खोपबाट बचाउन सकिने रोगहरूलाई शून्य अवस्थामा पुर्याउने उद्देश्यले चैत्र २५ देखि ३० गतेसम्म काभ्रेमा टाइफाइड खोप अभियान सुरु हुने भएको छ ।
चैत्र २५ देखि ३० गतेसम्म १५ महिनादेखि १५ वर्ष उमेर समूहका काभ्रेका ९० हजार बालबालिकालाई टाइफाइड खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाँईले जानकारी दिए ।
‘नेपालमा वर्षेनी ४ लाख ५० हजार व्यक्ति टाइफाइडबाट सङ्क्रमित भएको तथ्याङ्क छ । जिल्लामा गत बर्ष ४ हजार १ सय ४९ जना सङ्क्रमित भएका थिए । सङ्क्रमित मध्ये २ हजार २ सय ६१ महिला र १ हजार ८ सय ८८ जना पुरुष छन् । यो संख्या अस्पतालमा भर्ना हुनेहरूको मात्रै हो ।
खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक पूर्व तयारी, जनशक्ति परिचालन तथा व्यवस्थापन र तालिम, खोपको भण्डारण लगायतको तयारी गरिएको छ । खोप लगाउनको लागि काभ्रेमा ४ सय ३९ जनालाई आवश्यक तालिम दिइसकिएको छ । टाइफाइडको उच्च जोखिममा रहेको काभ्रेमा खोप सञ्चालन पछि टाईफाईडका विरामी घट्ने बताईएको छ । विरामीको संख्या न्यूनीकरण गर्न खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जिल्ला स्वास्थ्य कार्यालय लागि परेको छ ।
टाइफाइड विरुद्धको खोप लगाउनका लागि सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखामा समन्वय गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
कार्यक्रममा झाडापखाला, टाइफाइड, हैजा जस्ता रोगहरूबाट बाबाबालिकाहरुलाई बचाउन नियमित खोप जरुरी रहेको डब्लुएचओका प्रतिनिधि डा. पवन उपाध्यायले बताए। नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका कार्यवाहक अध्यक्ष विनोद न्यौपाने लगायतले खोपबारे मन्तब्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस