नेपाली कांग्रेस काभ्रेले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान तीब्र पारेको छ । जिल्लाका १३ पालिकाका १ सय ३५ वडामा अभियान सञ्चालन गरिएको हो ।
जिल्ला सभापति तिर्थ लामाका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सबै वडामा सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटन, घरदैलो देखि विभिन्न भातृ एवं शुभेच्छुक संस्था गठन सम्मका विभिन्न कार्यक्रम गरिएको छ ।
पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीहरूलाई प्रत्येक वडामा खटाइएको छ । जिल्लाले जिल्ला प्रतिनिधि, प्रतिनिनधि सभाले छुट्टै, प्रदेश सभा र गाउँ कार्यसमितिले समेत प्रतिनिधि खटाएर अभियान सञ्चलन गरिरहेको छ । प्रतिनिधिहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् ।
पार्टीले गत फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो । जिल्ला सभापति लामाका अनुसार जिल्लामा कांग्रेसको क्रियाशील सदस्य सङ्ख्या २० हजार छ । १३ पालिकामा पाँचखाल नगर, रोशी, तेमाल र बेथानमा मात्र काँग्रेसले जितेको छ ।
प्रतिक्रिया दिनुहोस