देशमै उत्पादन भएको विद्युतको उपयोग हुने गरी हरित एमोनिया उत्पादन गर्न काठमाडौं विश्व विद्यालय (केयु) र नेपाल विद्युत प्राधिकरणबीच समझदारी भएको छ ।
शुक्रबार एक कार्यक्रमका विच केयुका उपकुलपति डा. भोला थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् । सझदारी अनुसार केयु र प्राधिकरणले देशमै उत्पादन भएको जलविद्युतको उपयोग गरी हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्ने र उत्पादित हरित हाइड्रोजनबाट पुनः एमोनिया (एनएच थ्री) उत्पादन गरी देशका उद्योग तथा मल कारखानामा उपयोग गर्न सकिने प्रविधिको क्षेत्रमा काम गर्ने छन् ।
यो समझदारी हस्ताक्षर भएको मितिले ५ वर्षसम्म कार्यान्वयनमा रहनेछ । समझदारीले मुख्यतः प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्न काम गर्नेछ । समझदारीमा उल्लेख भए अनुसार दुवै पक्षले हरित हाइड्रोजन प्रविधिको पाइलट स्केलमा अनुसन्धान गर्न, ग्रिडको गुणस्तर र विश्वसनियता सुधारका लागि हाइड्रोजन प्रविधिको प्रयोग बढाउन पनि सहकार्य गर्नेछन् ।
यस्तै, हिउँदमा विद्युत उत्पादन कम हुने समयका लागि हरित हाइड्रोजनकोरूपमा बर्खाको ऊर्जा भण्डारण गरी अभाव भएको बेलामा पुनः विद्युतमा परिणत गरी प्रयोगमा ल्याउन सक्ने दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने उल्लेख छ । यो समझदारी अनुसार हरित हाइड्रोजन प्रविधिको प्रयोगमा ३ वटा स्नातकोत्तर तह र विद्यावारिधी तहका कार्यक्रम समेत प्रदान गरिनेछ ।
केयु र प्राधिकरण दुवैको हितमा एकअर्काका गतिविधिलाई सुदृढ बनाउन स्रोत र साधनको पारस्परिक उपयोग गर्न समझदारी फलदायी हुने अपेक्षा गरिएको केयुले जनाएको छ । नेपालका उद्योगहरूलाई आवश्य पर्ने हरित एमोनिया यहीं उत्पादन गर्न सकिने हुँदा त्यसका लागि चाहिने हरित हाइड्रोजन प्रवर्द्धन गर्ने उद्देश्यले प्राधिकरणसँग समझदारी गरेको केयुका उपकुलपति थापाले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केयुले हरित हाइड्रोजनलाई इन्धनकोरूपमा उपयोग गर्नेबारे गरेको अध्ययन अनुसन्धानबाट प्रभावित भई विभिन्न मन्त्रालयमा गएर यसबारेमा लविङ गरेको बताए । आउने पुस्ताले देख्ने युग भनेको नै पानीको युग हुनेछ,’ उनले भने, ‘अब हरेक ऊर्जाको स्रोत पानी मात्रै हुने हुँदा नेपालको पानीको महत्त्व धेरै छ ।’ उनले स्वदेशको विद्युत एवं यहीं उत्पादन भएको हरित हाइड्रोजन खपत हुने गरी युरिया तथा डिएपी मल उद्योग सञ्चालन गर्न सकिने सम्बन्धमा अध्ययन गरिने बताए ।
हरित हाइड्रोजन ल्याब केयुका प्रमुख एवं सह प्राध्यापक विराजसिंह थापाले हरित हाइड्रोजनको उपयोग मुख्य गरी उद्योग र यातायातमा गरेर पेट्रोलियम ऊर्जा प्रतिस्थापन गर्न सकिने बताए । ‘विश्व नै अहिले पेट्रोलियम ऊर्जाको खपतबाट बाहिर निस्कन खोजिरहेको छ । यसको प्रमुख विकल्पकोरूपमा हरित हाइड्रोजन आएको छ । हाम्रो पेट्रोलियम पदार्थमाथिको परनिर्भरत घटाउनका लागि पनि हरित हइड्रोजनको उपयोग उत्तम विकल्प हुन सक्छ’ उनले भने ।
विश्वका धनी राष्ट्रहरूले नीति बनाएरै हरित हाइड्रोजनको उत्पादन तथा खपत बढाउन लागि परेको बताउँदै थापाले २०३५ सम्ममा हाइड्रोजन संस्थागत हुने बताए । नेपालले हरित हाइड्रोजनबाट दैनिक ५ टन एमोनिया उत्पादन गर्ने हो भने अहिले भइरहेको आयात प्रतिस्थापन गर्न सकिने अध्ययनले देखाएको छ । हाइड्रोजन र नाइट्रोजनको प्रतिक्रियाबाट एमोनिया उत्पादन हुन्छ ।
केयुले प्रस्ताव गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युतको अधिकतम उपयोगका लागि पाइलट हरित अमोनिया उत्पादन’ सम्बन्धि परियोजनालाई प्राधिकरणको गत बैशाख ७ गतेको ९०७औ सञ्चालक समिति बैठकले स्वीकृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस