गठबन्धनमा भागबन्डाको कुरालाई लिएर काभ्रेमा स्थानीय तहको संख्या टुंगो लाग्न सकेन (सिट बाँडफाँटका आधार सहित)

Post Thumbnail
  • २०७९ बैशाख ४, आईतबार मा प्रकाशित २ साल अघि
  • ५५१ पाठक संख्या

  • उम्मेदवारी दर्ताको समय नजिकिँदै जाँदा काभ्रेमा सत्ता गठबन्धनको चरणबद्ध बैठक बसेपनि भागबन्डाको कुरालाई लिएर स्थानीय तहको संख्या टुंगो लाग्न सकेन ।

    जिल्लामा कुरो नमिलेपछि सत्तारुढ दलहरुले प्रदेशस्थित संयन्त्रमा पठाउने निर्णय गरेका छन् । अईतबार नेपाली काँग्रेस काभ्रेको पार्टी कार्यालयमा बसेको बैठकले स्थानीय तहको भागबन्डा लगाउने जिम्मा प्रदेशलाई दिने निर्णय गरेको हो । बैठकमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपाका नेताहरु सहभागि रहेका थिए ।

    पटक पटक गरी पाँच पटक सम्म सत्ता गठबन्धनको बैठक बसेपनि निचोडमा पुग्न सकेको थिएन । सबैको आफ्नो आफ्नो दाबी रहेको र पालिका संख्या टुंगो लाग्न नसकेपछि प्रदेशलाई जिम्मा दिने निर्णय गरेको नेपाली कांग्रेस काभ्रेका जिल्ला सचिव गुणराज मोक्तानले जानकारी दिए । पटक पटकको बैठकमा जिल्लाका १३ स्थानीय तहमध्ये ९ वटामा कांग्रेस, ६ वटामा माओवादी केन्द्र, ४ वटामा एकीकृत समाजवादी र १ स्थानीय तह प्रमुखमा जनता समाजवादी पार्टीको दाबी छ । तर काभ्रेमा १३ बटामात्र स्थानीय तह छ ।

    केन्द्रमा रहेको गठबन्धन दलहरुले देशभरि तालमेल गर्ने सात बुँदे मापदण्ड जारी गरे अनुसार भागवण्डा गर्न नेपाली काँग्रेसले प्रस्ताव गरेको जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए ।

    २०७४ को निर्वाचनमा काभ्रेका १३ मध्ये पाँचखाल नगरपालिका, रोशी, तेमाल र बेथानचोक गाउँपालिका गरी ४ पालिका काँग्रेसले,  चौरीदेउराली र महाभारत  माओवादीले, मण्डनदेउपुर नगरपालिका नेकपा एकिकृत समाजबादी तथा बाँकीमा एमालेले पालिका प्रमुख उपप्रमुख जितेको थियो । सात बुँदे मापदण्ड अनुसार काँग्रेस, माओवादी र एसले जितेका बाहेक एमालेले जितेका ६ पालिका मध्ये बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध नगर तथा भुम्लु गाउँपालिकामा काँग्रेस दोश्रो र खानीखोला गाउँपालिकामा माओवादी दोश्रो भएको थियो । खानीखोला गाउँपालिकामा पनि काँग्रेस र तत्कालिन फोरमको मत जोड्दा काँग्रेसनै दोश्रो हुन्छ । केन्द्रले गरिदिएको सात बुँदे मापदण्ड अनुसार नै भागवण्डाको प्रस्ताव काँग्रेसले गरेको छ भने माओवादी र एकिकृत समाजवादीले मापदण्ड भन्दा पनि अन्य पालिकाको समेत नेतृत्व दावी गरिरहेका छन् । त्यस्तै २०७४ मा ल्याएको मतभार अनुसार सात बुँदे मापदण्डमा टेक्दा काँग्रेसले ९३ वटा वडा, माओवादीले ३२ तथा एकिकृत समाजवादीले १० वडामा दावी रहनेछ ।

    गठबन्धन गर्ने केन्द्रीय सहमतिपछि दलहरुले उम्मेदवार टुंग्याउनसमेत सकेका छैनन् । गठबन्धन गर्ने निर्णय सँगै केन्द्रले उम्मेदवार छनौट नगर्न सर्कुलेसननै गरेको थियो । हाल सम्म काँग्रेसको ३२ वटा वडामा अध्यक्ष पदका उम्मेदवार सर्वसम्मत सिफारिसभएका छन् । एमालेमा भने एउटा गाउँपालिका र ४२ वटा वडामा नेतृत्व सर्वसम्मत सिफारिस भएका छन् । एमालेले चौरीदेउराली गाउँपालिकामा अध्यक्ष पदमा जिताराम लामा र उपाध्यक्षमा बविता खरेल छनौट गरिसकेको छ ।

    गठबन्धन दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रले गरेका निर्णयहरू :
    – महानगरपालिका, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
    – नगरपालिका र गाउँपालिकाको क्रमशस् प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
    -महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा, अध्यक्ष तथा सदस्यहरुको सिट बाँडफाँट जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
    – प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई-दुई जना प्रतिनिधि रहने ।
    – प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ-आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिनेछ ।
    -सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्नेछ ।

    यस्ता छन् गठबन्धनभित्र सिट बाँडफाँटका आधार
    – २०७४ को निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) कायम रहेका जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।
    – २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभारलाई आधार मान्ने ।
    – २०७४ को स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको नभए पनि स्थानीय तहमा उपस्थिति रही यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।
    – २०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसको साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने ।
    – नेकपा (एकीकृत समाजवादी) २०७४ को निर्वाचनमा पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा (एमाले) विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थतालाई मनन गर्ने ।
    – गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।
    – गठबन्धनभित्र रहेका दलहरुबीच मात्रै चुनावी तालमेल गर्न पाउने ।

    प्रतिक्रिया दिनुहोस