जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन सत्ता गठबन्धनका दल र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन गर्दै प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी गराएको छ भने नेकपा एमाले एक्लैले उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबाट प्रमुखमा एसका जिल्ला सचिव दिपक गौतमलाई तथा उपप्रमुखमा रिमबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट सदस्यमा कांग्रेसबाट मंगलबहादुर तामाङ, निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान, माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्णकुमारी राई र रस्मिता भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
नौ सदस्यीय समितिमा एकीकृत समाजवादीले प्रमुख, कांग्रेसले उपप्रमुखसहित ५ सदस्य र नेकपा (माओवादी केन्द्र) ले ३ सदस्य पाउने सहमति बनेको थियो ।
त्यस्तै एमालेले प्रमुखमा कमला भट्टराई र उपप्रमुखमा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । सदस्यहरुमा प्रमिला बिक कामी, रोजिना तामाङ, रुपा प्याकुरेल धिताल, मन मिजार र गोपिबहादुर श्रेष्ठ, सागर मानन्धर र प्रकाश बञ्जारा छन् ।
काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, माओवादी केन्द्र ८, एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए ।
जिससको निर्वाचन भने असार १ गते हुँदै छ ।
जिससमा प्रमुख र उपप्रमुख उठ्ने को हुन ?
गठबन्धनबाट प्रमुख पदका उम्मेदवार गौतम विद्यार्थी राजनीतिबाट उदाएका हुन् । कक्षा ८ पढ्दै एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गरेका गौतम इलाका, क्षेत्र हुँदै २ कार्यकाल जिल्ला कमिटी अध्यक्ष भएका थिए । अनेरास्ववियुको वाग्मती अञ्चल प्रमुख, २ पटक केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष भएका थिए । अनेरास्ववियुको अध्यक्षमा भने उनी काभ्रकै नविना लामासँग पराजित भएका थिए । एमालेको ३ कार्यकाल जिल्ला कमिटी सदस्य रहेका उनी पार्टी फुटपछि एकीकृत समाजवादीमा लागेका थिए । पार्टीको जिल्ला सचिव र प्रचार विभाग प्रमुख रहेका उनी केन्द्रीय परिषद् सदस्य समेत हुन् । गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार तामाङ कांग्रेसका पुराना नेता हुन् । २०५२ सालदेखि पार्टीमा सकृय उनी १० औं र ११ औं महाधिवेशनमा साविक सिपाली चिलाउने गाविसको इकाई सभापति निर्वाचित भएका थिए । २०५८ मा पार्टीको क्षेत्र न १ को सदस्य रहेका उनी नेपाल तामाङ संघ काभ्रेका संस्थापक सभापति हुन् । हाल कांग्रेसको वाग्मती प्रदेश प्रतिनिधि रहेका उनी प्रदेश सभा क्षेत्र नं १ का सदस्य समेत हुन् ।
एमालेबाट प्रमुख पदका उम्मेदवार कमला भट्टराई एमालेको धुलिखेल नगर इञ्चार्ज हुन् । पार्टी निकट अखिल नेपाल महिला संघको निवर्तमान अध्यक्ष रहेकी उनी धुलिखेल–१२ मा वडा सदस्य निर्वाचित भएकी थिइन् । उपप्रमुख पदका उम्मेदवार केसी एमालेका जिल्ला सचिवालय सदस्य हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनौती–८ मा राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवार बनेका राप्रपाका जिल्ला सचिव केसी सोही साल भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेलाई समर्थन गर्दै प्रवेश गरेका थिए ।
इकान्तिपुरका सहयोगमा
प्रतिक्रिया दिनुहोस