै श्रोत र निकायबाट आएको बजेट पनि आफ्नो पहलमा भन्दै दाबी गर्दै आएका छन् । प्रदेश सरकारबाट बिनियोजित भएका बजेट पनि आफ्नो पहलमा भन्दै प्रचार गरिएको छ । उनका कार्यकर्ताहरु त्यसलाई चुनावी मसला बनाउन उद्धत छन् । उनलाई ब्याक फायर हुने गरी गर्दै नगरेको काम पनि बास्कोटाले गरेको भन्दै प्रचार गरिएपछि स्वतन्त्र मतदाता समेत चिढिएका छन् । दान, योगदान, सहयोग भनेको एक हातले दिएको अर्को हातलाई थाहा हुनुहुँदैन भन्ने धार्मिक मान्यता छ, यहाँ त अरुले गरेको काम समेत आफूले गरेको भनेर प्रचार भइरहेको छ ।

    एमाले नेता बास्कोटामा शुरु भएका भनिएका कामहरुको भ्रम र यथार्थ हामीले केलाउने प्रयास गरेका छौं ।

    सुनकोशी तेस्रो जलाशय आयोजना

    गोकुल बास्कोटाको पहलमा ५८ अर्ब रुपैयाँ आएको भन्दै प्रचार गरिएको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको वास्तविकता अर्कै छ । काभ्रे र रामेछाप जिल्लाको सिमानामा बन्ने आयोजनाको लागि अहिले सम्म कतैबाट लगानी जुटेको छैन । बंगलादेशले चासो दिएको उक्त आयोजना कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा बंगलादेशी टोली सुनकोशी नै पुगेर अध्ययन गरेको थियो । ५८ अर्ब लगानी भएको भए, काम के भयो त रु प्रश्न अनुत्तरित छ । आयोजनाको लागत अनुमान १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ ।

    भक्तपुर–पाँचखाल सुरुङमार्ग

    सामाजिक सञ्जाल हेर्दा सुरुङ नै बनिसकेको जस्तो देखिने भक्तपुर–पाँचखाल सुरुङ पनि गोकुल बास्कोटाकै पहलमा आएको विकास भएको भ्रम छरिएको छ । वास्तविकता के हो भने, सुरुङ मार्गको अध्ययन गर्न बागमती प्रदेश सरकारले आफ्नो आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो, अध्ययनको क्रममा छ । संघ सरकारले त डिपिआर तयार गर्न रकम समेत छुट्याएन । डिपिआर बनाउन समेत पैसा नछुटिएको योजनामा उनले गरेको पहल के हो रु मतदाताले सोध्ने गरेका छन् ।

    पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)

    दोस्रो जनआन्दोलनपछि तत्कालिन राष्ट्रप्रमुख गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सेज स्थापना गर्ने घोषणा गरेको थियो । सोही आधारमा पाँचखाल नगरपालिकाको पाँचखाल नगरपालिकाको वडा नम्बर ७ र ८ को करीब एक हजार जमिनमा सेज स्थापना गर्ने निर्णय भयो । २०६८ सालबाट शुरु भएको निर्माणको काम विवादको कारण रोकियो । सरकारको नीति तथा कार्यक्रममा परेपनि कम बजेटका कारण काम हुन सकेन । विवादको कारण रोकिएको रुख कटानको लागि समेत २०७४ को स्थानीय तह निर्वाचनपछि नयाँ जनप्रतिनिधीको रुपमा नगरप्रमुख महेश खरेलले शुरुवात गरेका थिए । पटक पटक काममा भएको ढिलाईमा झकझक्याउने काम नगरप्रमुख खरेल र नगरपालिकाले ग¥यो । मन्त्री हुँदा कुनै पहल, चासो नगरेका बास्कोटा र उनका कार्यकता बनेको भवन भने आफ्नो पहलमा भएको दाबी गरेर सामाजिक सञ्जालमा रोइलो गरिरहेका छन् ।

    इन्द्रावती–मण्डन खानेपानी

    मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा ठूलो खानेपानी आयोजना हो, ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ । मण्डनदेउपुर नगरपालिकाको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का ५ हजार ५ सय ५ घरधुरी लाभान्वित हुने आयोजनाको अहिले निर्माण कार्य धमाधम भइरहेको छ । ५४ करोडको ठेक्का सम्झौता भएर र तीन बर्षभित्र निर्माण भैसक्ने गरी काम द्रृत गतिमा भइरहेको आयोजनाको झण्डै ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भैसकेको छ । यो खानेपानी आयोजनाको निर्माण ‘शर्मा–लामा–रमण जेबी’ ले गरिरहेको छ । बास्कोटाले भने डेढ अर्बको आयोजना मण्डनमा आफूले भित्राएको भनेर त्यसको जस लिन खोजिरहेका छन् ।

    पाँचखाल–सुनकोशी खानेपानी आयोजना

    पाँचखाल सुनकोशी खानेपानी परियोजनाको २०७६ साल भदौ १२ गते खानेपानी आयोजनाअन्तर्गत सहरी खानेपानी तथा सरसफाइ आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । आयोजना दुई अर्ब २१ करोडको लागतमा तीन वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य थियो । सम्झौताको शर्तअनुसार कुल योजनाको पाँच प्रतिशत अर्थात ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । स्थानीय जनताहरुले १८ हजारका दरले रकम उठाउने निर्णय भएपनि सबै उपभोक्ताबाट पुग्ने रकम जम्मा नभएपछि रकम जम्मा गर्न पनि पाँचखाल नगरप्रमुख महेश खरेलले मेयर क्लब गठन गरेर २ करोड, नगर साछी बसेर विभिन्न सहकारीबाट ऋण लिएर ११ करोड भन्दा बढि रकम जम्मा गरेर खानेपानीको सम्झौता भयो । पाँचखालका स्थानीयले प्रति परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका थिए । खानेपानीको लागि पहँुच मार्ग निर्माणको लागि पनि नगरले सहयोग गरेको छ । पटक पटक उनी मन्त्री हँदा उपभोक्ता समिति मार्फत सडक निर्माणमा बजेट माग गर्दा समेत कुनै पहल भएन । उनीले उपभोक्ताबाट जम्मा हुने ११ करोड रुपैयामा मात्र तिर्नको लागि पहलमदमी गरिदिएको भए पनि जनता खुशी हुने थिए । आयोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन । अहिले आफ्नो पहलमा २ अर्बभन्दा बढी बजेट ल्याएको भन्दै सामाजिक सञ्जालबाट प्रचार गरिरहेका छन् ।

    पाँचखालमा मदनभण्डारी विश्वविद्यालय ७ अर्ब

    मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ संसदबाट पारित भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना पाँचखाल नगरपालिकामा हुने दाबी बास्कोटाको भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्री छँदा नै विरोध खतिवडाले मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यास गरिसकेका छन् । पारित भएको विधेयकमा समेत यो विश्वविद्यालय मकवानपुर जिल्लाको थाहा नगरपालिकाको चित्लाङमा रहने उल्लेख छ । विद्येयकमा विश्वविद्यालयको केन्द्रीय कार्यालय भने काठमाण्डौ उपत्यका वा काठमाण्डौ उपत्यकाको आसपासका उपयुक्त स्थानमा रहने उल्लेख छ । पाँचखाल नगरपालिका भनेर विद्येयकमा कतै उल्लेख छैन । पाँचखालमा दिइएको जग्गा पनि नगरपालिकाले निशुःल्क रुपमा उपलब्ध गराएको हो । कहाँ खर्च भएछ ७ अर्ब जनता अन्योलमा परेका छन् । यो पनि चुनावी नारा मात्रै बनाइएको छ ।

    सुर्य विनायक, दोलालघाट मोड सुधार कार्यक्रम

    सुर्य विनायकदेखि दोलालघाटसम्म दर्जनौँ मोड छन । धुलिखेलदेखि तीनपिप्लेसम्मका केही मोड फराकिलो पारिएको छ । कतिपय मोड बास्कोटा विजयी हुनुभन्दा अघिदेखि नै फराकिलो पार्न सुरु गरिएको थियो । यसलाई पनि बास्कोटाले आफ्नै स्वामित्व ग्रहण गरेका छन् ।

    विद्यालय पुनःनिर्माण, आइटी ल्यावको ब्यवस्थापनः

    भूकम्पपछि पुननिर्माण भएका सबै विद्यालय गोकुल बास्कोटाको पलहमा भएको दाबी अपत्यारिलो मात्रै छैन, हास्यास्पद पनि छ । भुकम्पपछि एडिबी लगायत दातृ निकायको ऋण अनुदान विद्यालय पुननिर्माण गरिएको हो । विश्व बैंक, एडिबी, भारतीय दुतावास, विभिन्न गैससको सहयोगमा पुननिर्माण भएका विद्यालय मन्त्री हुँदा बास्कोटाले पुननिर्माणको उद्घाटन भने गरेका थिए । अर्कैको सहयोगमा बनेका विद्यालयका भवन उद्धघाटन गर्ने वित्तिकै आफ्नो पहल भन्न मिल्ला र ? आइटी ल्याब स्थापना गरेको दाबी गरेका बास्कोटालाई त्यसैमा अनियमितताको आरोप समेत लागेको छ ।

    प्रतिक्रिया दिनुहोस