कृषकको समस्या समाधान मेरो पहिलो प्राथमिकता : रोशी गाउँपालिका अध्यक्ष उम्मेद्वार दिनेश लामा

Post Thumbnail
  • २०७९ बैशाख २४, शनिबार मा प्रकाशित २ साल अघि
  • ३९८ पाठक संख्या

  • राजनीतिलाई सम्मानित र समाजसेवाको उपमा दिन अगाडी बढेका एक युवाको नाम हो दिनेश लामा । विद्यावारिधी (पिएचडी) अध्ययनरत लामा नेपाली काँग्रेस संघिय क्षेत्र नं. १ काभ्रेपलाञ्चोकका बर्तमान सभापति समेत हुन् । रोशी गाउँपालिकालाई समृद्ध बनाउने योजनासहित स्थानीय तहको निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्ष पदमा गठबन्धन दलहरुको तर्फबाट उम्मेद्वार बनेका छन् ।
    दिनेश लामाको जन्म वि.सं. २०३६ साल जेठ १७ गते महाभारत (४, बुढाखानीमा भएको हो । कान्छामान योन्जन तामाङ र कान्छी माया तामाङका तेस्रो सन्तानको रुपमा जन्मिएका उनको परिवार पछि रोशी १० वाल्टिङ्गमा स्थायी रुपमा बसोबास गर्दै आएको छ । आफू जन्मिएको स्थानमा विद्यालय नहुँदा लामाले निकै संघर्ष गरेर पढ्नु परेको र आफुले गर्नुपरेको संर्घषलाई आत्मसाथ गर्दै आफुले चुनाव जितेपनि हारेपनि शिक्षा र कृषि क्षेत्रको परिवर्तनका लागि लागिपर्ने बताउँछन् । सुरुवाती ६ महिना अनौपचारिक अध्ययन गरेका उनको औपचारिक शिक्षा हालको महाभारत गाउँपालिका स्थित गाम्रोन्नती प्राविबाट भयो । त्यहाँ कक्षा १ मा अध्ययन गरेपनि कक्षा २ मा पढ्न उनी विन्धवासिनी प्रावि मंगलटार आए । जन्मथलो बुढाखानीमै विद्यालय स्थापना भएपछि कक्षा ३ मा पढ्न गाउँकै भुमेश्वरी प्राविमा भर्ना भए । कक्षा ४ पढ्नको लागि गाउँमा विद्यालय थिएन । सन्तानको शिक्षाकै लागि उनको परिवार वाल्टिङमा बसाई सर्यो । एसएलसी सम्मको अध्ययन उनले रोशी गाउँपालिका वडा नं.१० स्थित स्थानीय पञ्चकन्या मावि बाट गरे । महेन्द्र रत्न क्याम्पस ताहाचलबाट आइ.एड उत्तीर्ण उनले ताहाचालबाटै अंग्रेजी विषय लिएर वि.एड. अध्ययन गरे । २०६६ सालमा त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र विषयमा स्नातकोत्तर फस्ट डिभिजनमा पास भए । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमै एम.फिल. गरे । अहिले त्रि.वि.मै पिएचडी अध्ययन गरिरहेका छन् ।
    विद्यार्थी जीवनदेखिनै विद्यार्थी राजनीति शुरु गरेका उनी २०५२ सालमानै पञ्चकन्या माविमा नेविसंघ ईकाइ सभापति भए । २०५७ सालमा नेविसंघको जिल्ला सदस्य भएका उनी २०५९ सालमा जिल्ला सहसचिव र २०६३ सालमा जिल्ला उपाध्यक्ष बने । २०६२ र ६२ को आन्दोलनका बेला सक्रिय भूमिका निर्वाह गरेका लामाले त्यस समय ७२ घण्टासम्म प्रहरी प्रशिक्षण महाराजगन्जमा बन्दी जीवन विताए । जनआन्दोलनमा घाइते भएका बेला उनी बागबजारबाट नेता शिवप्रसाद हुमागाईसँगै पक्राउ परेका थिए । जनआन्दोलनकै समयमा नेविसंघ काभ्रे सभापति सुन्दरमणी हिरासत परेपछि नेविसंघ काभ्रेको कार्यबहाक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका थिए । पत्रकारीतामा पनि सक्रिय उनी प्रतिगमन विरुद्ध पटक पटक अनसनमा बसेका छन् ।

    नेपाली कांग्रेसको १२ औं महाधिबेशनमा जिल्ला कार्यसमितिमा सदस्य निर्वाचित भएपछि जिल्ला प्रशिक्षण शाखा प्रमुखको रुपमा उनले धेरै स्थानमा पार्टीका प्रशिक्षण समेत चलाए । १३ औं महाधिवशेनमा जिल्ला कार्यसमितिमा सचिव निर्वाचित भएका थिए । कांग्रेसको १४ औ महाधिवेशनमा उनी काभ्रे प्रतिनिधिसभा क्षेत्र १ को सभापतिमा निर्वाचित भएका छन् ।
    शान्ती जनआदर्श सेवा केन्द्रको कार्यकारी निर्देशक भएर काम गरेका उनी जिल्लाका सबै टोल बस्तीमा पुगेका छन् । हाल जिल्लाको ठूलो मध्येको एक गैरसरकारी संस्था नाङ्गसाल एसोसिएसनको अध्यक्ष रहेका उनले संस्थामार्फत शिक्षण सिकाई कृयाकलाप, बालबालिका, स्वास्थ्य, भूकम्पपछिको पुननिर्माणको क्षेत्रमा काम गरेका छन् । रोशीको धेरै बस्ती र विद्यालयमा उनी राहत र संस्थाका कार्यक्रम लिएर पुगेका छन् । भूकम्पपछिको पुनर्निमाण र राहतमा काम गरेका उनी कोरोना महामारीको समयमा पनि राहत लिएर पुगेका थिए ।
    रत्नराज्य क्याम्पसमा समाजशास्त्र विषयमा प्राध्यापन गराउदै आएका उनी भाषिक, जातीय उत्पीडनको विरुद्धमा आवाज उठाउने मध्येका एक सशक्त पात्र हुन् । योजना निर्माण, कार्यान्वयन, दातृ निकायको समन्वय साझेदारीमा विशेष क्षमता र दख्खल राख्ने दिनेश स्थानीय सरकारको नेतृत्व गर्ने उपयुक्त पात्रको रुपमा सबैसामु प्रष्ट रुपमा चिनिएका छन् । राम्रो पब्लिक रिलेसन भएका उनी स्थानीय तहलाई प्रदेश र संघ सरकारसंग जोड्ने दरबिलो पुल हुन सक्ने सबैको आकंलन छ । उनि भन्छन् चुनाव जिते पछाडीको पहिलो प्राथमिकता भनेकै कृषकहरुको समस्या समाधान हो । उनि भन्छन् नाम्लो, दाम्लो, कुटो, कोदालो समात्दै हुर्किएको ब्यक्ति हुँ त्यसैले कृषकको समस्या मेरो पहिलो प्राथमिकता हो । उनि भन्छन् निर्वाहमुखी र व्यावसायिक कृषिको वर्तमान अवस्थालाई गाउँपालिकाले मूल्य अभिवृद्धि कृषिमा बदल्न जरुरी देखिएको छ । यसको पहिलो प्राथमिकिकरण गरिनेछ । रोशीका महाभारत शृंखलाअन्तर्गत रहेका पहाडी क्षेत्रमा अमिलोजन्य फलपूmलका लागि उर्वरभूमि देखिन्छ । मौसम, सुन्तला, जुनारलाई सोझै बेच्ने वा मूल्य बढेको बेला बेच्ने गरी चिस्यान गृहमा राख्ने भन्ने विषयमा मेरो ध्यान जानेछ । रोशीका उच्च पहाडी भेगका कृषि उत्पादनहरूमा उत्पादित ठाउँको उचाइ, हावापानी खुल्ने गरी प्याकेजिङसहित रोशी नामको ब्रान्डबाट बजारको खोजी गरिने उनको भनाइ छ । यसका लागि संकलन केन्द्र, उपभोक्त समूह, वितरण समूह जस्ता व्यवस्थापकीय पक्षको खोजी गर्दै संस्थागत गरिनेछ । सात महिनामा पाक्ने तोरी, मकै, आलु, गहुँ, जौ, फापरजस्ता उत्पादन तीन महिनाभन्दा कम समयमा पाक्ने खाद्यबालीसँगै मिसाएर बजारमा पठाउने अहिलेको प्रचलन रोक्दै यसको विकल्प गाउँपालिकाले खोजिदिने समेत बताए । रोशी ब्रान्डमार्फत रोशीका उच्च गुणस्तरीय र अर्गानिक सामग्रीहरूको बेचबिखनका लागि बजारीकरणमा कृषकहरुलाई सहयोग गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस