वनेपा २ बस्ने ज्ञान बहादुर खड्गीलगाएत ६ जना व्यक्तिहरुको नाममा बनेपा १(हाल बनेपा ५) स्थित चाईना टाउनको बास्केटबल कोर्ट अगाडी रहेको विभिन्न कित्ताको जग्गा देखाई किर्ते गरेर जग्गा कारोवार गर्ने व्यक्तीहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको जिवनपुर ५ घर भई हाल बनेपा ९ नयाँ बस्ती बस्ने रबिप्रसाद रेग्मी, मालपोत कार्यालय काभ्रेमा कार्यरत रामबिनय यादव र ससित भण्डारीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । लेखापढिको काममा सहयोग गर्ने राजन थापा र उनको श्रीमति सिता थापाको प्रहरीले खोजतालास गरिरहेको छ । धादिङ घर भई बनेपामा १० वर्ष देखि बसोबास गर्दै आएका रविप्रसाद रेग्मीले साबिक कलाँती भुम्लु ७ घर भएकी निर्मला उप्रेतीलाई बनेपा नगरपालिका साबिक १ नम्बर वडाको ८ आना जग्गा ४५ लाखमा विक्री गरेका थिए । रेग्मीले नक्कली जग्गाको लालपुर्जा बनाएर बनेपा १ ठेगाना राखी कित्ता नम्बर १५०४ मा ८ आना जग्गा राखेर निर्मलालाई देखाएका थिए ।
घटना क्रम बारे प्रहरी के भन्छ ? प्रहरीको भनाई जस्ताको तस्तै
धादिङ जिवनपुर ५ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा ९ बस्ने नन्दलाल रेग्मीको छोरा बर्ष ३७ को रवि प्रसाद रेग्मीले आफ्नो नाममा रहेको छ भनि नक्कली जग्गा धनि पुर्जा र नक्सा सिट समेत देखाई उक्त जग्गा किनवेच गर्नका लागि वैना बापतको रकम समेत लिई नक्कली राजिनामा कागज, घर बाटोको सिफारिस पत्र, जग्गा धनि दर्ता प्रमाण पूर्जा जस्ता कागजातको आधारमा जग्गा पास गरि दिई मालपोत कार्यालयबाट जारी गरिने जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत किर्ते बनाई साविक जिल्ला धादिङ जिवनपुर गा।बि।स। वडा नं। ०५ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा न।पा वडा नं। ०९ बस्ने नन्दलाल रेग्मीको छोरा बर्ष ३७ को रवि प्रसाद रेग्मीले ठगि गरेको भन्ने उजुरीका सम्बन्धमा आवश्यक अनुसन्धानमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले अनुसन्धान गर्दै जाने क्रममा निज रवि प्रसाद रेग्मीले अर्काको नाममा रहेको जग्गा आफ्नो हो भनि पीडितहरुलाई आफ्नो नामको नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा देखाई वैना वापत रकम लिई जग्गा पास गर्नका लागि चाहिने कागजातहरु समेत नक्कली बनाई मालपोतकार्यालयका कर्मचारीहरुसँग समेत आफ्नो राम्रो चिनजान रहेको विश्वास दिलाई पीडितहरुलाई किर्ते जग्गा धनि प्रमाण पूर्जादिई पीडितहरुबाट एक करोड एक्काईस लाख पँचास हजार रुपैया ठगि गरेको खुल्न आएकाले पीडितहरुबाट मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम ठगी गर्न नहुने कसुर अन्तर्गत जाहेरी दरखास्त लिई निज प्रतिवादीलाई कानुन बमोजिम मिति २०७९।०४।०२ गते काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं।०९स्थितबाट पक्राउ गरी निजको घरको खानतलासि लिई कसुरसँग सम्बन्धित प्रमाण लाग्ने नक्कलि जग्गा धनि पुर्जा लगाएतका महत्त्वपुर्ण कागजात, नेपाली आठ लाख पँचास हजार रुपैयया रकम समेत फेला पारी बरामद गरिएको,लेखापढी व्यवसाय गर्ने जिल्ला काभ्रे पनौती न।पा वडा नं ०९ बस्ने बर्ष ४५ को राजन थापा र निजकै श्रीमती बर्ष ४२ की सिता कुमारी थापाले किर्ते कागजात बनाउन सहयोग गरेको खुल्न आएकोले निज लेखनदासको कार्यालयबाट समेत कसुरसँग प्रमाण लाग्ने विभिन्न उपकरणहरु बरामद गरीमिति २०७८।०४।०३ गते सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट निज कसुरदार रबिप्रसाद रेग्मीलाई म्यादथप अनुमती लिई उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको र घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको व्यहोरा जानकारी गराईन्छ । साथै निज प्रतिवादी रबिप्रसाद रेग्मी उपर मिति २०६८।०३।१४ गते जिल्ला प्रहरी कार्यालय कास्की र मिति २०६९।१२।१० गते जिल्ला प्रहरी परिसर काठमाण्डौबाट ठगी मुद्दामा मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट समेत खुल्न आएको छ ।
कसरी भयो ठगी ?
धादिङ जीवनपुर ५ घर भएका रवि रेग्मी धादिङ जिल्लामा नक्कली धन्दा गरेर लखेटिएका व्यक्ति हुन् । त्यससँगै उनी सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा गएर ठगी गरेका थिए । त्यहाँबाट पनि लखेटिए पछि उनी बनेपामा आएर बसोबास गरे ।
बनेपाको चण्डेश्वरी नजिकै जग्गा भाडामा लिएर टहरा बनाएर बसेका रेग्मीले ५ वर्ष नपुग्दै बनेपा ९ नयाँबस्तिमा घर किनेका छन् । उनले किनेका घर बाबु नन्दप्रसाद रेग्मी र नाबालक छोरा आयुष रेग्मीका नाममा पास गरेर खरिद गरेका छन् । उनले लामो समय देखि ठगी गरिरहेका कारण बनेपामा पनि १० वटा भन्दा धेरै जग्गाको नक्कली पुर्जा बनाएर विक्री गरिसकेका छन् । तीन जना पीडित प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।
रवि रेग्मीले पुर्जा मात्रै नक्कली बनाएनन् । जग्गा नक्कली देखाए । राम्रो स्थानको धेरै जग्गा कम मूल्यमा पाए पछि निर्मला खरिद गर्न राजी भइन् । त्यस लगत्तै रेग्मीले वडा कार्यालयको चार किल्ला सिफारिस, जग्गाको नक्सा नक्कली बनाए । बनेपा नगरपालिकाको साबिक १ देखि ९ नम्बर वडा, श्रीखण्डपुरको साबिक ४ र ५ बाहेक सबै वडाहरुको हाल साबिक भएको छ । हाल साबिक नभएको जग्गा पास हुँदैन । उनले हाल साबिक नभएको जग्गा पास गराउन मालपोत कार्यालयका केही कर्मचारी र लेखापढी व्यवसायीसँग साँठगाँठ गरे ।
हुँदै नभएको जग्गाको पुर्जा र सिफारिस बनाएर रेग्मीले निर्मलालाई ३० गते ५५ लाख रुपैयाँमा जग्गा विक्री गराई पास गराए । मालपोत कार्यालयले अनलाइन जग्गा पास गराउँदै आएको छ । सोही जग्गाको अफलाइन लिखत तयार गर्न सिता थापा र राजन थापा सहभागी भए । अनलाइन नभएको जग्गाको लिखत लगेर डिजिटल फोटो खिचाउन मालपोत कार्यालयका कम्प्युटर अपरेटर शशित भण्डारी सहयोगी बने । उनले कार्यालयको सिस्टममा खिचेनन् । बाहिर खिचेर निर्मलालाई ल्याप्चे लगाई दिए ।
फोटो खिचाए लगत्तै निर्मला र रवि मालपोतको रजिस्ट्रेसन गर्न ‘क’ ब्लकमा पुगे । जहाँ मालपोत कार्यालयका कर्मचारी रामविनय यादवले दुवै पक्षलाई जग्गा किनबेचको लेनदेन भयो रु भनेर सोधे । दुवैले कारोबार सकियो भने । त्यो अघि सिता थापा र राजन थापाले नक्कली लिखत अनुसार रजिस्टेसन नम्बर १३०४९ ‘ख’, पारित मिति २०७९ असार ३१ गते, टोकन दर्ता नम्बर १३०४, रजिस्टे«सन दस्तुर १ लाख ५१ हजार ८ सय ७६ रुपैयाँ, पुँजीगत लाभकर ३ लाख, रसिद नम्बर १४४४ राखेर पेश गरेका थिए । यो सबै नक्कली थियो । बैकको भौचर, छाप, अधिकृतको दस्खत पनि नक्कली थियो । दैनिक ५ वटा पनि लिखत पास नभएका बेला १३०४ को टोकन नम्बर राखिएको थियो ।
मालपोत कार्यालयकै अधिकृतको दस्तखत समेत नक्कली राखेर पेश भएको कागजात ख ब्लकमा जानु अघि सबै कागजात सिता थापाले लिएर गइन् । उनीहरूले नक्कली पुर्जा बनाउने स्थानबाट निर्मलाको फोटोलाई स्क्यान गरेर प्रिन्ट गराए । पुर्जामा टाँसिएको फोटोमा आफै ल्याप्चे लगाइदिए । निर्मलालाई पुर्जा नबन्दै बनेपा आएर पैसा लिएको थियो । आफूले पुर्जामा ल्याप्चे नलगाएको सम्झिए पछि तत्कालै श्रीमानलाई फोन गरेर भनेकी थिइन् । त्यस पछि मालपोत कार्यालयमा मोठ भिडाउँदा सबै नक्कली भएको फेला परेको थियो । लेखापढी व्यवसायी सिता थापाले आफ्नो नम्बर समेत नक्कली राखेकी छिन् ।
गिरोहले राष्ट्रिय वाणिज्य बैकको भौचर र छाप सहित अधिकृतको नक्कली हस्ताक्षर, मालपोत कार्यालयको छाप, हस्ताक्षर र पुर्जाको नक्कली प्रिन्ट, वडा कार्यालयको छाप, सिफारिस र वडा अध्यक्षको सिफारिस समेत नक्कली बनाएर किर्ते गरेका छन् । पक्राउ परेकाहरूलाई सरकारी छाप दस्तखत किर्ते सहित ठगी अभियोगमा मुद्दा चलाउने तयारी गरिएको छ । सरकारी छाप दस्तखतमा जग्गा किन्ने र विक्री गर्ने दुवै दोषी हुन्छन् ।
उक्त लिखतमा राखिएका साक्षीलाई भने केही थाहा नभएको बताइएको छ । प्रहरीले थप समूह र विक्री गरिएका जग्गाका बारेमा खोजतलास गरिरहेको छ । प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले प्राप्त सूचनाका आधारमा हुँदै नभएको जग्गा विक्री गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए । प्रहरी प्रमुख चक्रराज जोशीले जिल्लामा भएका यस्ता अपराध न्यूनीकरण गर्न नागरिक सचेत हुनु पर्ने पर्ने बताउँदै दोषीहरूलाई कारबाही गर्ने बताए ।
न्यूजअफ नेपालको समेत सहयोगमा
प्रतिक्रिया दिनुहोस