सुर्यविनायक-धुलिखेल सडकखण्ड : पहिलो चरणमा साँगा-धुलिखेल सडकको लागि ठेक्का आह्वान

Post Thumbnail
  • २०७९ भाद्र १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ८५२ पाठक संख्या

  • सरकारले सूर्यविनायक-धुलिखेल सडक विस्तारको निर्माण प्रक्रिया अगाडि बढाएको छ। आन्तरिक स्रोतबाटै निर्माण गर्ने गरी साँगादेखि धुलिखेलसम्मका लागि ४ अर्ब ८९ करोड रुपैयाँ लागतमा ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढेको प्रष्ट पारेको हो।

    जापान सहयोग नियोग (जाइका)ले बनाउन लागेको सुर्यविनायक-धुलिखेल सडकमा तत्कालिन भौतिक तथा पूर्वाधार मन्त्री रघुविर महासेठले कमीसन नमिलेर ठेक्का तोडाएका थिए । कमीसनको खेलमा परेपछि जाइकाले आयोजनाबाट हात झिकेपछि सडक विभागले आन्तरिक स्रोतबाटै निर्माण अघि बढाउने तयारीमा लागेको थियो।

    काँग्रेसको सरकार आएपछि नेपाली काँग्रेस काभ्रेका नेताहरुले प्रधानमन्त्रीसँगको अनुरोधमा सडक बन्ने भएपछि स्थानीय जनता भने खुशी भएका छन् । पूर्व उद्योग राज्यमन्त्री कञ्चन बादेको नेतृत्वमा गएको मण्डलले प्रधानमन्त्रीलाई सडक निर्माणमा झकझक्याएको थियो ।

    केही दिन अघि तयार पारिएको सूर्यविनायक धुलिखेल सडक विस्तारको विस्तृत परियोजना प्रतिवेदन अनुसार ६ लेनमा विस्तार गर्न ९ अर्ब रुपैयाँ लागत लाग्ने निष्कर्ष निकालेको थियो ।

    उक्त प्रतिवेदन अनुसार साँगामा डेढदेखि दुई किलोमिटर सडक विस्तारमा समस्या छ। त्यसकारण हाललाई सूर्यविनाकबाट नभइ साँगादेखि धुलिखेलसम्मको विस्तारका लागि ठेक्का आह्वान गरिएको आयोजनाको सिनियर डिभिजन इन्जिनियर शम्भुप्रसाद आचार्यले बताए। आचार्यका अनुसार यसको अनुमानित लागत ४ अर्ब ८९ करोड रुपैयाँ छ । उनले भने, यसमा ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मा समेत लिनुपर्ने हुन्छ ।

    गाडी चल्ने मुख्य ४ लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ। साथै बीचमा ३ मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइनमा छ। आचार्यका अनुसार भदौमा प्रक्रिया सकेर असोजमा सम्झौता हुनेछ। कात्तिकबाट काम सुरु गर्न सकिन्छ, उनले भने।

    प्रतिवेदन अनुसार यस आयोजनामा २०२० मिटरको तीनवटा पुल बन्ने छन् । यसका लागि छुटै ठेक्का आह्वान गरिनेछ। यसको लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ।

    सूर्यविनायक-साँगाका लागि लागत साढे चार अर्ब

    प्रतिवेदन अनुसार सूर्यविनायकदेखि साँगासम्मको सडक विस्तार गर्न साढे चार अर्ब लागत लाग्ने अनुमान छ। साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने-आउने लेन तल-माथि हुने भएको छ। यसमा सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको छ। यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ उनले भने, यसका लागि डिजाइन समीक्षाको चरणमा छ। तयार भएपछि सूर्यविनायकदेखि साँगासम्मका लागि पनि ठेक्का आह्‍वान गरिने छ।

    आचार्यका अनुसार काठमाडौंबाट जाने लेन नयाँ वाल लगाएर बनाइने छ भने आउने लेन पहिलेकै रुपमा रहने छ। यस्तै प्रतिवदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाको लागि लगभग एक अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने अनुमान गरेको छ।

    बिपी राजमार्गहुँदै चल्ने गाडीहरु काठमाडौं तराई गर्छन्। उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ। सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लाका विभिन्न ठाउँहरुमा आवतजावतका लागि प्रयोग हुन्छ। उक्त सडकमा सवारीको चाप छ।

    विस्तार गर्ने योजना बनेको भए पनि वर्षौदेखि काम हुन सकेको छैन। तत्कालै के गर्न सकिन्छ भन्ने विषयमा बसेको सडक विभागको बैठकले हालको सडकलाई स्तरोन्नति गरेर चार लेनको बनाउदा उपयुक्त हुने निष्कर्ष निकालेपछि प्रक्रिया अघि बढेको हो।

     

    प्रतिक्रिया दिनुहोस