नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको लोकतान्त्रिक–बाम गठबन्धनले बिहिबारबाट काभ्रेमा चुनावी घरदैलो अभियान थालेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिएसँगै गठबन्धनले घरदैलो, भेटघाट, भेला, बैठकलाई तिव्रता दिएका हुन् ।
प्रतिनिधी सभा क्षेत्र नं १ अन्तर्गतको प्रदेश सभा क र ख दुबै क्षेत्रमा घरदैलो शुरु भएको छ । प्रदेश सभा क्षेत्र न १ क मा नमोबुद्ध ३ र ४ बाट जनता भेटघाट कार्यक्रम शुरु भएको छ भने ख मा रोशी ५ शिसाखानीबाट जनता भेटघाट कार्यक्रम शुर भएको छ । प्रदेश सभा १ क का प्रत्यक्ष उम्मेदवार रत्नप्रसाद ढकाल, समानुपातिकतर्फका उम्मेदवार एकिकृत समाजवादीका येशु लामा, पासाङ डोल्मो लामासहितको टोलीले जनता भेटघाट थालेको हो । प्रत्यक्षतर्फका उम्मेदवार ढकालले अघिल्लो पटक निर्वाचित भएपछि सो क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै फेरी त्यो अवसर दिनको लागि अनुरोध गरे ।
प्रदेश सभा क्षेत्र नं १ ख मा वडा नं ५ शिसाखानीबाट घरदैलो शुरु भएको छ । गठबन्धन दलका तर्फबाट कांग्रेस उम्मेदवार तिर्थबहादुर लामा लगायत गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताहरुले घरदैलो थालेका हुन् । प्रत्यक्षतर्फका उम्मेदवार लामाले गठबन्धनको पक्षमा राम्रो माहोल देखिएको भन्दै आफू उत्साहित भएको बताए । सो क्षेत्रले कार्यतालिका नै सार्वजनिक गरेर घरदैलो अभियान शुरु गरेको छ ।
प्रतिनिधी सभा क्षेत्र नं २ मा पनि लोकतान्त्रिक–बाम गठबन्धनले भुम्लु गाउँपालिकाको वडा नं १ सापिङबाट घरदैलो अभियान शुरु गरेको छ । प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाई, प्रदेश सभा २ क का उम्मेदवार लक्ष्मण लम्साल समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, रुकु चौलागाई, काँग्रेसका समानुपातिक उम्मेदवार शान्ता क्षेत्री र लक्ष्मी दनुवार सहितको टोलीले घरदैलो अभियान शुरु गरेका हुन् । कार्यक्रममा कोशीपारी क्षेत्रकै चर्चित नेता पूर्व मन्त्री गोविन्दनाथ उप्रेती समेत सहभागि भएका थिए ।
प्रदेश सभा २ ख ले पनि बेथानचोक गाउँपालिकाबाट घरदैलो र भेटघाट गरेको छ । प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शिव प्रसाद हुमागाईसहित प्रदेश सभा २ ख का उम्मेदवार कञ्चनचन्द्र बादे, संविधानसभा सदस्य रहेका एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, विदुरप्रसाद सापकोटा, माओवादी केन्द्रका मिना तामाङ, समानुपातिक उम्मेदवार भोला अर्याल र सुरकृष्ण बैद्य, कांग्रेस नेता इन्द्रमणि अधिकारी, अच्युतप्रसाद पौडेल, प्रेमबहादुर तिमल्सिना, मछिन्द्रकुमार लामा लगायत गठबन्धनका नेताहरुले संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउनुपर्ने बताए ।
२ प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा राजनीतिक दल र स्वतन्त्र गरी ६४ जना उम्मेदवार छ । प्रतिनिधी सभा क्षेत्र नं १ मा ३५ जना र प्रतिनिधी सभा क्षेत्र नं २ मा १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा क्षेत्र नं। १ अन्तर्गत प्रदेश सभा सदस्य क का लागि ९ जना र प्रदेश सभा सदस्य ख का लागि ९ जना उम्मेदवार छन् । प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा सदस्य क का लागि ६ जना र प्रदेश सभा सदस्य ख का लागि ७ जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लोकतान्त्रिक–बाम गठबन्धनबाट ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकाहरु संसदीय क्षेत्रमा अनुभवी छन् । गठबन्धनको मत, संविधानको रक्षा र शान्ती, सुशासन र विकासको लागि काभ्रेली मतदाताले गठबन्धनलाई मतदान गरी जिताउने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस