तीन दिनदेखिको झरीसँगै शुक्रबार राति खसेको पहिरोले घरसँगै बगाउँदा अछामका ४ ठाउँमा २१ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार शनिबार साँझसम्म तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ जनाको शव फेला परेको छ ।
त्यहाँ एक जना अझै बेपत्ता छन् । ढकारी–६ ढुंगाचाल्नामा एक जनाको शव फेला परेको छ । एक जना बेपत्ता छन् । कमलबजार नगरपालिका–६ हात्तीबाँझमा ७ जनाको र ८ नम्बर वडाको डुंगालामा ५ जनाको मृत्युु भएको हो ।
डुंगालामा एकै परिवारका २६ वर्षीय गम्भीर दमाई, उनकी २३ वर्षीया श्रीमती भाना, ६ वर्षीया छोरी सरस्वती, ४ वर्षीया छोरी कल्पना र ३ वर्षका छोरा कालुको पहिरोमा च्यापिएर मृत्यु भएको हो । कमलबजार–६ मा पनि एकै परिवारका सात जनाको पुरिएर ज्यान गएको छ । ३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता, १ वर्षीया आराधना, ९ वर्षीय निखिल, ३६ वर्षीया मैनकला, १५ वर्षीया गीता र १२ वर्षीया सिरु कामीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय रमेश शाहीका अनुसार तुर्माखाँद–५ काँडाचौरका ४५ वर्षका नेत्रबहादुर शाही, उनकी ३५ वर्षीया श्रीमती मनीषा, १७ वर्षीया छोरी विमला, भतिजी १७ वर्षीया जानकीको शव पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो । रितबहादुर शाहीकी कान्छी बुहारी २१ वर्षीया भावना, माइली बुहारी कमला, १७ वर्षकी छोरी कल्पना, १३ वर्षीय छोरा सुन्दर र १ वर्षीया नातिनी मेलिना शाहीको पनि मृत्यु भएको बताए ।
घर पुरिँदा घाइते भएका ढकारी–६ ढुंगाचाल्नाका ३ जनालाई शनिबार सेनाको हेलिकोप्टरबाट सुर्खेत अस्पताल लगिएको छ । एकै परिवारका ६२ वर्षका हर्क बुढा, उनकी कान्छी बुहारी २१ वर्षीया चन्द्रा, १२ वर्षका नाति धर्मलाई हेलिकोप्टरले सुर्खेत लगेको परिवारका सदस्य निर्मल बुढाले बताए । उनका अनुसार पहिरोमा परेर डेढ वर्षको भतिजा नवीनको घटनास्थलमै मृत्यु भएको छ ।
बेपत्ताको खोजी तथा उद्धारका लागि शनिबार प्रहरी र सेनाको थप टोली हेलिकोप्टरबाट घटनास्थलतर्फ गएको छ । शनिबार दिनभर बेपत्ताको खोजी र घाइतेको उद्धारमै लागेको र क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको निमित्त प्रजिअ रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस