अघिल्लो कार्यकालका अधुरा काम पूरा गर्न पाँचखाल नगरप्रमुखका लागि मेरो उम्मेदवारी : महेश खरेल

Post Thumbnail
  • २०७९ बैशाख २६, सोमबार मा प्रकाशित २ साल अघि
  • ३७२ पाठक संख्या

  • पाँचखाल नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसबाट महेश खरेल चुनावी मैदानमा छन्। अघिल्लो कार्यकाल प्रमुख भइसकेका खरेलले पुनः नगरप्रमुखका लागि उम्मेदवारी दिएका हुन्।

    ‘पाँच वर्षको कार्यकाल सकियो तर धेरै काम अधुरा रहे। त्यसैले पुनः प्रमुखमा उम्मेदवार हुनु नगरवासीको आवश्यकता बन्यो,’ उम्मेदवार खरेल भन्छन्, ‘पाँच वर्षमा पूरा नभएको काम गर्न पुनः प्रमुखमा उम्मेदवार भएको हुँ। अघिल्लो पाँच वर्षमा बनाएका अधिकांश योजना कार्यान्वयन भए। केही बृहत योजना (स्मार्टसिटी, उद्योग, पर्यटन, कृषि) अधुरै रहे। नगरवासीको चाहना र विकासका काम अगाडि बढाउन आवश्यक भएकाले पार्टीले मलाई पुनः उम्मेदवार बनायो।’

    अमेरिकाको शिक्षा र व्यवसाय

    पाँचखाल खरेलथोकका महेशले अमेरिकाबाट एमबिए गरेका छन्। १४ वर्षसम्म उनले अमेरिकामा मार्टमा नाङ्लोदेखि ग्यास स्टेसनसम्मको व्यापार गरे। व्यापार फस्टाएकै थियो, तर स्वदेशमै केही गर्ने उद्देश्यले उनी ११ वर्षअघि नेपाल फर्किएका हुन्।
    ‘राजनीति नै गर्ने सोच बनाएर आएको थिइनँ,’ ४६ वर्षीय खरेल भन्छन्, ‘पारिवारिक राजनीतिक पृष्ठभूमि र बाल्यकालमा राजनीतिमा आबद्ध भएकाले राजनीतिमा जोडिन पुगेँ।’

    उनका बुवा (राजेन्द्र खरेल) नेपाली कांग्रेसकै नेता हुन्। महेश जन्मँदा राजेन्द्र जेलमा थिए, पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाएका कारण।

    महेश विद्यार्थीकालमा नेविसंघमा सक्रिय रहे। बाल कांग्रेसको नेतृत्व गर्दै २०४६ मा पञ्चायतविरुद्ध जनआन्दोलनमा सहभागी भएको उनी बताउँछन्। अमेरिकाबाट फर्केलगत्तै नेपाल तरुण दलको केन्द्रीय सदस्य भएका थिए। अघिल्लोपटक प्रमुख हुँदा नगरपालिकामा धेरै परिवर्तन ल्याएको उनी बताउँछन्।

    पहिलो कार्यकालमा के गरे ?

    अघिल्लो कार्यकालमा व्यवस्थित सहरीकरणका लागि बाटो, खानेपानी, वैज्ञानिक कृषिको अवधारणा लगायत भौतिक पूर्वाधारका कार्यक्रम कार्यान्वयन गरेको उनी बताउँछन्।अघिल्लो कार्यकालमा नगरभित्र ४२।५० किलोमिटर सडक कालोपत्रे तथा ढलान, एक वडा एक पिच, २१ किलोमिटर नयाँ ट्र्याक निर्माण, १०१।५० किलोमिटर सडक चौडा, ४२।५० किलोमिटर सडक कालोपत्रे तथा ढलान (केही निर्माणाधीन), ६७।६० किलोमिटर सडकमा नाली निर्माण (केही निर्माणाधीन), ३१।५ किलोमिटर सडकमा ग्राबेल (केही निर्माणाधीन), पाँचवटा बाँध निर्माण तथा मर्मत, ३।५ किलोमिटर सिँचाइ कुलो नहर निर्माण, चार हजार तीन सय ७० घरधुरीलाई खानेपानी योजनाबाट लाभान्वित गरिएको नगरपालिकाको तथ्यांक छ।

    भूकम्पले भत्किएका घर वा संरचना बनाउने, उज्यालो पाँचखाल योजना अन्तर्गत एक हजार बत्ती सडकमा जडान गर्ने काम सम्पन्न भएको छ।

    आगामी योजना

    अघिल्लो कार्यकालमा सुरु गरेका कामको निरन्तरतासँगै खरेलले यसपालि शिक्षा, कृषि, रोजगारी, खानेपानी, विद्युत्, वन, उद्योग व्यवसाय, पर्यटन आदिको विकास र प्रवर्धनका लागि योजना बनाएका छन्। समथर भू–भाग रहेको पाँचखालमा आर्थिक समृद्धिका धेरै आधार रहेको उनी देख्छन्।

    पाँचखाल नगरपालिकालाई शैक्षिक हबको रूपमा विकास गर्ने, काठमाडौं विश्वविद्यालयको कृषि र आर्टिफिसियल इन्टेलिजेन्स संकाय तथा मदन भण्डारी विश्वविद्यालयको माध्यमबाट पाँचखालका स्थानीय विद्यार्थीलाई आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उनको योजना छ।

    शिक्षण सिकाइको गुणस्तर वृद्धि गर्न विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा अभिभावकलाई निरन्तर प्रशिक्षण र सहयोगको व्यवस्था गरिने उनले घोषणा गरेका छन्। ‘शैक्षिक संस्थाहरूलाई वैश्विक सोच र धरातलका आधारमा स्थानीय सन्दर्भ जोडिने किसिमको शिक्षा प्रदान गर्नको लागि तयार र विकास गर्नेछौँ,’ उनले भने, ‘हरेक विद्यालयमा विद्यार्थीलाई खेल्न योग्य पार्कको निर्माण गरिनेछ।’

    कृषिमा सामूहिक खेतीको अवधारणामार्फत कम लागत र श्रममा बढी उत्पादन हुने तरिका र प्रविधिको प्रयोग गर्ने उनको योजना छ। ‘नवीन प्रविधि र रैथाने ज्ञानद्वार उब्जाउशील माटोको गुणस्तर सुधारिनेछ,’ उनले भने, ‘पाँचखाललाई फलफूल, सागसब्जी, दलहन लगायत नगदेबालीको बैंकको रूपमा प्रवद्र्धन गर्छौं। डाँडा–पाखामा माटोको प्रकृति अनुसार फलफूलखेती विस्तार गर्छौ। कृषकलाई उच्चतम मूल्य भएका फलफूल, ओखर, एभोकाडो, ब्लुबेरी, ब्ल्याक बेरी आदि खेती गर्नका लागि सहजीकरण र प्राविधिक सहयोग पनि गरिनेछ।’

    कृषि पेसालाई सम्मानित र आम्दानीको स्रोतको रूपमा विकास गरेर युवालाई आकर्षण गर्ने कार्यक्रम ल्याउने उनको योजना छ। आफू पुनः प्रमुखमा विजयी भए नगरवासी प्रत्येक नागरिकको वार्षिक आम्दानी १२ हजार अमेरिकी डलर पु¥याउने उनले घोषणा गरेका छन्। उनका अनुसार, कुनै पेसामा संलग्न हुन वा आफैँले व्यवसाय सुरुवात गर्न युवालाई विद्यालयदेखि नै सीप र क्षमता विकास गरिनेछ।

    हरेक परियोजना र कार्यक्रममा स्थानीयलाई प्राथमिकता दिइनेछ। पाँचखाल बाहिरका मानिस पाँचखालमा आएर आफ्नो ज्ञान, विद्वता, प्राविधिक सीपलाई विकासका लागि उपयोग गरिनेछ।

    पाँचखालमा पाँचवटा स्मार्ट सहर निर्माण गरिने उनले जनाएका छन्। ‘हरेक भूभागलाई समेट्ने गरी दुईवटा रिङरोडको निर्माण गरिनेछ। रिङरोडको आसपास मात्र व्यवस्थित बस्ती हुने भौतिक विकासलाई प्राथमिकता दिइनेछ,’ उनले प्रतिबद्धतापत्रमा लेखेका छन्, ‘खेतीयोग्य जमिनमा घर तथा अन्य भवन निर्माण गरिनेछैन।’

    हरेकको घरको धारा र बाथरुममा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको खानेपानीको व्यवस्था गरिने उनले जनाएका छन्। खेलकुदलाई स्थानीय नागरिकको स्वास्थ्य र मनोरञ्जनसँगै पर्यटनको रूपमा विकास गर्ने नीति लिइनेछ।

    हरेक टोलमा घुम्न, खेल्न र रम्नयोग्य पार्क निर्माण गरिने उनले जनाएका छन्। कुहिने, नकुहिने र तरल फोहोरलाई फरक–फरक विधिबाट व्यवस्थापन गरिने पनि उनले जनाएका छन्। उद्योगबाट निस्किने फोहोर पानी प्रशोधन गरेर मात्र नदीमा मिसाइने, पाँचखाललाई ढलमुक्त नगरपालिकाको रूपमा विकसित गर्ने, हरेक घरमा पानी रिजार्च गर्ने व्यवस्था गरिने उनको योजना छ।

    हरेक टोलको सार्वजनिक स्थानमा बिजुली बत्ती जडान गरी उज्यालो पाँचखालको अवधारणा उनले अगाडि सारेका छन्। ग्यास सिलिन्डर विस्थापन गरेर इन्डक्सन चुलोको जडान गरिने, साथै पाँचखाललाई सिलिन्डर मुक्त बनाइने पनि उनको योजना छ।

    उनका अनुसार, वडा– ७ र ८ को एक हजार रोपनी जग्गामा ४० वटा उद्योग हुने गरी विशेष आर्थिक क्षेत्र निर्माणको प्रक्रियामा रहेको छ। यसलाई जोड्नका लागि कालोपत्रे सडक निर्माणको प्रक्रियामा छ। यसबाट ४ हजारले रोजगारी पाउने उनको दाबी छ। पर्यटन प्रवद्र्धनका लागि अनेकोटको विकास गर्ने तथा धार्मिक गन्तव्यका लागि धनलक्ष्मी देवी, पलाञ्चोकी भगवती, दुग्धेश्वर महादेवलाई विकास गर्ने उनको योजना छ।

    वनमा रूखहरू रोप्ने, वन्यजन्तुलाई पनि खानाको व्यवस्था गर्ने, वनमा पनि रिजार्च पोखरीको निर्माण गर्ने उनको योजना छ। हरेक ज्येष्ठ नागरिकको जीवन निर्वाह, स्वास्थ्य तथा आध्यात्मिक आवश्यकताको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण टोल–टोलमै सञ्चालन गर्ने उनको योजना छ।

    सहजता, पारदर्शिता र वातावरणलाई ध्यान दिँदै नगरपालिकाको सम्पूर्ण सेवालाई अनलाइनमा रुपान्तरण गरिने पनि उनले घोषणा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस