काभ्रे र रामेछापको सिमानामा बन्ने सुनकोशी तेस्रोमा लगानी गर्न बंगलादेश उत्साहित, निर्माणस्थलको अवलोकन

Post Thumbnail
  • २०७९ भाद्र ८, बुधबार मा प्रकाशित १ साल अघि
  • १९३ पाठक संख्या

  • ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश उत्साहित देखिएको छ । काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको आयोजनामा बंगलादेशले लगानी गर्ने इच्छा राखेको छ ।

    नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक बस्नुअघि बंगलादेशी टोली र नेपाली टोलीले सुनकोशी तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन तथा अध्ययनको लागि काभ्रे र रामेछापको सिमाना लुभुघाट पुगेको हो । आयोजना रहेको लुभुघाटमा स्थानीयले विविध सास्कृितक कार्यक्रम र झाँकीसहित टोलीको भव्य स्वागत गरेका थिए ।

    बंगलादेशी टोलीको नेतृत्व त्यहाँको ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले गरिरहेका छन्। टोलीमा ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, विद्युत प्राधिकरण, विद्युत विकास विभागका अधिकारीहरूको पनि सहभागिता थियो ।

    अवलोकन भ्रमणपछि लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताए । आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

    ‘दुई देशको लगानीमा पाइलट परियोजनाको रुपमा सुनकोशीलाई अगाडि बढाउन बंगलादेश तयार छ, आयोजनामा लगानीका लागि बंगलादेश इमानदार र गम्भीर छ’, रहमानले भने,’सुनकोशी तेस्रो मात्र हैन दोलखा र रामेछाप जिल्लामा पहिचान भएको १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त अर्को आयोजनामा समेत लगानी गर्न इच्छुक छौं, यसका अतिरिक्त बंगलादेशका निजी क्षेत्रले समेत नेपालका निजी क्षेत्रसँग सहकार्य गरी आयोजनाहरुमा लगानी गर्न सक्छन् ।’

    ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिव स्तरीय संयुक्त निर्देशक समिति र सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकमा सुनकोशी आयोजनाका विषयमा विस्तृत छलफल गरेर ठोस निर्णय गरिने उनले बताए । संयुक्त कार्यदलको आज बुधबार र भोली बिहीबार निर्देशक समितिको बैठक काठमाडौंमा बसिरहेको छ ।

    नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो । बैठकमा पहिलो चरणमा सुनकोशी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो ।

    कार्यक्रममा रामेछापका संघीय सांसद श्याम श्रेष्ठ, सुनापति गाउँपालिका अध्यक्ष ठूलाकान्छा तामाङ, स्थानीय राजनीतिक दलका नेताहरुलगायतले प्रभावित क्षेत्रको मुहार फेरिने गरी दुई मुलुकका साझा आयोजनाको रुपमा निर्माण गरिनु पर्ने, निर्माण समय नबढ्ने गरी काम हुनु पर्ने र यसका लागि स्थानीय रुपमा आवश्यक सहयोग तथा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधु प्रसाद भेटुवालले ऊर्जा क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रका बैठकले बंगलादेशसँगको विद्युत व्यापार र सुनकोशी तेस्रो आयोजनामा लगानीको विषयलाई टुङ्गो लगाउने बताए ।

    सुनकोशी आयोजना नेपाल र बंगलादेशको लगानीमा निर्माण गरिने विषय प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता आयोजना दुई मुलुकबीच सहकार्य गरी निर्माण गरिनु पर्नेमा जोड दिए ।

    विद्युत विकास विभागका महानिर्देशक सन्दिव देव र उपमहानिर्देशक सञ्जय ढुङ्गेलले आयोजनाको हालसम्मको अध्ययन, विशेषता, प्रभावित क्षेत्रलगायतका विषयमा जानकारी गराए ।

    विभागले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन )इआईए) गरी स्वीकृतिको प्रक्रियामा रहेको छ ।

    जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोशी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५मा आयोजनाको पहिचाहन गरेको थियो । जाइकाले गरेको अध्ययनलाई सन् २०१४मा अध्यावधिक गरिएको थियो ।

    विपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवि र काभ्रेको तेमाल गाउँपालिको सीमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँधनिर्माण गरी नदीलाई थुनिने छ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ । जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ ।

    इआइए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुने छन् । आयोजनाबाट ३ हजार २ सय ३७ हेक्टर जग्गा डुवानमा पर्ने छ । यसका लागि ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नु पर्ने छ भने ६ सय ५५ हेन्टर वन क्षेत्रको जग्गा पर्ने छ । आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने देखिएको छ ।

    वाषिर्क रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने छ ।

    प्रतिक्रिया दिनुहोस