काभ्रेको ९ ठाउँमा यात्रु तथा नागरिक सहायता कक्ष, बागमती प्रदेशमा ५२ वटा

Post Thumbnail
  • २०७९ आश्विन १२, बुधबार मा प्रकाशित १ साल अघि
  • १७४ पाठक संख्या

  • बागमती प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरूप सोमबार यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा बढी भिडभाड तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने हुँदा बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याइएको हो ।

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत काभ्रे जिल्लामा ९, मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङ जिल्लामा ६, नुवाकोट जिल्लामा ६, रसुवा जिल्लामा ६, सिन्धुपाल्चोक जिल्लामा ५, दोलखा जिल्लामा १, रामेछाप जिल्लामा २ र सिन्धुली जिल्लामा ५ वटा गरी ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याइएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढी भिडभाड र आवतजावत हुने स्थानहरूमा ट्राफिक प्रहरीसहितको सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए ।

    स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १ सय ५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ । प्रवक्ता रेग्मीले ‘यात्रा गर्दा तथा आफूलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क राखी आफ्नो समस्या समाधान गर्न समेत अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस